Logo
|
Friday 19th April 2024
Logo

epaper

जडीबुटी प्रशोधन केन्द्र बन्द



 जिल्लाको एक मात्र जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा व्यवसायी मारमा परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ खातीज्युलामा २०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र विगत १८ वर्षदेखि बन्द छ ।

विश्व वन्यजन्तु कोष नेपाल, बिएसपी न्युएरा र साविकको त्रिपुराकोट गाविसको आर्थिक सहयोगमा रु १९ लाखमा स्थापना गरिएको सो केन्द्र दुई वर्षसम्म मात्र सञ्चालनमा आएको थियो । जटामसी, समायो, पिरे घाँसलगायतका जडीबुटी प्रशोधन गर्ने गरिएको थियो । जडीबुटी सङ्कलन र प्रशोधन जिल्लामै गरिन थालेपछि व्यापारीलाई सहज भएको थियो ।

जडीबुटी प्रशोधन गर्ने क्रममा वन जङ्गल मासिन थालेपछि इन्धनको अभावका कारण प्रशोधन केन्द्र बन्द भएको थियो । उद्योग सञ्चालन गर्न स्थानीय तहले चासो नदेखाएको त्रिपुरासुन्दरी नगरपालिका–१ का पूर्व गाविस सचिव कालीप्रसाद खत्रीले बताउनुभयो । “थोरै लगानीमा घरमै बसेर जडीबुटीबाट मुनाफा कमाइन्थ्यो, अहिले जडीबुटी अन्यत्र लैजाँदा समस्या भएको छ,” जडीबुटी व्यापारी कन्नबहादुर शाहीले भन्नुभयो ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा बन्द प्रशोधन केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको बताउनुहुन्छ । “आवश्यक उपकरणको व्यवस्था गरी प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो । केन्द्र सञ्चालनमा आए जडीबुटी सङ्कलक र व्यापारीले पर्याप्त आम्दानी गर्नसक्ने छन् । रासस

प्रतिक्रिया दिनुहोस्