पोखरा स्वास्थ्य प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सञ्चालन गर्ने
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी कार्य प्रारम्भ गर्नको लागि सैद्धान्तिक सहमति लिएको छ ।
प्रतिष्ठानको आज सम्पन्न प्रथम सभाले नयाँ कार्यक्रम सञ्चालन गर्ने सहमतिका साथै आर्थिक वर्ष २०७४÷७५ का लागि प्रस्तावित योजना तथा कार्यक्रमसहितको वार्षिक बजेट पारित गरेको हो ।
बैठकमा प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सरकारको नीतिअनुसार यसको स्थापना भएको बताउनुभयो ।
उहाँले प्रतिष्ठानको उद्देश्यअनुसार जनतालाई सहज र प्रभावकारी स्वास्थ्य सेवाको पहुँच पु¥याउन, दक्ष जनशक्ति उत्पादन र अनुसन्धानमा उल्लेख्य भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।
प्रतिष्ठानले स्थापनाकालदेखि नै जनतालाई सहज र प्रभावकारी स्वास्थ्य सेवा पु¥याउँदै आएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आगामी दिनमा थप नयाँ कार्यक्रम सञ्चालन गर्न र लागू भएका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
मुलुक संघीयतामा गइसकेपछि हरेक प्रदेशमा सरकारीस्तरमा मेडिकल कलेज स्थापना गर्ने नीतिअनुरुप पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई २०७२ माघ १२ गते ऐनअनुसार प्रतिष्ठानका रुपमा अघि बढाइएको हो ।
स्व मेजर वीरसिंह गुरुङले २०१३ सालमा केही दाताको सहयोगमा प्रथम र द्वितीय विश्वयुद्धमा ज्यान गुमाएका र हराएका नेपाली सिपाइको सम्झनामा यस अस्पतालको स्थापना गर्नुभएको हो ।
विसं २०१९ मा सरकारलाई हस्तान्तरण भएको यो अस्पताल हाल ५०० श्यायासहित सञ्चालनमा भइरहेको पश्चिमाञ्चल क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल हो ।
बैठकमा प्रतिष्ठानका सहकूलपति रहनुभएका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानले मौलिक अधिकारका रुपमा व्यवस्था गरेको स्वास्थ्य सेवालाई गुणस्तरीय र सहज पहुँच योग्य बनाउन निर्देशन दिनुभयो ।
मन्त्री पोखरेलले प्रतिष्ठानको दीर्घकालीन गुरुयोजना बनाई अघि बढाउनुपर्ने बताउँदै प्रतिष्ठानले दुरदराजका जनतालाई समेत प्रत्याभूत हुने गरी सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।
बैठकले प्रस्तावमा आवश्यक गृहकार्य गरी पारित गर्न उपकुलपति प्राडा बुिद्धबहादुर थापाको संयोजकत्वमा प्रतिष्ठानका डिन डा नरेन्द्रविक्रम गुरुङ र निर्देशक डा अर्जुन आचार्य सदस्य रहेको कार्यदल गठन गरेको छ ।
कुलपति प्राडा थापाले प्रतिष्ठानको स्थापना, हाल गर्दै आएका कार्यप्रगति र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।रासस