Logo
|
Wednesday 8th May 2024
Logo

epaper

कान्तिको आईसीयू नाम मात्रैको



 बालबालिकाका लागि मुलुककै एक मात्र केन्द्रीय ‘रेफरल’ कान्ति बाल अस्पतालले पूर्ण क्षमताका साथ इन्टेन्सिभ केयर युनिट (आईसीयू) सञ्चालन गर्न सकेको छैन  ।

डाक्टरलगायत जनशक्तिको दरबन्दी, सञ्चालन खर्च अभाव र राजनीतिक तहको असहयोगका कारण ५२ शय्या क्षमता भएको आईसीयूमा अहिले ३१ शय्या मात्रै मुस्किलले चलिरहेको छ । शय्या अभावकै कारण दैनिक ५-६ बिरामी अन्यत्र सिफारिस हुने गरेका छन् ।

मुलुकमा १५ वर्षमुनिका बालबालिका कुल जनसंख्याको ४० प्रतिशत छन् । करिब १ करोड २५ लाख बालबालिकाका लागि केन्द्रीयस्तरको बाल अस्पताल कान्ति मात्रै हो । ‘नर्स, डाक्टरलगायत जनशक्ति अभावमा कसरी आईसीयू चलाउन सकिन्छ ?,’ अस्पतालबाट हालै सेवानिवृत्त वरिष्ठ बाल रोग विशेषज्ञ डा. कैलाश साह प्रश्न गर्छन् ।

कान्ति बाल अस्पतालको दुरवस्थाका लागि स्वास्थ्य मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयसमेत दोषी रहेको विज्ञहरूको भनाइ छ । ‘बालबालिकाले विरोध गर्दैनन्, हडताल गर्दैनन् । यही कारण मुलुकको एक मात्र कान्ति बाल अस्पताल सरकारको प्राथमिकतामा अझै परेको छैन,’ डा. साह भन्छन्, ‘सरकार आफैं चाहँदैन कान्तिको आईसीयू चलोस् र गरिब समुदायले सेवा-सहुलियत पाऊन् ।’ केही अघिसम्म आईसीयूको ३७ शय्या चलाइएकामा अहिले ३१ मात्रै सञ्चालनमा छन् ।

यसअन्तर्गत हाल पीआईसीयूका लागि १२, एनआईसीयू १०, एसआईसीयू ७ र आइसोलेसनका लागि २ शय्या छुटयाइएका छन् । कान्तिमा विद्यमान पूर्ण क्षमताका हकमा एमआईसीयूका लागि २५, पीआईसीयूका लागि १५, सर्जिकलका लागि १० र आइसोलेसनका लागि २ गरी ५२ शय्याको आईसीयू चलाउनुपर्ने थियो ।

‘जनशक्ति पटक्कै छैन, ४ डाक्टर र ३ नर्सको तलब सरकारले नभई एनजीओले दिन्छ,’ अस्पतालका एक चिकित्सकले भने, ‘करिब १५ वर्षअघिकै ३९ मेडिकल अफिसरको मात्र दरबन्दी यहाँ छ ।’

हाल ३ जना स्थायी चिकित्सकमध्ये २ जना काठमाडौंबाहिर समायोजनमा परेका छन् । १७ मेडिकल अफिसरको तलब कान्ति अस्पतालले खुवाउने गरे पनि उनीहरू अध्ययन गरिरहेकाले अस्पतालमा काम गर्दैनन् । ‘अस्पताल करिब ३० जना रेजिडेन्ट चिकित्सकको भरमा चलिरहेको छ,’ ती चिकित्सकले भने ।

अस्पतालका निर्देशक डा. गणेश गुरुङले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार यहाँ भएका आईसीयू राम्ररी चलाउन चिकित्सक, नर्सजस्ता जनशक्ति कम्तीमा ५ गुणा बढाउनुपर्ने बताए । ‘५२ शय्या आईसीयू चलाउन हाल भएको जनशक्तिमा थप ४३ डाक्टर र १ सय २५ जना नर्सलगायत अन्य आवश्यकता परिपूर्ति गर्नुपर्छ,’ उनले भने ।

उनका अनुसार कान्तिमा भेन्टिलेटररहित आईसीयू शय्याका लागि १२ सय र भेन्टिलेटरसहित शय्याका लागि एक दिनमा २५ सय रुपैयाँ लिने गरिएको बताए । अन्यन्त्र भने एक दिनको शुल्क १० हजारदेखि १५ हजार रुपैयाँसम्म पर्ने गरेको छ । गरिब र तिर्ने क्षमता नभएकाबाट कान्तिले आईसीयू शुल्कसमेत नलिने गरेको डा. गुरुङले बताए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्