Logo
|
Thursday 18th April 2024
Logo

epaper

जटिल रोग निको पार्ने भन्दै नेटवर्किङ व्यवसाय



जटिल रोगको समेत उपचार गराउने भन्दै नेटवर्किङ व्यवसाय फस्टाउन थालेको छ । जटिल रोग निको पारिने भन्दै यस्ता गिरोह सर्वसाधारणबाट आफ्ना उत्पादन भिडाउन थालेका छन् । स्वदेशमा सम्पर्क कार्यालयसमेत नभएको ओरियन्स नामको संस्थाले नेटवर्किङ शैलीबाट औषधि बिक्री गराउँदै आएको छ । अझ सदस्य बनाएबापत औषधि छुट मूल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौंको कारोबार गर्दै आएको छ । भारतको चेन्नाईमा मुख्य कार्यालय रहेको भनिएको ओरियन्सले नेटवर्किङ शैलीमार्फत आफ्नो उत्पादन बिक्री गर्दै आएको छ ।

विशेषगरी झापा, सुनसरी, धनकुटालगायतका जिल्लामा यसको विस्तार हुनेक्रम बढेको छ । खासगरी औषधिजन्य वस्तु सम्बन्धित चिकित्सकको सिफारिसबिना बिक्री वितरण गरिनु गैरकानुनी हुन्छ । तर, स्वास्थ्यसँग सरोकार नभएका व्यक्तिहरू यसमा संलग्न रहेको स्रोतले जनाएको छ । धनकुटामा पछिल्लो समय पाँच सयभन्दा बढी व्यक्तिलाई ओरियन्सका उत्पादन बिक्री गरिएको स्रोतले बतायो ।

नेटवर्किङमा संलग्न व्यक्तिले आफूहरूले औषधि नभएर ‘फ्रुट सप्लिमेन्ट’ का वस्तु बिक्री गर्दै आएको दाबी गर्दै आएका छन् । खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाका युद्धबहादुर खड्काले ३० हजारको औषधि प्रयोग गरेको बताए । डायबेटिजबाट ग्रसित रहेका उनले मासिक १० हजार रुपैयाँका दरले तीन महिनासम्म औषधि प्रयोग गर्ने बताए । हाल ५ हप्ता औषधि सेवन गरिसकेको उनले जानकारी दिए । ‘सुगर रोग चटक्कै निको हुने भनेकाले औषधि प्रयोग गरेको हुँ,’ उनले भने, ‘यसको मात्रा पूरा गरेपछि हाल प्रयोग गर्दै आएको सुगरको औषधि कहिल्यै खान पर्दैन भनेकाले आशावादी छु ।’

नेटवर्किङ बिजिनेसबारे सदरमुकामस्थित एक होटलमा सर्वसाधारणलाई सहभागी गराई प्रशिक्षणसमेत दिइएको छ । उक्त कार्यमा नेता, जनप्रतिनिधिदेखि सञ्चारकर्मीसमेत संलग्न रहेको एक सहभागीले जनाए । साँगुरीगढी गाउँपालिकाका विशाल कार्कीले ब्लड क्यान्सरबाट पीडित पत्नीका लागि ओरियन्सले बिक्री गरेको २२ हजारको औषधि प्रयोग गरिसकेको बताए ।

प्रारम्भिक चरणमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पछि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइए पनि निको नहुने अवस्था भएकाले ओरियन्सको उत्पादन प्रयोग गरेको उनले बताए । ‘चारपटक किमो गरिएपछि कमजोर भएपछि आफूले श्रीमतीलाई ओरियन्सको उत्पादन दिन थालेको हुँ,’ उनले भने, ‘लाखौं खर्च भइसक्दा थोरै पैसाले रोग निको होला भन्ने आशाले प्रयोग गरेको हो ।’ पछिल्लो समय उनी स्वयं ओरियन्सको प्रचारप्रसारमा जुटेका छन् ।

ओरियन्सको प्रचारमा जुट्नेहरूका अनुसार एकले सदस्य बनाएपछि त्यसपछिका व्यक्तिले सदस्यता विस्तार गरेको आधारमा बोनस दिने गरिन्छ । ओरियन्सको प्रचारमा हिँडेका विशालले प्रत्यक्ष बिक्री गरिने हुनाले ठगी धन्दा नभएको दाबी गरे । ‘डाइरेक्ट सेलिङ हो तर नाफाबिना काम कसैले गर्दैन,’ उनले भने, ‘हामी पनि काम गरेअनुसार नाफा त पाउँछौं ।’ गत असोज ४ मा संसदले नेटवर्किङ बिजिनेसबारे कानुन बनाउने निर्णय पारित गरेकाले आफूहरू सक्रिय भएर प्रचारमा जुटेको उनले बताए । गैरकानुनी ठहर गरे सुरक्षित भएर बस्न बाध्य हुने उनको तर्क छ ।

ओरियन्सको अभियानमा जुटेका लक्ष्मी मगरले ओरिएन्स स्वास्थ्यसँग सम्बन्धित सामग्री भएको तर औषधि भन्न नमिल्ने तर्क राखे । ‘धेरै बिरामीलाई निको पारेको छु,’ उनले भने, ‘अहिलेसम्म कम्लेन आएको छैन । कतिपयले धन्न तपाईले गरेर बचाइदिनुभो भन्ने गरेका छन् ।’

उक्त अभियानमा अर्का सक्रिय व्यक्ति सन्तोष केसीले खाद्यान्नको परिपूरक तत्त्व भएकाले औषधि भन्न नमिल्ने तर्क राखे । उनले रोग निको पार्ने भन्दै बिक्री गरिने वस्तु फुड सप्लिमेन्ट भएकाले अचुक हुनेसमेत दाबी गरे ।

उनले चाँडै राजधानीमा कार्यालय खोल्ने तयारी गरिएको बताए । ‘डाक्टरले निको पार्न नसक्ने रोग हामीले निको पार्नेछौं,’ उनले भने, ‘डाक्टरको औषधिलाई चुनौती दिन सक्ने उत्पादन हो ।’ ओरियन्स नेटवर्किङ बिजिनेसका अर्का अभियान्ता आरसी राईले पनि जटिल प्रकारका सबै रोग निको पार्ने दाबी गरे । ओरियन्सको सदस्य बनाउन सर्वसाधारणलाई भेला पारी प्रशिक्षण दिने कार्य पछिल्लो समय सक्रिय पारिएकाले प्रभावित संख्या बढदै गएका छन् ।कान्तिपूरबाट

प्रतिक्रिया दिनुहोस्