Logo
|
Monday 6th May 2024
Logo

epaper

डाक्टर भेट्न २ दिन शिविरमा



 मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईलाई भेट्न कुश्मा ९ का कमल लामिछाने मंगलबार र बुधबार २ दिनसम्म मोदी ६ तिलाहार धाए । मोदी गाउँपालिका र स्थानीय रेडियो दिदीबहिनीले आयोजना गरेको शिविरमा भट्टराईलाई भेट्न २ दिन पालो कुर्नेमा लामिछाने एक्ला होइनन् ।

देउपुरका गुरुदत्त चापागाईं पनि विशेषज्ञ डाक्टरहरूलाई २ दिनसम्म पालो कुरेर आँखा र मिर्गौलाको उपचार गराए ।

शिविरमा विशेषज्ञ डाक्टरसहितको टोलीले स्वास्थ्यसम्बन्धी परामर्श, एक्सरे, आँखाको अपरेसनलगायत सेवा, औषधि र गम्भीर प्रकारको अपरेसनसमेत निःशुल्क गरिएको थियो । सबै चिकित्सक जिल्लाभित्रै जन्मिएका थिए । आफ्नै गाउँठाउँका भाइछोराको विशेषज्ञताबाट उपचार गराउन पाका उमेरका महिला, पुरुषको भीड थामिनसक्नु थियो ।

‘डा. भट्टराईलाई भेट्न ३ पटकसम्म काठमाडौं जाँदा पालो नपाएर फर्किएँ,’ चापागाईंले भने, ‘अहिले ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो ।’ काठमाडौं आउजाउ गर्दा २५ हजार खर्च भएको उनले बताए । मुटु जँचाउन आएकी शान्ति पौडेलले १५ हजार ऋण खोजेर काठमाडौं जाने तयारी गरेका बेला विशेषज्ञ डाक्टर गाउँमै आउँदा खुसी लागेको बताइन् ।

शिविरमा बिरामीको संख्या धेरै भएका कारण पहिलो दिन पालो नपाएपछि बास बसेरै भट्टराईलाई भेटेर उपचार गराएको लामिछानेले बताए । चिकित्सकहरूले गाउँका बिरामीको अवस्था बुझ्दै दुई दिनसम्म निःशुल्क परामर्श पनि दिए । नाक, कान, घाँटी, नसा, पेट, स्त्री, मुटु, मिर्गौलालगायतको एक्सरेसहित जाँच गरे । १५ जनामा आँखाको मोतिया बिन्दुको अपरेसन भयो ।

‘आँखामा सानो समस्या आउँदा पोखरा पुग्नुपर्थ्यो,’ भीमबहादुर विकले भने, ‘अहिले यहीं अपरेसन हुँदा सपनाजस्तै लागेको छ ।’ आँखाको परीक्षण र अपरेसन हिमालय आँखा अस्पताल पोखरा र नेत्रज्योति संघ बागलुङका प्राविधिक टोलीले गरेको थियो ।

ज्येष्ठ नागरिक, महिला, दीर्घरोगी, आँखा, मुटुलगायतको समस्याका बिरामीलाई गाउँमै सेवा दिन आयोजना गरेको शिविरमा अपेक्षा गरेभन्दा धेरै बिरामी आएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए ।

‘यस्ता शिविर हल्लाखल्लामै सीमित हुन्छन् भन्थे,’ पौडेलले भने, ‘यहाँको उपस्थिति देख्दा म चकित भएँ । दुई दिनसम्म पालो कुरेर जँचाए ।’ रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईंले हरेक वर्ष शिविर आयोजना गर्दै आएकोमा अहिलेजस्तो भीड र बिरामीमासन्तुष्टि कहिल्यै नपाएको बताइन् ।

मंगलबार र बुधबार सञ्चालित शिविरमा मुटुरोग विशेषज्ञ भट्टराई, मिर्गौला रोग विशेषज्ञ सन्तोष गुरुङ, आँखा रोग विशेषज्ञ हरिविक्रम अधिकारी, नसा तथा मानसिक रोगका अजितकुमार गुरुङ, स्त्रीरोग विशेषज्ञ जागेश्वर गौतम, पेट तथा छाती रोग विशेषज्ञ विधाननिधि पौडेललगायतको टोलीले बिरामीको उपचार गर्‍यो । साथै नेपाली सेनाको २३ नम्बर वाहिनी बागलुङका चिकित्सकले पनि सहयोग गरे ।

कार्यक्रमको व्यवस्थापन गरेका डा. विनोदबिन्दु शर्माका अनुसार शिविरमा करिब १० लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको छ । ‘हामीले प्रदेश र केन्द्र सरकारको स्वास्थ्य मन्त्रालयबाट ४ लाख बराबरको औषधि ल्याएका थियौं,’ उनले भने, ‘त्यसबाहेक विभिन्न औषधि कम्पनीहरूले सहयोग गरेका छन् ।’

शिविरको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुर्गमका बिरामीको उपचारमा गम्भीर बन्न सरकारले हरेक पालिकामा कम्तीमा १५ बेडको अस्पताल र एक विशेषज्ञ डाक्टरको व्यवस्था गर्न लागेको बताए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्