Logo
|
Friday 3rd May 2024
Logo

epaper

सुगममै किशोरी आमा



सुदूरपश्चिम प्रदेशका सुगम जिल्लामा कलिलै उमेरमा विवाह गर्ने र किशोरीमै आमा बन्न थालेका छन् । सुदूरपश्चिमको सुगम जिल्ला मानिने कैलालीमा उक्त क्रम रोकिएको छैन । टीकापुर नगरपालिका–१ विशालनगरकी २१ वर्षीया माया परियारका तीन सन्तान छन् । १५ वर्षमै भागी विवाह गरेकी उनले १६ वर्षमा पहिलो सन्तान जन्माइन् । १८ र २० वर्षको उमेरमै थप दुई सन्तान जन्माएकी मायालाई किशोरै आमा बन्नुपर्दा आत्मग्लानि भएको छ ।

कलिलो उमेरमा बिहे गर्नु हुँदैन भन्ने जानकारी नपाएको उनले बताइन् । किशोरीमै आमा बन्नुपर्दा सन्तानको राम्ररी स्याहार गर्न नपाएको उनको गुनासो छ ।‘सानैमा बिहे गरें, बच्चा जन्मिए, एउटा स्याहार्न नपाउँदै अर्को जन्मेपछि त झन् गाह्रो भएको छ’, मायाले भनिन् ।

स्वास्थ्यमा असर हुने र बच्चाको स्याहार राम्रोसँग नहुने हुँदा किशोरीमै आमा बन्नु गलत भएको उनले महसुस गरेकी छन् । टीकापुर नगरपालिका–६ की २४ वर्षीया सुनिता चौधरीले ८ कक्षा पढ्दै गर्दा परिवारको सहमतिमा बिहे गरिन् । १५ वर्षमै आमा बनेकी उनका ५ सन्तान छन् । नियमित तल्लो पेट दुख्न थालेपछि अस्पताल पुगेकी उनी पाठेघरको समस्याबाट आक्रान्त छिन् ।

कलिलो उमेरमा गरिएको विवाहले २४ वर्षको उमेरमै पाठेघरको समस्याबाट ग्रसित हुँदा उनलाई निकै पिर परेको छ । ‘पाँच सन्तान छन्, पाठेघरको समस्या छ, काम गरेर सन्तान पाल्न निकै कठिन छ’, चौधरीले दुखेसो पोखिन् ।

भजनी नगरपालिका–६ की पद्मा बुढाले ९ कक्षा पढ्दै गर्दा भागीविवाह गरिन् । १६ वर्षमै गर्भवती भएकी पद्माले ६ महिनामै बच्चा गुमाइन् । त्यसपछि तीन पटकसम्म गर्भवती भए पनि उनको सन्तान हुन सकेको छैन । परिवारको आर्थिक अवस्था कमजोर देखेपछि उनले भागेर विवाह गरेकी थिइन् । ‘पटक–पटक चेकजाँच गर्दा थाहा भयो, कलिलो उमेरमै विवाह गरेका कारण मेरो सन्तान हुन सकेको छैन’, स्वास्थ्यकर्मीको सल्लाहमा उपचार गराइरहेकी उनले भनिन्,‘साथीहरू पढ्दै छन्, मैले विवाह गरेर जीवन नै बर्बाद गरेँ ।’

यी केही प्रतिनिधि घटना मात्रै हुन् । सुगम मानिएको कैलालीमा किशोरीमै आमा बन्ने क्रम रोकिएको छैन ।

कैलालीमा बालविवाह गर्नेको आधिकारिक तथ्यांक नभए पनि टीकापुर अस्पतालमा पछिल्ला ३ वर्ष गर्भवती जाँच गर्न आउने किशोरीको संख्या १० देखि १६ प्रतिशत छ ।

टीकापुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नरेन्द्रकुमार खनालका अनुसार टीकापुर अस्पतालमा ०७२÷७३ मा २ हजार ६२ जनाले गर्भवती जाँच गराएकामा ३ सय २७ जना (१६ प्रतिशत) २० वर्षमुनिका थिए ।

०७३÷७४ मा २ हजार ६८ मध्ये २ सय ३० (१० प्रतिशत), ०७४÷७५ मा १ हजार ९ सय ८८ मध्ये २ सय ९२ (१४.६८ प्रतिशत) २० वर्षमुनिका किशोरी थिए । यस वर्षसमेत गर्भवती जाँच गर्ने झन्डै १२ प्रतिशत गर्भवती २० वर्षमुनिका छन् ।

अस्पतालका अनुसार गर्भजाँच गर्न १५÷१६ वर्षका किशोरी आउने गर्छन् । उनीहरूमध्ये धेरैजसो पढ्ने उमेरमै भागेर विवाह गरेका हुन् ।

टीकापुर नगरपालिकाको वडामा रहेका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउने किशोरीको संख्या झन्डै १७ प्रतिशत रहेको नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले बताए ।

‘यो त किशोरी गर्भवती भएर स्वास्थ्य संस्थामा सेवा लिन आएको तथ्यांक मात्रै हो, सबै किशोरी जाँच गर्न नआउने र सेवा लिन आफ्नो ठाउँभन्दा बाहिर पनि जाने भएकाले किशोरी आमाको संख्या बढ्न सक्छ’, रावलले भने, ‘सुगम ठाउँमै यो संख्या हुनु राम्रो संकेत होइन ।’

बालविवाहबारे सचेतना कम हुनु, आर्थिक अवस्था कमजोर हुनुजस्ता कारणले किशोरीमै आमा बन्ने क्रम नरोकिएको हो ।

२० वर्षमुनिको विवाहलाई कानुनले स्वीकृति दिएको छैन । तर, अभिभावकको सहमतिमा हुने बिहेका कारण किशोरीमै आमा बन्ने क्रम जारी छ ।

महिला स्वास्थ्यका हिसाबले जोखिमपूर्ण रहँदासमेत किशोरीमै आमा बन्ने क्रम नरोकिनु चिन्ताको विषय भएको टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावलले बताइन् ।
अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्