Logo
|
Wednesday 8th May 2024
Logo

epaper

बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिला बढे



 

मालिका गाउँपालिका-२ दर्लिङकी लिला खड्काले २२ वर्षको उमेरमा पहिलो सन्तान जन्माइन् । २१ वर्षमा विहे गरेकी उनले विहेको वर्षदिन नपुग्दै बच्चा जन्माइन्। पहिलोपटक सन्तान जन्माउँदा उनमा चिन्ता थियो। घरमै सुत्केरी हुनुपर्ने भएकाले सुत्केरी हुने मिति नजिँकिदै गर्दा उनी झन् झन् पीडामा हुन्थिइन्।

तर, गाउँमै बर्थिङ सेन्टर खुलेपछि लिलाको डर हटेको छ। ‘पेटमा बच्चा आउँदा गाउँमै बर्थिङ सेन्टर खुल्यो,उनले भनिन्, ‘ठूलो अस्पताल पुग्नै परेन्।ढुक्‍कसँग बर्थिङ सेन्टरमै छोरी जन्माए।’गत मंसिरमा उनले स्वास्थ्यकर्मीको सल्लाहमा बर्थिङमै शकुसल सन्तान जन्माएको बताइन्।खड्काजस्तै गाउँका धेरै महिला बर्थिङ सेन्टर संचालनमा आएपछि खुसी भएका छन्।

सदरमुकाम तम्घासबाट टाढा रहेका दुर्गमका महिला प्रत्यक्ष लाभान्वित भएका छन्। दुर्गममा बर्थिङ सेन्टर खुलेपछि गर्भवती महिला खुसी छन्।’गाउँमा बर्थिङ सेन्टर खुलेपछि ढुक्क छौं, खड्काले भनिन्, ‘पहिले तमघासमा जानुपथ्र्यो।गाउँमै बर्थिङ सेन्टर खुलेपछि त्यो झन्झट हटेको छ।’ स्वास्थ्य संस्थामा शिशु जन्माउँदा भत्ता पाइने र सुरक्षित गर्भवती हुने भएपछि धेरैको आकर्षण बढ्दै गएको छ।

मालिका गाउँपालिकाले सबै वडामा बर्थिङ सेन्टर स्थापना गरेको छ। यसअघि उपलब्ध गराइएको बजेटमा गाउँपालिकाले नगद एक हजार रुपैयाँ पोषण भत्ता थपिदिएको छ। नियमित गर्भ जाँच गरी बर्थिङ सेन्टरमा बच्चा जन्माउनेले नगद तीन हजार आठ सय रुपैयाँ रकम पाउने गरेको गाउँपालिका अध्यक्ष रितबहादुर थापाले जानकारी गराए। ‘गाउँपालिकालाई हुनेछ।’

चालु आर्थिक वर्षमा अभियान संचालनका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी गराए।९५ प्रतिशत महिला बर्थिङमा सुत्केरी हुनुपर्ने, पाँच प्रतिशत रिफर, शतप्रतिशत गर्भजाँच र टिडी खोप लगाएपछि शून्य होम डेलिभरी भएको घोषणा गरिने उनको भनाइ छ।

उनका अनुसार गाउँपालिकाका हवाङदी, अर्खावाङ र घमिरका महिला बर्थिङ सेन्टरमै सन्तान जन्माउने गरेका छन्। बर्थिङमा बच्चा जन्माउनेलाई गाउँपालिकाले बर्थ सर्टिफिकेट समेत उपलब्ध गराउँछ।

बर्थिङ सेन्टरसम्म आवतजावतका लागि गर्भवतीलाई गाउँपालिकाले निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाएको छ। यसले अझ बढी महिलालाई स्वास्थ्य संस्थामा पुगेरै सुरक्षित रुपमा बच्चा जन्माउनका लागि उत्प्रेरित गराएको छ।

सदरमुकामबाट दुर्गममा भएपनि गाउँपालिकाले थालेको अभियानले गाउँका महिला सुरक्षित भएको महशुस गरेका छन्। गर्भवती महिलाको घरमा गर्भवतीको लोगोसहित हरियो झण्डा, सन्देशमूलक झण्डा राखिएको स्वास्थ्य संयोजक बसन्त भुषालले सुनाए। उनका अनुसार गत वर्षको तुलनामा बर्थिङमा बच्चा जन्माउनेको संख्या दोब्बरले वृद्धि भएको छ। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्