Logo
|
Friday 26th April 2024
Logo

epaper

जुम्लामा एकै वडामा ३ स्वास्थ्य चौकी, ३० वडा स्वास्थ्य चौकीविहीन



जुम्लाका ६० वटा वडा मध्ये ३० वडाका स्थानीय तह स्वास्थ्य चौकीविहीन रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक अनुसार जिल्लामा रहेका ८ वटा स्थानीय तहका कुल ६० वटा वडामध्ये ३० वडा स्वास्थ्य चौकीविहीन रहेको पाइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एक प्राथमिक स्वास्थ्य केन्द्रसहित ३० वटा मात्र स्वास्थ्य संस्था रहेको छ । जिल्लाको चन्दननाथ नगरपालिकामा १० वडामध्ये ३ वडामा मात्र स्वास्थ्य चौकी रहेका छन् । त्यसैगरी गुठीचौर गाउँपालिकाको पाँच वडा मध्ये ३ वडामा स्वास्थ्य चौकी रहेका छन् भने अन्य दुई वडा स्वास्थ्य चौकी विहिन रहेका छन् । धेरै वडामा स्वास्थ्य चौकी नभएको र भएका स्वास्थ्य चौकीबाट पनि प्रभावकारी सेवा नहुने भएकाले प्रयाजसो बिरामीहरु उपचारका लागि मोटो रकम खर्चेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला बाहिर गएर उपचार गराउने गरेका छन् ।

 

सरकारले हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने भने पनि जुम्लाका अधिकांश वडामा स्वास्थ्यचौकी समेत नहुँदा नागरिकले आधारभूत स्वाथ्य सेवासमेत पाउन सकेका छैनन् । पातारासी गाउँपालिका वडा ७ का वडाध्यक्ष लालबहादुर बुढाका अनुसार वडामा न वडा कार्यालय, न त स्वास्थ्य चौकी नै छ, यहाँका स्थानीय नागरिक घण्टौँ हिँडेर पुरानै गाविसको कार्यालय र स्वास्थ्य चौकीबाटै सेवा लिन बाध्य भएका छन् । उनले भने ‘यहाँका नागरिकलाई संघीयताकोे अनुभुति भएको छैन ।’ हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल स्थापना गर्ने सरकारको नीतिअनुसार अस्पताल बने पनि हरेक वडामा अनिवार्य रूपमा स्वास्थ्यचौकी आवश्यक रहेको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा साविकका ३० वटा गाविसमा रहेका ३० वटा स्वास्थ्य संस्थाले नै अहिलेको नयाँ संरचना अनुसार सेवा प्रवाह गरिरहेका छन् । जसले गर्दा ती ३० वटा गाविसमा रहेका स्वास्थ्य संस्था हाल ३० वटा वडामा परेका छन् । बाँकी ३० वडाका नागरिक भौगोलिक विकटताका कारण घण्टौं हिँडेर अर्को वडामा आधारभूत स्वास्थ्य सेवा लिन जानुपर्ने बाध्यता छ । जिल्लाका सबै वडामा स्वास्थ्य चौकी नहुँदा गर्भवती जाँच तथा प्रसूति सेवा लिने महिलालाई थप समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदिस नेपालीेले बताए । उनका अनुसार तिला गाउँपालिकाका ९ वडा मध्ये इकाई र स्वास्थ्य चौकी गरी ८ वटा छन् तर भौगोलिक विकटताका कारण गर्भवती महिला बृद्धहरुका लागि स्वास्थ्य चौकीमा पुग्न निकै समय लाग्छ । सबै वडामा सडक पुगेको छैन, सवारी साधनको पहुँच नभएकाले समस्या छ ।

जिल्लामा २९ वटा स्वास्थ्य चौकी, एक प्रथामकि स्वास्थ्य केन्द्र, १० वटा सामुदायिक स्वास्थ्य इकाई र १ सहरी स्वास्थ्य इकाई रहेको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । अन्य बाँकी वडा तथा गाउँबस्तीमा आगामी वर्षमा स्थापना गर्ने योजना रहेको जनाएको छ ।

राजनीतिक खिचातानीले एउटै वडामा तीन स्वास्थ्य संस्था
तिला गाउँपालिका वडा ९ मा तीन वटा स्वास्थ्य संस्था स्थापना भएका छन् । राजनीतिक खिचातानीले गर्दा एउटै वडामा तीन वटा स्वास्थ्य संस्था स्थापना हुन पुगेको स्थानीयको बुझाई रहेको छ । दुई वटा स्वास्थ्य चौकी र एक आधारभुत स्वास्थ्य इकाई रहेका छन् । वडा नं. ६ सुडीमा हुनुपर्ने सामुदायिक स्वास्थ्य इकाई राजनीतिक चलखेलले गर्दा सबै एउटै वडामा रहेको स्वास्थ्य संयोजक जगदिस नेपालीले बताए । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्