Logo
|
Thursday 9th May 2024
Logo

epaper

मरिणका चार वडामा स्वास्थ्य चौकी, भत्ता ४ हजार



 

सिन्धुलीको मरिण गाउँपालिकाले वर्षौंदेखि स्वास्थ्य सुविधा नपुगेका वडामा स्वास्थ्य चौकी स्थापना गरेर निशुल्क औषधिसहितको सेवा दिँदै आएको छ। केन्द्रीय सरकारको मुख ताक्दा वर्षौंसम्म चौकी स्थापना नभएपछि गाउँपालिका आफैंले बजेटको व्यवस्थापन गरेर चारवटा वडामा स्वास्थ्य सेवा प्रवाह गरेको उक्त गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए।

‘आदीवासी जनजातीको बाहुल्यता रहेको मरिण गाउँपालिका- १ को कपिलाकोट, वडा नम्बर ३ को बरुण, वडा नम्बर ४ को खयरसाल र वडा नम्बर ७ को जयमंगलमा स्वास्थ्य चौकी भवनको निर्माण र चिकित्सकको व्यवस्थापन गरी सेवा आरम्भ गरिएको छ।

यी वडामा गाउँपालिकाले ४८ लाख रुपैयाँ बजेट व्यवस्थापन गरी स्वास्थ्य चौकी भवन निर्माण गरेको हो। एउटा वडामा १२ लाख रुपैयाँका दरले स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो।आवश्यक पर्ने फर्नीचर र स्वास्थ्य सामाग्री पनि गाउँपालिकाले नै  खरिद गरेर एक अहेव, एक अनमी र एकजना कार्यालय सहयोगी गरी तीनजनाको दरबन्दीसमेतको व्यवस्था गरेको छ।

२० लाखको निशुल्क औषधि

गाउँपालिकाले आफूले स्थापना गरेका स्वास्थ्य चौकीमा २२ लाख रुपैयाँका निशुल्क औषधिसमेत वितरण गरेको जनाएको छ । विपन्न, वृद्धवृद्धा, अपाङ्ग र द्वन्दव पीडितलाई नेपाल सरकारले निशुल्क उपलब्ध गराउँदै औषधिसँगै अरु औषधि पनि वितरण गरिँदै आएको मरिण गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक मधु लाखेले जानकारी दिए।

‘गत आर्थिक वर्षमा ७ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँको औषधि गाउँपालिकाले आफ्नै श्रोतबाट खरिद गरी स्थानीयलाई वितरण गरेको हो। गाउँपालिकाले स्वास्थ्य चौकीबाट सुगर, प्रेसर, दमलगायतका रोगहरुको पहिचान गरी ८ प्रकारका औषधि खरिद गरी निशुल्क परीक्षणसहित निशुल्क औषधि उपलब्ध गराएको छ।

स्वयमसेविकालाई २० हजार प्रोत्साहन

मरिण गाउँपालिकाले पहिलो पटक ३० वर्षसम्म काम गरेका जेष्ठ महिला स्वास्थ्य स्वयमसेविकालाई २० हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरेको छ। ६० वर्ष पूरा नकटेका महिला स्वास्थ्य स्वयसेविकालाई उपदानजस्तै प्रतिव्यक्ति २० हजार रुपैयाँ नगदसहित कदरपत्रले सम्मान गर्ने व्यवस्था गरेको छ।अहिलेसम्म गाउँपालिकाका ८ जना जेष्ठ महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन रकम प्रदान गरिएको छ।

भत्ता ४ हजार 
मरिण गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन गर्न गाउँपालिकाले ४ हजार रुपैयाँ मासिक भत्ता दिने भएको छ। यस अघि नेपाल सरकारले दिँदै आएको भत्तामा एक हजार थप गरेर महिनामा ३ हजार रकम दिँदै आएको गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को बजेटमा सरकारले एक हजार भत्ता बढाएर ३ हजार दिने घोषणा गरेसँगै अब उनीहरुले ४ हजार रुपैयाँ पाउने भएका छन्।

पोशाक भत्तास्वरुप वर्षमा ७ हजार ५ सय र सूचना खर्चवाफत महिनामा दुई हजार ५ सय रुपैयाँका दरले मरिण गाउँपालिकाले छुट्टै रकम उपलब्ध गराउँदै आएको अध्यक्ष बम्जनले उल्लेख गरे। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्