Logo
|
Monday 6th May 2024
Logo

epaper

महिनावारी सरसफाइ दिवस : छात्राको उपस्थिति दर बढाउन प्याड वितरण



महिनावारी हुँदा छात्रा विद्यालयमा अनुपस्थित हुने अवस्था अन्त्य गर्न सिरहाको लहान नगरपालिकाले प्याड वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर १२ मा रहेका मावि तहका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई मंगलबार प्याड वितरण गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले किशोरकिशोरी कार्यक्रमअन्तर्गत महिनावारी स्वास्थ्य व्यवस्थापनका लागि प्याड वितरण गरेको स्वास्थ्य शाखाका सहसंयोजक अनिल साहले जानकारी दिए । उनले चालू आर्थिक वर्षको किशोरकिशोरी कार्यक्रमअन्तर्गत विनियोजित २५ हजार रुपैयाँ मूल्यको चार सय थान स्यानेटरी प्याड विद्यालयलाई हस्तान्तरण गरिएको बताए ।

चालू आर्थिक वर्षमा एक विद्यालयमा मात्र प्याड बाँड्ने योजना रहेकाले एकमुष्ट चार सय प्याकेट प्याड विद्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षमा नगरका अन्य विद्यालयमा समेत प्याड बाँडिने उल्लेख गरे । ‘विद्यालय समयमा महिनावारी हुने छात्रालाई प्याड दिइने व्यवस्था मिलाइएको छ,’ उनले भने ।

फोकल शिक्षिकामार्फत प्याड बाँडिने
महिनावारी सरसफाइ दिवसका सन्दर्भमा विद्यालयमा आयोजित कार्यक्रममा नगर शिक्षा समितिका संयोजक राजकुमार साह, वडा नं. १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी, नगर शिक्षा शाखा प्रमुख भवानी कट्टेल, स्वास्थ्य संयोजक रतनकुमार दासलगायतको उपस्थिति थियो ।

कार्यक्रममा महिनावारी भएका पाँचजना छात्रालाई प्याड दिइएको फोकल शिक्षिका सुकुमाया रमौलीले बताइन् । फोकल शिक्षिका रमौलीका अनुसार बाँकी रहेको प्याड विद्यालय समयमा महिनावारी भएको सूचना पाएपछि तत्काल सम्बन्धित विद्यार्थीलाई उपलब्ध गराइनेछ । नगर शिक्षा शाखा प्रमुख भवानी कट्टेलका अनुसार नगर क्षेत्रका मावि तहका आठ, कक्षा ८ सम्म पढाइ हुने आधारभूत तहका सात गरी १५ विद्यालयमा स्वास्थ्य शाखासँगको समन्वयमा महिनावारीको समयमा छात्राको अनुपस्थित दर घटाउन प्याड बाँडिनेछ ।

संयोजक कट्टेलले विद्यालयमा अध्ययनरत कक्षा ६ देखि माथिल्लो कक्षामा हरेक महिनाको कम्तीमा एक हप्ता महिनावारीकै कारणले कुल छात्रा संख्याको करिब १५ प्रतिशत छात्रा विद्यालयमा अनुपस्थित हुने गरेको बताए । ‘प्याड वितरणपछि महिनावारीका कारण विद्यालयमा अनुपस्थित छात्राको दर घट्नेछ,’ उनले भने ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्