Logo
|
Thursday 9th May 2024
Logo

epaper

फोहोर जलाउनु हानिकारक



 उपत्यकामा उत्पादन हुने फोहोरमैला जलाउँदा त्यसले गम्भीर असर पुर्‍याउँदै आएको बताइएको छ । उपत्यकामा दैनिक पाँच सय मेट्रिक टन उत्सर्जन हुने फोहोरमध्ये तीन प्रतिशत जलाएर नष्ट गर्ने गरिएको छ । यसले वायु प्रदूषण भएर मानव स्वास्थ्यदेखि जलवायु परिवर्तनसम्म हुने सरोकारवालाको भनाइ छ ।

उपत्यकामा दैनिक काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २० मेट्रिक टन फोहोर जलाउने गरिएको छ । त्यसबाट निस्कने प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर र जलवायु परिवर्तनमा पनि प्रभाव परिरहेको एक अध्ययनले देखाएको छ । फोहोरमैला जलाउनु हानिकारक हुने अध्ययनको निष्कर्ष छ । वातावरण, ऊर्जा तथा जलवायु परिवर्तनविज्ञ भूपेन्द्र दासको समूहले गरेका खोज अनुसन्धानमा वार्षिक उपत्यकामा सात हजार चार सय मेट्रिक टन फोहोर जलाइने गरेको पाइएको छ ।

फोहोर जलाउँदा सबैभन्दा बढी कार्बनडाइअक्साइड ११ हजार नौ सय मेट्रिक टन उत्सर्जन हुन्छ । त्यस्तै कार्बनमोनोअक्साइड छ सय ३० टन, पीएम (२.५), ५५ टन, पीएम (१०) ६० टन, ब्ल्याक कार्बन (बीसी) २५ टन, मिथेन ३० टन, सल्फर डाइअक्साइड पाँच टन, एनएमभीओसी एक सय १२ टन र एमोनिया ५.५ टन प्रत्येक वर्ष उत्सर्जन हुने गरेको अध्ययन प्रतिवदेनमा उल्लेख छ ।

                                                 त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा जलाइँदै गरेको फोहोर । 

उपत्यकाको सबैभन्दा बढी बूढानीलकण्ठमा सबैभन्दा बढी फोहोर जलाउने गरेको अध्ययनले देखिएको छ । यहाँ प्रत्येक दिन एक व्यक्तिले २७ ग्राम फोहोर जलाउने गरेको पाइएको छ । त्यस्तै महालक्ष्मी, ग्वार्कोका प्रतिव्यक्ति १७ ग्राम, लगनखेल १४ ग्राम प्रतिव्यक्ति र बानेश्वरमा १२ ग्राम प्रतिव्यक्ति जलाइने गरेको छ । त्यस्तै भक्तपुर वरिपरिको क्षेत्र तथा कालिमाटी, डल्लु र भक्तपुर बजार क्षेत्रमा अत्यधिक फोहोर बाल्ने गरिएको छ ।

उपत्यकाका अधिकांश ठाउँमा फोहोर जलाउने गरेको अध्ययनबाट पाइएको अनुसन्धानकर्ता दास बताउँछन् । उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या आएपछि पछिल्लो समय जलाउने कार्य अझ बढेको छ । नुवाकोटको ककनी गाउँपालिका- २ ओखरपौवा, सिसडोलको अस्थायी ल्यान्डफिल साइट भरिएपछि फोहोर व्यवस्थापनका समस्या हँदै गएको छ । त्यसको विकल्प फोहोर उचित व्यवस्थापन रहेको अध्ययनपछिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

फोहोरमैला जलाउँदा निस्कने प्रदूषणले विभिन्न रोगको संक्रमण हुन्छ । स्वाशप्रश्वाससम्बन्धी रोग, दम, मुटुरोग, रोगी बच्चा जन्मिनु साथै जलवायु परिवर्तनमा असर पर्ने उनको अध्ययन प्रतिवेदनले देखाएको छ । कार्बनडाइअक्साइड, ब्ल्याक कार्बन र मिथेनले ‘ग्लोबल वार्मिङ’को पोटेन्सियललाई बढाउने काम गर्छ भने यी तीनसहित फोहोर जलाउँदा निस्कने ११ वटै तŒवले मानव स्वास्थ्यमा असर पुर्‍याउँछ ।

त्रिभुवन विश्वविद्यालयका पीएचडी स्कलरसमेत रहेका दासले फोहोर जलाउनुको साटो उचित व्यवस्थापन गर्नुपर्ने जोड दिए । घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र फोहोर संकलनका लागि पठाउने व्यवस्था गर्नुपर्ने उनले बताए । अन्नपुर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्