Logo
|
Friday 19th April 2024
Logo

epaper

करोड खर्चिंदा पनि घटेन लामखुट्टे



जनकपुर उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि १ करोड रकम खर्च गरे पनि लामखुट्टेको टोकाइ जस्ताको तस्तै छ। जनकपुरको ठूलो समस्याका रूपमा रहेको लामखुट्टेको प्रकोप गर्मीसँगै बढ्दै गएको छ।

नगर क्षेत्रमा खुला नाला र ढलले गर्दा लामखुट्टेको टोकाइबाट वर्षभरि नै स्थानीय पीडित बन्दै आएका छन्। लामखुट्टे नियन्त्रणका लागि भन्दै प्रत्येक वर्ष उपमहानगरपालिकाले औषधि छर्किने गरे पनि त्यो उपलब्धिमूलक हुन नसकेको स्थानीय बताउँछन्।

आर्थिक वर्ष २०७३÷७४ मा लामखुट्टे नियन्त्रण गर्न २१ हजार २ सय ५० रुपैयाँ खर्च भएको थियो। चालू आवमा बजेट बढाएर ५ लाख पु¥याइएको थियो। पुससम्ममा ७७ हजार ९७ रुपैयाँ लामखुट्टेको नाममा खर्च भइसकेको उपमहानगरपालिकाको आर्थिक विवरणले देखाउँछ। चालू आवमै नगर परिषद्बाट संशोधित बजेटमा लामखुट्टे नियन्त्रणका लागि १ करोड बजेट छुट्याइएको छ। लामखुट्टे भने घट्नुको साटो झन् बढ्दै गएको जनकपुरवासी बताउँछन्।

लामखुट्टे नियन्त्रणका नाममा भ्रष्टाचार हुने गरेको र यस वर्ष पनि त्यो क्रम जारी रहने ४ नम्बरका वडाध्यक्ष सुदर्शन सिंहको भनाइ छ। ‘यति रकममा त घर–घरबाट लामखुट्टे भगाउन सकिन्छ तर औषधि छर्किएर त्यसकै नाममा सबै रकम सखाप पार्ने प्रवृत्तिले गर्दा प्रभावकारी काम हुन सकेको छैन’, उनले भने।

लामखुट्टे नियन्त्रणमा उपमहानगरपालिकालाई दबाब दिन परिवर्तनका लागि युवा अभियानमा आबद्ध युवाले दिउँसै झुल ओढेर एक महिनाअघि विरोध प्रदर्शन गरेका थिए। तर, हालसम्म पनि यसतर्फ प्रभावकारी काम हुन नसक्दा निरास भएको अभियानका संयोजक सुशील कर्णले बताए।

‘जनप्रतिनिधिले पनि आर्थिक प्रलोभनमा परेर जनताको हित नहेरी आफ्नो गोजी भर्न थालेको उदाहरण लामखुट्टे नियन्त्रण अभियान पनि हो’, उनले भने।

लामखुट्टेको टोकाइबाट बच्न जनकपुरमा घर मात्र नभई अस्पतालमा पनि बिरामीलाई झुल टाँगेर बस्नुपर्ने बाध्यता छ। लामखुट्टेको टोकाइका कारण साँझ पर्नेबित्तिकै घरमा हानिकारक मच्छर धुप बाल्नुपर्ने र स्वास्थ्यमा असर पार्ने अन्य औषधि छर्किनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ। अन्नपुर्णपोष्ट

प्रतिक्रिया दिनुहोस्