Logo
|
Tuesday 16th April 2024
Logo

epaper

कर्णाली प्रदेशमा ११० नयाँ कुष्ठरोगी फेला



कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् ।

एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत पदम केसीले जानकारी गराउनुभयो । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा फेला परेका छन् । जिल्लामा एक वर्षको अवधिमा ३१ जना बिरामी फेला परेको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, जाजरकोटमा २४, सल्यानमा १४, रुकुम र कालीकोटमा १०÷१० जना नयाँ बिरामी फेला परेको निर्देशनालयले जनाएको छ । यस्तै, दैलेखमा सात, जुम्ला र मुगुमा पाँच÷पाँच जना, हुम्लामा तीन र डोल्पामा एकजना नयाँ बिरामी फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

निर्देशनालयका अनुसार पहाडीभन्दा पनि तराईका जिल्लामा कुष्ठरोगका बिरामी बढी फेला परेको जनाएको छ । निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत केसीका अनुसार सामाजिक विभेदका कारण कुष्ठरोगका बिरामी खुल्न नसकेको बताउनुभयो ।

सरकारले कुष्ठरोग उन्मूलन भएको घोषणा गरेपनि सुर्खेतमा नयाँ बिरामी फेला परेपछि यसलाई निर्मूल पार्नका लागि अभियानकै रुपमै सञ्चालन गरिने भएको हो । जेठ २७ देखि ३१ गतेसम्म कुष्ठरोग प्रभावित स्थानमा अभियानकै रुपमा सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका क्षय कुष्ठरोग अधिकृत गणेशभक्त गौतमले जानकारी दिनुभयो ।

कुष्ठरोग अभियान—२०७५ को बारेमा जानकारी दिने उद्देश्यले बुधबार कार्यालयले आयोजना गरेको सञ्चारकर्मीबीचको अन्तक्र्रिया कार्यक्रममा गौतमले जिल्लाका साविकका २० वटा गाविसका स्वास्थ्य चौकीमा विभिन्न कार्यक्रमको आयोजना गरिने बताउनुभयो । यसका लागि तीनवटा समितिमार्फत घरदैलो अभियान सञ्चालन गरिनेछ ।

यसअन्तर्गत खोजकर्ता टोलीले प्रत्येक घरदैलोमा गएर कुष्ठरोगका लक्षण भएका व्यक्तिको खोजी गर्नेछ भने रोग निदान टोलीले खोजिएका व्यक्तिको रोगको निदान गर्नेछ भने सुपरिवेक्षण टोलीले पूर्णरुपमा निदान गर्नेछ ।

उपचारमा आउन नसकेका कुष्टरोगका बिरामीलाई खोजी गरी रोगको निदान गरी उपचार पद्धतिमा ल्याउनको लागि अभियान शुरुवात गरिएको क्षय कुष्ठरोग अधिकृत गौतमले बताउनुभयो ।

उहाँले कुष्ठरोग लागेको थाहा पाउने बित्तिकै तुरुन्तै उपचार गरेमा शरीर अंगभंग हुनबाट बच्न सकिने बताउनुभयो । गौतमले साविकका बिजौरा, गुटु, बाबियाचौर, सालकोट, छिन्चु, लेकपराजुल, मैनतडा, साटाखानी, गुमी, मेहलकुना, राकम र वीरेन्द्रनगरको लाटीकोइली र कटकुवालगायत २० स्थानमा अभियान सञ्चालन गर्ने बताउनुभयो ।

आव २०७३÷०७४ मा जिल्लामा ३१ जना नयाँ कुष्टरोगका बिरामी फेला परेको कार्यालयको तथ्यांक रहेको छ । जिल्लाको पूर्वी भागका साविकका छिन्चु, मैनतडा, मेहलकुना र पश्चिमको सालकोटलगायतका गाविसमा बढी बिरामी फेला परेका जनाइएको छ । कार्यक्रममा मध्यपश्चम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत विनोद आचार्यले अझै पनि कुष्ठरोगका बिरामी खुलेर नआउने भएकाले पनि यस्ता अभियानबाट उनीहरुलाई उपचारमा ल्याइने बताउनुभयो ।

कार्यालयका शाखा अधिकृत हरि पौडेल र वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतन वाग्लेले यस अभियानलाई सफल बनाउन सम्पूर्ण निकाय लाग्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्