धन्वन्तरि जयन्ती
२०७४, ३१ आश्विन मंगलवार ०७:११ मा प्रकाशित
राष्ट्रिय आयुर्वेद दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा चन्द्रगढीस्थित जिल्ला आयुर्वेद औषधालय झापाले विशेष कार्यक्रम गरी मानव स्वास्थ्यमा आयुर्वेद उपचार पद्धतिको महत्वका बारेमा चर्चा परिचर्चा गरेको छ ।
सो अवसरमा योगगुरुसमेत रहनुभएका भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले आयुर्वेदले दीर्घकालीन उपचार पद्धतिलाई अबलम्बन गर्ने भएकाले यो मानव स्वास्थ्यका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
मानवको शरीर प्रकृतिप्रदत्त भएको र प्रकृतिले मानवमा लाग्ने रोगका औषधि पनि उत्पादन गरेकाले त्यसलाई चिनेर उपचार गर्ने काम आयुर्वेदले परापूर्वकालदेखि गर्दै आएको उल्लेख गर्दै उहाँले औषधालयका लागि नगरपालिकाले केही बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभयो ।
जिल्ला आयुर्वेद औषधालयका प्रमुख डा केनिन राईले औषधालयले अब औषधि मात्र वितरण नगरेर पंचकर्म पूर्व प्रक्रिया, क्षारसूत्र, योग, प्रयोगशाला सेवा र सशुल्क औषधालयको व्यवस्थाको शुरुआत गरेको जानकारी दिनुभयो ।
हरेक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशी अर्थात् यमपञ्चक शुरु भएको दिन धन्वन्तरि जयन्ती मनाइने गरेकामा २०५४ सालदेखि राष्ट्रिय आरोग्य दिवस पनि थप गरेर मनाउन थालिएको हो ।
सेवा विस्तारमा भद्रपुर नगरपालिकाले रु १७ लाख ८० हजारको सहयोग गरेको छ । सेवा विस्तारपछि दैनिक ४० देखि ५० बिरामीले सेवा लिन थालेका छन् । नेपालमा आयुर्वेद शिक्षण अस्पतालदेखि विभिन्न जिल्ला र क्षेत्रमा गरी ३८४ आयुर्वेद औषधालयले बिरामीको सेवा गरिरहेका छन् । रासस
––