घुम्ती शिविरमार्फत वडामै सेवा
२०७५, २७ पुष शुक्रबार ०४:४७ मा प्रकाशित
रघुगङ्गा गाउँपालिकाले दुर्गम र विकट क्षेत्रका बासिन्दाको सुविधाका लागि घुम्ती टोलीमार्फत गाउँपालिकाको सेवा वडास्तरमै दिन थालेको छ ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई सहज, सरल र बिना झन्झट सेवासुविधा उपलब्ध गराउने उद्देश्यले पाखापानीस्थित ६ नं वडा कार्यालयमा बिहीबार घुम्ती शिविर सञ्चालन गरेको छ । शिविरबाट गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरणका साथै योजना सम्झौता र बैंक खाता सञ्चालनको सेवा दिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।
पाखापानी र झिँका बासिन्दालाई लक्षित गरेर आयोजना गरिएको शिविरमा सात योजनाको सम्झौता, सात वटाकै बैंक खाता सञ्चालन, ९४ जनालाई ज्येष्ठ नागरिक र ११ जनालाई अपाङ्ता परिचयपत्र वितरण गरिएको छ ।
मौवाफाँटस्थित गाउँपालिका कार्यालयसम्म आएर सेवा लिन नसक्ने सेवाग्राहीको सुविधाका लागि घुम्ती शिविर सञ्चालन गरिएको प्रशासकीय अधिकृत थापाले बताउनुभयो । जनतालाई गाउँमै सिंहदरबार आएको अनुभूति दिलाउन र राहतको महसुस गराउन गाउँपालिकाका साथै बैंकका कर्मचारीलाई पनि वडामै लगेर सेवा दिएको अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।
शिविरमार्फत झिँदेखि टोड्के जोड्ने सडक मर्मत उपभोक्ता समितिलाई रु दुई लाख २१ हजार ३७० चेकमार्फत शिविरमै भुक्तानी गरिएको थियो ।
घुम्ती शिविरमार्फत गाउँमै सेवा पाएपछि समय र खर्चको बचतका साथै दुःख र झन्झटबाट मुक्ति पाएको झिँकी रामकुमारी थजालीले बताउनुभयो । रासस