Logo
|
Friday 26th April 2024
Logo

epaper

कोरिया मैत्री अस्पताललाई नेपालकै नमुना अस्पताल बनाइने



 मध्यपुरठिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताललाई स्थानीय तहको नमुना एवं ‘रेफरल’ अस्पतालकोरूपमा विकास गरिने भएको छ ।

अस्पतालले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यो अस्पताललाई बाहिर जिल्लाबाट आउने सबै प्रकारका बिरामीको रेफरल सेन्टरको रूपमा विकास गरिने जानकारी दिनुभयो ।
अस्पताललाई मेडिकल कलेजको रूपमा समेत विकास गर्ने र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका कर्मचारीलाई उपचार सेवा दिइने गरी केन्द्रीय रेफरल अस्पतालको रूपमा विकास गर्न मन्त्रालयमा प्रस्ताव गरिएको अस्पतालका कार्यकारी निर्देशक डा दीपेन्द्रकुमार रौशनले बताउनुभयो ।

स्त्री तथा प्रसूति, बालरोग, मुटु, हाड जोर्नी, नाक, कान, घाँटीलगायत प्रायः सबै रोगको उपचारका साथै २४ सै घण्टा आकस्मिक तथा एम्बुलेन्स सेवा, शल्यक्रिया, लगायतका सेवा रहेको सो अस्पतालले नर्सिङ विषयको अध्यापनको तयारी समेत गरिरहेको अस्पतालका प्रशासकीय प्रमुख कैलाशप्रसाद देवले बताउनुभयो ।

पचास श्ययाको यस अस्पतालमा हाल बहिरंगतर्फ दैनिक करिब दुई सय तथा अन्तरङ्गमा करिब ४० श्यया भरिने गरेको उहाँले जानकारी दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाबाट वार्षिक रू १८ लाख बजेट निकासा भइरहेको र दक्षिण कोरियाको रोज क्लबबाट मासिक एक हजार अमेरिकी डलर सहयोग आइरहेको यस अस्पतालको अन्य आय भनेको इपिएस प्रणालीमा कोरियामा काम गर्न जाने नेपालीको स्वास्थ्य परीक्षणबापत वार्षिकरूपमा पाउने शुल्क करिब रु एक करोड रहेको छ ।

दक्षिण कोरियाको क्योंहि इन्टरनेशनल मेडिकल कोअपरेशनमार्फत सन् १९९९ मा स्थापना भएको ‘कोरिया नेपाल मैत्री स्वास्थ्य केन्द्र’ मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेपछि सन् २००९ मा ‘कोरिया नेपाल मैत्री अस्पताल’को नाममा सञ्चालित थियो ।

केही दिन अघिमात्रै नगरपालिकाले यसको नाम ‘कोरिया—नेपाल मैत्री अस्पताल’बाट ‘नेपाल—कोरिया मैत्री अस्पताल’मा रुपान्तरण गरेकोे थियो । छारे रोगको एकमात्र रेफरल अस्पतालकोरूपमा रहेको सो अस्पतालमा एक वर्षको अवधिमा ७९१ जना छारे रोगीको उपचार गरिएको वरिष्ठ छारे रोग विशेषज्ञ समेत रहनुभएका निर्देशक डा रौशनले बताउनुभयो ।

अस्पतालमा २६ चिकित्सकका साथै स्वास्थ्यकर्मी र अन्य प्रशासनिक कर्मचारी गरी १२२ जना कार्यरत छन् । रासस

प्रतिक्रिया दिनुहोस्