Logo
|
Saturday 20th April 2024
Logo

epaper

आयुर्वेदिक औषधिमा आकर्षण बढ्दो



 रामपुर नगरपालिका–५ मटेरी बस्ने हरिकला रेग्मीले मेडिकलका औषधिमा धेरै रकम खर्च गर्नुभयो । उहाँलाई लामो समयदेखि ग्याष्ट्रिक, पेट दुख्ने, खाना खान पटक्कै मन नलाग्ने समस्याले पिरोलेको थियो ।

यी समस्याका लागि पटक पटक निजी मेडिकल, अस्पतालमा धाउनुभयो, धेरै रकम खर्चिनुभयो, तर बेथा पीडा भने निको होलाभन्दा उस्तै रह्यो । “सञ्चो होला भनेर मेडिकलमा गएर औषधि ल्याएर खान थालेको झन बेथा बल्झिन थाल्यो”, उहाँले भन्नुभयो । छ महीना अघिदेखि उहाँले आयुर्वेदिक औषधि नियमित रुपमा सेवन गर्दै आउनुभएको छ ।

“आयुर्वेदिक औषधालयमा गएर स्वास्थ्यकर्मीसँग जाँच गराएर नियमित औषधि खाएपछि बेथा ठीक हुँदै गएको छ, मेडिकलको औषधि प्रयोग गर्न छाडे”, रेग्मीले भन्नुभयो । उहाँले अहिले बेला बेलामा आयुर्वेदिक औषधालय गएर स्वास्थ्य जाँच, औषधि खाने गर्नुहुन्छ । देवका ढकाल पनि पेट दुख्ने समस्याले धेरै ठाउँमा उपचार गराउन पुग्नुभयो । मेडिकलको औषधि सेवनले निको होलाभन्दा झन बेथा बढ्दै जान थालेपछि उहाँ पनि आयुर्वेदिक औषधालय अहिले धाउन थाल्नुभएको छ ।

“आयुर्वेदिक औषधि खाएर शरीरलाई ठीक पनि भएको छ, अहिले त तन्दरुस्त छु, पेट दुख्ने समस्या पनि कम हुँदै गएको छ, औषधोपचार सेवा सबै निःशुल्क पाइने रहेछ”, उहाँले भन्नुभयो । अहिले पाल्पाको रामपुर आयुर्वेदिक औषधालयमा सेवा लिनेको चाप बढ्दो छ । पेट, ग्याष्ट्रिक, खाना मन नलाग्ने, गानोगोलाजस्ता समस्या लिएर बिरामी अस्पतालमा जाने गरेको पाइएको छ ।

रामपुर औषाधालयमा दैनिक २५ देखि ३५ सम्म बिरामीले सेवा लिँदै आइरहेको वरिष्ठ कविराज चेमनप्रकाश पोखरेलले बताउनुभयो । उहाँका अनुसार एक महीनामा ३५० को हाराहारीमा बिरामीले सेवा लिएका छन् । नेपाल सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यस औषधालयबाट २३ प्रकारका औषधि पाइन्छ ।

सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् । यस औषधालयमा सेवा लिनेमध्ये बढी महिला छन् । विभिन्न जडीबुटीबाट उत्पादित औषधि भएकाले पनि हिजोआज आयुर्वेदिक औषधि प्रयोगकर्ता बढ्दै गएका हुन् ।

पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधवप्रसाद बस्यालले तानसेनमा रहेको कार्यालय र विभिन्न क्लिनिकबाट जिल्लभरमा चालू आर्थिक वर्षमा ३३ हजार ६२३ ले आयुर्वेदिक सेवा लिएको जानकारी दिनुभयो । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजितलगायतका विभिन्न वनस्पति वस्तु मिसाएर बनाइएको औषधि स्वास्थ्यका लागि हित मानिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्