प्रदेश नं.४ का मन्त्री भन्छन्—मणिपाल अस्पतालको समस्या छलफलबाटै समाधान गर्नुपर्छ
प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मणिपाल शिक्षण अस्पतालमा देखिएको समस्या दुवै पक्षबीच छलफल गरेर समाधान गर्नुपर्ने बताउनुभएको छ ।
विगत नौ महिनादेखि पाँचबुँदे माग राखी आन्दोलनरत कर्मचारीको समस्या समाधान गर्ने उद्देश्यका साथ आज अस्पतालमा आयोजित कार्यक्रम उहाँले आन्दोलनरत कर्मचारीका जायज मागप्रति अस्पताल प्रशासन सकारात्मक हुनुपर्ने बताउनुभयो ।
अस्पतालका डिन बिएम नागपालले आफूहरू वार्ताकोे माध्यमबाट समस्या समाधान गर्न तयार रहेको बताउनुभयो । विगतदेखि नै नेपाली तथा भारतीय चिकित्सक र कर्मचारीबीच विभेद गरिएको गुनासो आइरहने मणिपाल शिक्षण अस्पतालमा अहिले पनि त्यहाँका कर्मचारी हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।
अखिल नेपाल स्वास्थ्यकर्मी संघको अगुवाइमा भएको आन्दोलनमा कर्मचारीको सेवासुविधा वृद्धि गर्ने, दश वर्षदेखि अस्थायी रुपमा काम गर्दे आएका कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत माग राखिएको छ ।