Logo
|
Wednesday 8th May 2024
Logo

epaper

जागिर सरकारी, काम निजीमा



कोसी अञ्चल अस्पताल प्याथोलोजी विभागका कर्मचारीले निजी प्याथोलोजीमा काम गर्ने गरेका छन्। उनीहरू अञ्चल अस्पतालमा कार्यरत चिकित्सकझैं जागिर सरकारी अस्पतालमा भए पनि काम निजी प्याथोलोजीमा गर्छन्। अस्पतालमा काम गर्ने समयावधि उनीहरूले निजीमा दिने गरेका छन्।

अञ्चल अस्पतालको प्याथोलोजी विभागका इन्चार्ज मेडिकल टेक्नोलोजिस्ट जयवेन्द्र यादव र ल्याब टेक्निसियन राजेन्द्रप्रसाद साहले अस्पतालको प्रवेशद्वारदेखि ५० मिटरभित्रै निजी प्याथोलोजी खोलेर काम गर्ने गरेका छन्।

इन्चार्ज यादवले कोसी अस्पतालको गेट एड्भान्स ल्याब सञ्चालन गर्नुका साथै जनआन्दोलन चोकस्थित म्याक्स इन्टरनेसनल अस्पतालमा समेत प्याथोलोजी सञ्चालन गरेका छन्। त्यस्तै साहले आइस्मा फार्मेसीभित्र प्याथोलोजी सञ्चालन गरेका छन्। पुरानो र अनुभवी दुवै जनाले सञ्चालन गरेको ल्याबमा एक सहयोगी ल्याब असिन्टेट राखेर स्याम्पल (परीक्षणका लागि जम्मा गरिएको रगत, दिसा, पिसाबलगायत) संकल्न भएपछि निजी प्याथोलोजीमा आएर परीक्षण गर्ने गरेको हो। उनीहरूको प्याथोलोजीमा कार्यरत सहयोगीले संकल्न गरेको स्याम्पल अस्पतालभित्रै लगेर दिँदा अस्पतालको उपकरणले परीक्षण गरेर दिने गरेको ल्याबका एक कर्मचारीले बताए।

कर्मचारीको काम बिहान ९ देखि २ बजेसम्म कार्यकाल निर्धारण गरिएको छ। तर, बीचमै निजीमा जाने गरेको र अस्पतालमा बसेका बेला निजीमा आएको परीक्षणको काम गर्ने गरेका छन्। तलब अस्पतालबाट लिने गरे पनि कर्मचारीले काम भने निजीमा गर्ने गरेका छन्।

‘विभागका प्रमुख नै अस्पतालको निर्धारित समयमा निजीमा काम गर्छन् भने अन्य कर्मचारीले त गर्ने नै भए नि !’ प्याथोलोजी विभागकै एक कर्मचारीले भने। ‘सबै सिनियर कर्मचारी निजीमा काम गर्न आकर्षण भएका छन्, उनले भने, ‘कलेक्सन गरिएको स्याम्पल भोलेन्टियर भई काम गर्ने जुनियरले परीक्षण गर्छन्। र, रिपोर्टमा हस्ताक्षर पनि कतिपयमा ती जुनियरकै हुन्छ। जुन गैरकानुनी हो।’

प्याथोलोजी विभागमा काम गर्ने कर्मचारीले बिहानको ९ बजेदेखि दिउँसो २ बजेसम्म काम गर्नुपर्ने हो तर त्यहाँ कार्यरत कर्मचारी १० बजे आउने र हाजिरी गरेर निजीको काम गर्न उद्यत उनीहरू बीचमै बाहिरिने गरेका छन्।

बिहान १० बजेसम्म ती कर्मचारी आफ्नै लगानीमा सञ्चालन गरेका निजी प्याथोलोजीमा काम गर्छन्। कर्मचारीको अनुशासविहीन कार्य रोक्न मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोषण पोखरेलले अस्पताल समय बाहिर गएर काम नगर्न अस्पतालका सबै कर्मचारीलाई पत्रचार गरेको बताए। उनले इमान नभएका कर्मचारी बाहिर जाने गरेको हुन सक्ने बताए। भने, ‘उजुरी आए स्पष्टीकरण सोधेर माथि पठाउनेछौं।’ उनले अस्पताल समय बाहिर गएर काम गर्ने कर्मचारीलाई पब्लिकले कुनै अवरुद्ध गरे अस्पताल जिम्मेवारी नहुने जानकारी दिए।

प्रमुख यादवले सञ्चालन गरेको एड्भान्स ल्याबमा चिकित्सकसमेत राखेका छन्। बिहान ७ देखि बेलुका ७ बजेसम्म सेवा दिँदै आएका छन्।

अञ्चल अस्पतालको प्याथोलोजी विभागका इन्चार्ज मेडिकल टेक्नोलोजिस्ट जयवेन्द्र यादवले टाइम पास गर्न सो ल्याब सञ्चालन गरेको बताए। उनले २ बजेपछि कहाँ जाने भनेर ल्याब सञ्चालन गरेको सुनाए। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्