Logo
|
Thursday 28th November 2024
Logo

epaper

राजधानीमा तेश्रो राष्ट्रिय अकुलोप्लाष्टिक सम्मेलन (फोटो फिचर)



राजधानी काठमाडौंमा तेश्रो राष्ट्रिय अकुलोप्लाष्टिक सम्मेलन सम्पन्न भएको छ । ‘सुन्दर दृष्टिका लागि सहकार्य’ भन्ने नाराका साथ सम्मेलन अक्टोबर २७ र २८ तारिखमा काठमाडौंको याक एण्ड यतिमा सम्पन्न भएको हो । आँखाको प्लाष्टिक शल्यक्रिया सम्बन्धि यस सम्मेलनमा १२ जना राष्ट्रिय र २२ जना अन्तराष्ट्रिय (क्यानडा, बेलायत,अमेरिका,स्विजरल्याण्ड, ब्राजिल, चिली,स्पेन, जापान, भारत,पाकिस्तान र बंगलादेश) का विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस सम्मेलनबाट मुलुकमा आवश्यक पर्ने आँखाको प्लाष्टिक शल्यक्रिया सेवामा नैतिक, गुणस्तरीय र आवश्यक सेवा उपलब्ध गराउने, आँखाको युवा डाक्टरहरुमा प्लाष्टिक सेवा र शल्यक्रिया विधामा आकर्षण पैदा गर्ने तथा यसको लागि मानव संसाधन विकास गर्ने र आँखाको प्लाष्टिक शल्यक्रिया सम्मेलनको आयोजना नियमित रुपमा गरी सहभागिता, ज्ञान तथा क्षमता विकास गर्ने अपेक्षा लिइएको छ ।
अकुलोप्लाष्टिक विशेषज्ञ तथा आयोजक समितिका अध्यक्ष डा.रोहित सैंजुले भन्नुभयो—‘अकुलोप्लाष्टिक आँखा स्वास्थ्यको त्यो विशिष्ट सेवा हो जुन आँखाको सौन्दर्य देखि आँखाको क्यान्सर सम्मको उपचार विधिलाई जनाउँछ । दुर्घटनाबाट विग्रेको अवस्थादेखि आप्mनो आँखाको प्राकृतिक आकार परिवर्तन गर्न चाहने सम्मलाई यो विधाले समेट्दछ ।’
अकुलोप्लाष्टिकले आँखाको डल्लो बस्ने ठाँउ, आँखाको डिल,आँसु नली र अनुहारको आकृतीलाई समावेश गदर्छ । यसका साथै यसले आँखाको बिग्रिएको संरचनालाई उपचार पद्दतीबाट पूर्नसंरचना गर्ने काम गर्दछ । हालका वर्षमा यस रोग निदानमा उल्लेखनीय उन्नती देखिएको छ । नयाँ अवधारणा तथा उपचार पद्धतिले हाम्रो क्षमतामा विकास गरेको छ । यि नविनतम प्रयास दैनिक चिकित्सा प्रयोगमा लागू गर्न सकिने अवस्थामा छ । यो सम्मेलनले अकुलोप्लाष्टिक क्षेत्रमा नयाँ आयामको पर्दापण भएको डा. सैंजुको भनाइ छ ।
यो सम्मेलन आँखाको प्लाष्टिक शल्यचिकित्सक, सामान्य नेत्र विशेषज्ञ, आवासीय चिकित्सकका लागि महत्वपूर्ण मानिएको छ । सम्मेलनमा आँखाको डिल, आँखाको डल्लो बस्ने ठाँउ,आँसु नली, आँखाको क्यान्सर,आँखाको सुन्दरता र जटील रोग सम्बन्धि अन्तरक्रिया लेक्चर र पोस्टरको माध्यममाबाट जानकारी दिइएको थियो ।
डा.सैजुंका अनुसार सामान्य अकुलोप्लाष्टिक सेवा नेपालमा विभिन्न आँखा अस्पतालले उपलब्ध गराइरहेका छन् । तर प्रमूख र जटिल अकुलोप्लाष्टिक शल्यक्रियाका लागि स्थानिय रुपमा अकुलोप्लाष्टिक दक्ष चिकित्सकको अभावमा राजधानी सम्म धाउनुपर्ने बाध्यता रहेको छ । यो अवस्था हिमाल र पहाडी क्षेत्रका जनताको लागि निकै कष्टकर रहेको छ ।
यसअघिको दोश्रो राष्ट्रिय अकुलोप्लाष्टिक सम्मेलन १८ र १९ अक्टोवर २०१४ मा भएको थियो । जसमा १२ जना १२ जना राष्ट्रिय र १४ जना अन्तराष्ट्रिय विज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
तिलगंगा आँखा प्रतिष्ठानमा मात्रै वार्षिक करिव १० हजार अकुलोप्लाष्टिक समस्या भएका बिरामीहरु आइरहेका छन भने साना ठूलो शल्यक्रिया गर्नेको संख्या करिव १ हजार ५०० रहेको छ ।
आयोजक संस्था नेपाल अकुलोप्लाष्टिक सोसाइटी फर सर्जनस्को स्थापना सन् २०१४ को अक्टोबर १५ मा भएको हो । यस समाजले विभिन्न समयमा सभा समारोह गरेर देशमा यस विषय सम्बन्धि शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ । जसको सुरक्षित तथा व्यवसायिक गुणस्तर आफ्नो पेशामा कायम राख्ने साथै यस विशेषताका ज्ञान प्रबन्धन गरी नयाँ नेत्र विशेषज्ञहरुमा आकर्षण पैदा गराउने उद्देश्य रहेको छ । यस संस्थामा २० जना सदस्यहरु रहेका छन् । अकुलोप्लाष्टिक विशेषज्ञतालाई देशको सबै आँखा सेवा प्रदायक अस्पताल मार्फत गाउँ ठाँउ सम्म पुर्याउने र यसको लागि चाहिने दक्ष विज्ञहरु स्वदेशमै तयार गर्नुमा यस संस्थाको प्रयास रहदै आएको छ । कुनै बेलामा नबन्ने भनिसकेका कुरालाई बनाएर देखाउने वा अनुहारमा पुनःसंरचना गरेर स्वभाविक वा प्राकृतिक स्वरुप दिने यस विषयको विशेषता हो ।

प्रतिक्रिया दिनुहोस्