Logo
|
Sunday 19th May 2024
Logo

epaper

नेतृत्वविहीन वीरमा सामान खरीदमा अन्यौल



विगत एक महिनादेखि नेतृत्वविहीन बनेको वीर अस्पतालमा अत्यावश्यक वस्तुको अभाव देखिएको छ । पदाधिकारीमा आर्थिक अधिकार हुने भएकाले निमित्त पदाधिकारीले आवश्यक सामग्री खरिद गर्न सकेका छैनन् । नेतृत्व अभावमा उपचारका लागि चाहिने अत्यावश्यक सामग्री खरिद गर्न नसक्दा वीर अस्पतालले दिँदै आएको सेवा प्रभावहीन बस्ने अवस्था आएको चिकित्सकले बताए ।

२४ साउनदेखि उपकुलपति प्रा.डा गणेश गुरुङ र २९ असोजदेखि निर्देशक प्रा.डा भूपेन्द्रकुमार बस्नेतको कार्यकाल सकिएको छ । अधिकारीहरूका अनुसार तत्काल पदाधिकारी नियुक्त नगरे सेवा पूर्णरूपमा रोकिने अवस्था छ । अस्पतालका निमित्त निर्देशक प्रा.डा भूपेन्द्र बस्नेतले अत्यावश्यक वस्तुको अभाव हुन थालेको बताए । न्याम्सको एमडी एमएस, डिएन एमको पढाइमा समेत असर परेको छ । वीर अस्पतालमा सञ्चालन भइरहेका अर्बाैंका कार्यक्रम अन्योलमा परेका छन् ।

ओपिडी टिकट मौज्दात न्यून
कर्मचारीहरूका अनुसार ओपिडी टिकटसमेत सकिएको छ । दुई महिनालाई मौज्दात राख्ने गरिए पनि तीन महिनादेखि नेतृत्व नहुँदा खरिद हुन सकेको छैन । वीर अस्पताल खरिद शाखाका एक कर्मचारीले भने, ‘विगतमा दुई महिनालाई पुग्ने सामान मौज्दात राखिन्थ्यो । अहिले नयाँ भवन बन्दै गरेकाले स्थान अभाव छ । त्यसैले धेरै सामान मौज्दात राख्ने ठाउँ छैन ।

जसले गर्दा भएका सामान सकिन थालेका छन् ।’ करिब १० हजार ओपिडी टिकट मौज्दात थियो । दैनिक बिरामीको चाप बढ्दै गएकाले उक्त टिकट केही दिनमा सकिनेछ । वीरको ओपिडीमा दैनिक २५ सयसम्म बिरामी आउने गरेका छन् ।

अप्रेसन थिएटरमा सामान अभाव
लामो समयसम्म पदाधिकारी नहँुदा वीर अस्पतालमा अप्रेसन थिएटरमा अत्यावश्यक सामानको अभाव देखिन थालेको छ । अस्पतालका अनुसार अप्रेसन थिएटरमा बिग्रिएका उपकरण तत्काल बनाउने सामान सकिएको छ । एक्सरेका प्लेट सकिएका छन् ।

औजार उपकरण खरिद गर्ने अधिकार निमित्तलाई छैन । करिब दुई महिना अगाडि नै उपकुलपतिका लागि डा. डिएन शाह, डा. ढुन्डीराज पौडेल, डा. अजित रायमाझीको नाम सिफारिस भएको थियो । तर, प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले निर्णय लिइसकेका छैनन् ।

वीर अस्पताल इमर्जेन्सी विभाग प्रमुख डा. भोलाराम श्रेष्ठका अनुसार तत्काल बिग्रिएका सामान बनाउने अटो क्लिप सकिएको छ । त्यस्तै, फोटोकपी पेपरको पनि अभाव छ । अत्यावश्यक औषधि सकिन लागेका छन् । टेस्ट किट पनि सकिन लागेको छ । अस्पतालका रेडियोलोजी विभागका डा. सरोज शर्माका अनुसार अल्ट्रासाउन्ड गर्दा आउने पेपरसमेत सकिन लगेको छ । स्रोतः अर्जुन अधिकारीले लेखेको नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस्