Logo
|
Thursday 9th May 2024
Logo

epaper

मौसमी फ्लुले पूरै गाउँ थला : नौ जनाको मृत्यु, दर्जनौं बिरामी



  चैत अन्तिम सातादेखि फैलिएको मौसमी फ्लुको संक्रमणका कारण हुम्लाको ताँजाकोटमा नौ जनाको मृत्यु भएको छ। सुरुमा सामान्य रुघाखोकी मात्र देखिए पनि विस्तारै गाउँभरि संक्रमण फैलिँदै गएको हो।

सिमकोटस्थित जिल्ला अस्पताल पुग्न तीन दिन लाग्ने र गाउँको स्वास्थ्य चौकीमा सामान्य औषधोपचारले निको नभएपछि एकाएक ज्येष्ठ नागरिक र बालबालिकाको ज्यान जान थालेको हो। अहिले गाउँका ५०÷६० जना उपचारका लागि ताँजाकोटस्थित स्वास्थ्य चौकी आउने गरेको स्वास्थ्य चौकीका अहेव मोतीलाल जैसीले जानकारी दिए। ‘सुरुमा एक/दुई जना वृद्धको मृत्यु हुँदा हामीले सामान्य ठानेका थियौं तर एकाएक अरू पनि बिरामी हुने र मर्न थालेपछि यसले विकराल रुप लिएको हो’, उनले भने, ‘तत्काल कुन रोग हो भन्ने पुष्टि भएको छैन तर देखिने लक्षणका आधारमा मौसमी फ्लु भनेका छौं।’

बिरामीमा ज्वरो आउने, टाउको दुख्ने र लगातार बान्ता हुने लक्षण देखिएको अहेव जैसीले बताए। यसबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।

श्वास–प्रश्वास र दम तथा मुटुरोगी यो रोगको संक्रमणमा आउनेबित्तिकै मृत्यु भएको बताइएको छ। ताँजाकोट १, २ र ३ वडाका नागरिकको ज्यान गएको गाउँपालिका अध्यक्ष बागदल मल्लले बताए। करिब दुई सातासम्म पनि नियन्त्रणमा नआएपछि प्रदेश सरकारलाई चिकित्सक र औषधि पठाउन गुहार मागिएको उनले जानकारी दिए। ‘ज्येष्ठ नागरिक र बच्चामा संक्रमण हुनेबित्तिकै बचाउनै मुस्किल भयो, स्वास्थ्य चौकीमा औषधि पनि छैन। जिल्लाबाट हिँडेर तीन दिन लाग्छ’, उनले भने, ‘प्रदेश सरकारसँग अनुरोध गरेपछि चिकित्सक र औषधि पठाउने कुरा भएको छ, आइतबार साँझसम्म पुग्छन् होला।’

यस्तै, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले स्वास्थ्यकर्मी र औषधि सम्बन्धित ठाउँमा पुर्‍याउन समन्वय भइरहेको बताए। उनका अनुसार मृत्यु हुनेमा दुई बालक र सात जना वृद्ध छन्। शनिबार बिहान मात्रै ताँजाकोट–१, जिमाना गाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको छ। यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र पाँच वर्षीया सुनकेसा सुनार छन्। यस्तै, वडा नम्बर ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको प्रजिअ ढकालले जानकारी दिए।

यता, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले त्यहाँको अवस्था जानकारी पाएसँगै प्रदेशबाट चिकित्सक पठाएकोे बताए। सुर्खेतबाट तीन जना चिकित्सकसहित औषधि लिएर नेपालगन्ज पुगेका छन्। हुम्ला सदरमुकामबाट हिँडेर तीन दिन लाग्ने भएकाले चिकित्सकको टोली नेपालगन्जबाट बाजुराको कोल्टी हुँदै संक्रमित क्षेत्रमा पुग्ने स्वास्थ्य महाशाखा प्रमुख शाहीले जानकारी दिए। यस्तै बाजुराकै मार्तडीबाट तीन जना र मुगुको रातापानी स्वास्थ्यचौकीको टोली पनि ताँजाकोटतर्फ पठाइएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। अन्नपुर्णपोस्टबाट

प्रतिक्रिया दिनुहोस्