एक वर्षदेखि साङ्लाेमा
काठको पुरानो चौकी, त्यसमाथि तीनवटा मुडा छन् । तिनै मुडामा बाणगंगा नगरपालिका–६, सुठौलीका ३० वर्षे टंकप्रसाद न्यौपाने दुइटा साङ्लोले बाँधिएका छन्, एक वर्षदेखि । मानसिक सन्तुलन गुमाएर सम्हाल्न नसकिने भएपछि बाँधेर राख्नुपरेको बाबु रुद्रप्रसादले बताए ।
‘कसलाई आफ्नो छोरा बाँधेर राख्न मन लाग्छ ?’ उनले भने, ‘परिवार र समाजलाई अप्ठ्यारो पार्न थालेपछि यस्तो गर्नुपर्यो ।’ एक महिनादेखि उनले खाना खान छाडेका छन् । दुब्लाएर हड्डी देखिन थालेको छ । ‘मंगलबार बिहान छोरालाई चम्चाले भात खुवाउन खोजें,’ रुद्रप्रसादले भने, ‘चम्चा खोसेर दाहिने निधारमा क्वाप्प घोप्यो । रगतले लत्पतिएँ । धन्न आँखामा लागेन । थालको भात त हुर्याइदियो ।’
टंकप्रसाद पाँच वर्षदेखि बिरामी छन् । फहिले हातमा सिक्री बाँधिएको थियो । सित्री फुकालेर गाउँलेलाई कुटपिट गर्ने, गाडीको सिसा फुटाल्दै हिंडेपछि यस्तो बाध्यता आएको आमा विष्णुले बताइन् । ‘त्यसपछि हात र खुट्टा बाध्यौं,’ उनले भनिन्, ‘तर पनि उपाय लागेन ।’ उनका अनुसार छोराले गाउँलेलाई गालीगलौज र कुटपिट गर्न थाले । ढुंगाले हानेर कतिलाई घाइते बनाए ।
उनीहरूको आर्थिक स्थिति बलियो छैन । ‘अति गरिब छौं,’ उनले भनिन्, ‘घरमा बिजुली जोड्न सकेका छैनौं ।’ दुई जनाले ज्याला मजदुरी गरेमात्र चुल्हो बल्छ । जेनतेन सानो एउटा सोलार प्यानल जडान गरेका थिए । ‘त्यो पनि फलामको रडले हानेर फुटाइदियो,’ आमाले रुँदै भनिन्, ‘आफ्नो एकसरो कपडा पनि च्यातेको छ । च्यातेको कपडाले आधी शरीर बेरेर बसेको छ ।’
ओढ्ने–ओछ्याउने कपडाको पनि उस्तै हालत छ । दाङबाट जेठाजु आएका बेला छोराको उपद्रो देखेर मुडामा बाँध्न सल्लाह दिएको विष्णुले बताइन् । ‘३० किलोभन्दा बढी भएकाले खुट्टाले मुडा उचाल्न सक्दैन,’ उनले भनिन्, ‘कराउँदै रुँदै ठेडुल्कोमै थन्किन्छ ।’