Logo
|
Sunday 19th May 2024
Logo

epaper

डा. गोविन्द केसी: के लेखे उनले सांसदहरूलाई खुलापत्रमा?



संसद्‌मा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे छलफल हुँदै गर्दा चिकित्साशिक्षामा व्यापक सुधारको माग राख्दै आएका डाक्टर गोविन्द केसीले सांसदहरूलाई एउटा खुलापत्र लेखेका छन्।

उनले हाल संसद्‌मा विचाराधीन रहेको विधेयकबाट “जनमुखी र विद्यार्थीमुखी प्रावधान हटाइएको” बताएका छन्।

केसीले सांसदहरूले गर्ने एउटा निर्णयबाट देशको चिकित्सा शिक्षाको गुणस्तर तथा सुलभ र गुणस्तरीय स्वास्थ्यसेवा पाउने नागरिकको नैसर्गिक अधिकार खोसिने वा सुनिश्चित हुने उल्लेख गरेका छन्।

सोह्र दिनअघि इलाममा अनशन थालेका केसीलाई स्वास्थ्यस्थिति बिग्रिएपछि हेलिकप्टरबाट काठमाण्डू ल्याइएको थियो। यो उनको १६औँ अनशन हो।

काठमाण्डू ल्याएपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको अतिसघन कक्षमा केही दिन राखेर उपचार गरियो। तर उनले अनशनलाई निरन्तरता दिए।

बिहीवार अनशनको १६ औँ दिन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरबाट उनले सांसदहरूको ध्यानाकर्षण गर्दै लेखेको पत्रका महत्त्वपूर्ण बुँदा जस्ताको तस्तै –

  • यसबीचमा जति पनि सङ्घर्षहरू भए त्यसमा मेरो कुनै व्यक्ति, कुनै समूह, कुनै दल वा कुनै संस्थाका प्रति न त कहिल्यै रुझान रह्यो न आग्रह नै।

सर्वसुलभ र गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य मेरो सरोकारको विषय हो। सबैखाले सत्ता, शक्ति र आरोपहरूका बीचमा मैले गरेको प्रयास केवल पद्धति बसाल्नका निम्ति थियो, छ र रहनेछ।

  • चिकित्सा शिक्षालाई ठिक बनाउने क्रममा पटक पटकको सङ्घर्षका कारण केही सुधारका सङ्केतहरू देखिन थालेका छन्।
  • यसअघि नेपाल सरकारले नै जारी गरेको र यस सम्मानित सदनले दुई पटक स्वीकृत गरेको अध्यादेश तथा नेपाल सरकारले गरेको सम्झौता अनुरूपको विधेयक संसद्‌मा पेस हुन्छ भन्ने मेरो आशा थियो तर त्यसअनुरूप हुन सकेन, जुन दु:खद छ।
  • यति बेला मैले जनताका प्रतिनिधिलाई विशेष आग्रह गर्नुपर्ने कारण भनेको संसदीय समितिबाट पारित भएको अवस्थामा विधेयक पारित भयो भने, चिकित्साशिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अपूरो नै रहनेछ। मलाई आशा छ, समय र सत्ता फेरिँदा मुद्दा पनि फेर्नेहरूको बहकाउ र भ्रममा परेर जनप्रतिनिधिमूलक संस्थाले निर्णय गर्ने छैन।
  • माथेमा कार्यदल लगायतका अध्ययनहरूले एक विश्वविद्यालयले पाँचभन्दा बढी सम्बन्धन धान्न नसक्ने सुझाव दिइसकेका छन्।
  • म एक सामान्य नागरिक हुँ, मेरो कुनै हठ वा अहङ्कारको विषय होइन, एउटा सत्यको आग्रह मात्र हो।
  • १५ वटा अनशनसम्म आइपुग्दा सबैजसो पार्टीको सरकारका प्रतिनिधिले सम्झौता गर्नुभएको छ।

बि बि सी नेपाली

प्रतिक्रिया दिनुहोस्