Logo
|
Friday 3rd May 2024
Logo

epaper

स्विमिङ पुलमा नुहाउँदा परजीवी संक्रमणको जोखिम



पछिल्लो समय सहरमा स्विमिङ पुल जाने संस्कृति विकास हुँदै गएको छ । अझ गर्मी बढेसँगै काठमाडौंलगायतका सहरमा बिहानैदेखि बेलुकासम्म स्विमिङ पुलमा नुहाउनेको भिड नै लाग्ने गर्छ । चिकित्सकहरूले भने स्विमिङ पुलको पानीले शरीरमा विभिन्न रोगको संक्रमणको खतरा रहेकाले सावधानी अपनाउन सल्लाह दिएका छन् ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले स्विमिङ पुलमा जाँदा विशेष सतर्कता अपनाउनुपर्ने बताए । ‘पौडी खेल्ने पानी (स्विमिङ पुलमा जम्मा भएको) को राम्रो व्यवस्थापन नहुँदा संक्रमणको दर बढ्दै गएको विभिन्न अनुसन्धानले देखाएको छ,’ डा. पुनले भने, ‘सरसफाइमा क्लोरिन प्रयोगको बाबजुद पनि क्रिपटोइस्पोरिडियम नामक परजीवी केही दिन जीवित रहने भएकाले प्रकोप लिने देखिन्छ ।’ विभिन्न देशमा भएका अध्ययन–अनुसन्धानले स्विमिङ पुलको पानीले संक्रमणको दर हरेक वर्ष बढ्दै गएको देखाएको उनले बताए ।

 रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्ति समस्यामा
क्रिपटोइस्पोरिडियम नामक परजीवीको संक्रमण भएमा सम्बन्धित व्यक्तिलाई पानीजस्तो पखाला लाग्ने, शरीरका मासु बाउँडिने, बान्ता हुनेजस्ता लक्षण देखिने चिकित्सकहरूको भनाइ छ । श्वास–प्रश्वासमा समस्या भएका, अंग प्रत्यारोपण गरेका, क्यान्सर भएका, एचआइभी संक्रमितलगायत रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिमा संक्रमणदर धेरै हुन्छ । स्वास्थ्यमा ख्याल नगरे यसको संक्रमणबाट मृत्युसमेत हुन सक्ने डा. पुनले बताए । उनका अनुसार पानीजस्तो पातलो दिसा तारन्तर लागेमा चिकित्सकको सल्लाह लिनु अति आवश्यक हुन्छ ।

‘हिजोआज स्विमिङ पुलमा जाने संस्कृतिको विकास हुँदै गएको छ, तर स्विमिङ पुलमा प्रयोग गरेको पानी कस्तो छ कसैले पनि चासो गरेको देखिँदैन,’ डा. पुन भन्छन्, ‘स्विमिङमा जम्मा भएको पानी क्लोरिन हालेर शुद्ध पार्ने प्रयास गरिन्छ, तर क्रिपटोइस्पोरिडियम नामक किटाणु क्लोरिन हाले पनि कम्तीमा दस दिनसम्म जीवित नै रहने देखिएको छ । त्यसैले, यसले जुनसुकै समयमा पनि प्रकोपको रूप लिन सक्छ ।’

यस्तो देखियो अनुसन्धानमा
अमेरिकामा क्रिपटोइस्पोरिडियम नामक किटाणुको प्रभाव दोब्बरले बढेको देखिएको छ । अमेरिकाको सिडिसीको प्रतिवेदनमा सन् २०११ मा २०, २०१२ मा १५, २०१३ मा १०, २०१४ मा १५ र सन् २०१६ मा स्विमिङ पुलको पानीमा जीवाणुको मात्रा ३५ पुगेको उल्लेख छ ।

तथ्यांकअनुसार सन् २०१४ देखि सन् २०१६ को बीचमा क्रिपटोइस्पोरिडियम प्रभावितको संख्या दोब्बरले बढेका हुन् । सिडिसीलाई संसारकै विश्वासिलो अनुसन्धानका रूपमा लिइन्छ । डा. पुनका अनुसार क्रिपटोइस्पोरिडियम नामक किटाणु खानेपानीमा समेत हुन सक्छ । एचआइभी भएका र क्यान्सरको औषधि खाँदै गरेकाहरूले समयमा उपचार गराउन नसके उनीहरूको मृत्युसमेत हुन सक्छ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्