Logo
|
Wednesday 8th May 2024
Logo

epaper

नि:शुल्क डायालिसिस् सेवा झन् मुस्किल बन्दै



मिर्गौला रोगीहरूलाई सरकारले नि:शुल्क रूपमा उपलब्ध गराउँदै आएको डायालिसिस् अर्थात यन्त्रको सहायताले रगत सफा गर्ने सेवा प्राप्त गर्न झन् झन् कठिन हुन थालेको मिर्गौलाका बिरामीहरूले बताएका छन्।

नि:शुल्क सेवाका लागि पालो नआउँदासम्म महँगो शुल्क तिरेरै सेवा लिन आफूहरू बाध्य भएको उनीहरू बताउँछन्। हाल सरकारी र निजी गरी देशभरिका चार दर्जनभन्दा बढी स्वास्थ्य संस्थामा नि:शुल्क डायालिसिस् सेवा उपलब्ध छ। तर हरेक वर्ष तीन हजारको हाराहारीमा नयाँ मिर्गौला रोगीहरू थपिने गरेको बताइएको छ।

डायालिसिस् सेवा

मिर्गौला पीडितहरूको संस्था राष्ट्रिय मृगौला पीडित संघ नेपालका अनुसार तीन हजारभन्दा बढी मिर्गौला रोगीहरूले अहिले डायालिसिस् सेवा लिइरहेका छन्। प्रत्येक वर्ष त्यति नै संख्यामा मिर्गौला रोगीहरू थपिने गरेको छ।

बिरामीको संख्या बढेसँगै देशभरि डायालिसिस् गर्ने यन्त्रको संख्या थोरै हुँदा बिरामीहरूले महँगो शुल्क तिरेर सेवा लिन बाध्य हुनुपरेको मिर्गौला पीडित संघ नेपालका अध्यक्ष समिरकुमार पोखरेलले बताए।

उनले भने, “सरकारलाई भनिरहेका छौँ। ‘हेर्दै जाऊँ’ भन्छ। पहिले नि:शुल्क गर्दा आन्दोलन गर्नुपरेको थियो। फेरी पनि अनशन बस्नुपर्ने स्थिति भइसकेको छ।”

अहिले पनि कम्तिमा चार सयको संख्यामा बिरामीहरूले नि:शुल्क सेवाका लागि पालो कुरिरहेको बताइएको छ।

सशुल्क उपचार गराउने हो भने उनीहरूले अस्पताल अनुसार एकपटकमा २५ सयदेखि ५ हजारसम्म शुल्क तिर्नुपर्ने हुन्छ।

हाल राजधानी र देशका अन्य भागका सरकारी र निजी गरी ५१ वटा स्वास्थ्य संस्थाबाट डायालिसिस् सेवा सञ्चालनमा रहेको बताइएको छ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवम् मिर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठ बताउँछन्।

सुझाव

उनले भने, “डायालिसिस् केन्द्र विकेन्द्रीकरण गर्नुपर्छ। जस्तै एउटा अञ्चल अस्पतालमा मेशिन संख्या थप्नुपर्छ। एउटा अञ्चलमा १० वटा मेशिन पुर्‍याउन सकियो भने एक दिनमा ३० जनाले सेवा पाउन सक्छन्। त्यसले थप बिरामी लाभान्वित हुनेछन्।”

सरकारले मापदण्ड पुगेका अस्पतालमा सेवा थप्न स्वीकृति दिने गर्छ।

तर डायालिसिस् मेशिनदेखि त्यस निम्ति आवश्यक दक्ष जनशक्ति र प्रविधि महँगो हुनेहुँदा सेवा विस्तार गर्न कठिन हुने गरेको सरकारी अधिकारीहरूले बताएका छन्। स्रोतः बिबिसिनेपाली

प्रतिक्रिया दिनुहोस्