Logo
|
Sunday 19th May 2024
Logo

epaper

थाहामा नसर्ने रोगबाट १२ प्रतिशत पीडित



 मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको कुल जनसंख्याको १२ प्रतिशतभन्दा बढी स्थानीयबासी नसर्ने रोगबाट पीडित रहेको पाइएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा गरिएको अध्ययनका क्रममा थाहा नगरपालिकामा करिब ४ हजार ८ सय जना विभिन्न किसिमका नसर्ने रोगबाट पीडित रहेका पाइएको हो । ती रोगबाट पीडितमध्ये केहीको अवस्था चिन्ताजन रहेको अध्ययनले देखाएको छ ।

‘प्रतिष्ठानले थाहा नपाको घरघरमा गई स्वास्थ्य परीक्षण गरी उक्त तथ्यांक संकलन गरेको हो,’ थाहा नपास्थित प्राथमिक स्वास्थ्य केन्द्र पालुङका स्वास्थ्यकर्मी चिनियाँ लामाले भने, ‘नसर्ने रोगमध्येमा सबैभन्दा बढी दम अर्थात् श्वासप्रश्वासका रोगीहरू छन ।’

अन्य रोगहरूमा मधुमेह, उच्च रक्तचाप, पक्षाघात, मुटुका रोग, क्यान्सर, थाइराइडलगायतका छन् । उपचार गराउन स्वास्थ्य केन्द्रमा आउन नसक्ने रोगीहरूलाई प्रतिष्ठानको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्रले घरघरमा गएर उपचार दिने गरेको छ । २ जनाले तीन महिना लगाएर उक्त तथ्यांक संकलन गरेको हो ।

थाहा नगरपालिकाले आगामी आवदेखि प्रतिष्ठानको सहकार्यमा ६० वर्षदेखि माथिका रोगीहरूलाई घरघर गएर उपचार सेवा उपलब्ध गराउने नीति लिएको छ । नगरपालिकामा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले प्रतिष्ठानको सहयोगमा मासिक रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य केन्द्रसँग भिडियो एक्सरे छ तर रेडियोलजिस्ट नभएका कारणले महिनाको एक दिन प्रतिष्ठानवाट रेडियोलजिस्ट आएर उक्त सेवा दिने गरेका छन् । उक्त सेवा लिन थाहा नपाका मासिक ८० देखि सय जनासम्म सेवाग्राहीहरू आउने गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा वृद्धवृद्धा रोगीहरूलाई छुट्टै राखेर उपचार गराउन जिआरर्टिक वार्डको व्यवस्था गर्न लागेको छ ।

१२ वडामा विभाजित थाहा नगरपालिकामा रहेको उक्त केन्द्रलाई १५ शय्याको अस्पतालको रूपमा परिणत गर्न थाहा नपाका मेयर लवशेर विष्ट कस्सिएका छन् । ‘१५ शय्याको अस्पताल सञ्चालन गर्न भौतिक पूर्वाधार तयार रहेको छ तर नियमित आर्थिक स्रोत अभावले जनशक्ति राख्न सकेका छैनौं,’ केन्द्रका डा. प्रवीण पाठकले भने, ‘स्वास्थ्य मन्त्रालयले नै अस्पताल सञ्चालन गर्न सहयोग गर्नुपर्ने देखिन्छ ।’

थाहा नपाका जनप्रतिनिधिहरू १५ शय्याको अस्पताल सञ्चालन गर्न हतारिएका छन् तर वजेट अभावले समस्या भएको नपाले जनाएको छ । ‘त्रिभुवन राजपथसँग जोडिएको स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालको रूपमा परिणत गर्नुपर्ने आवश्यकता छ,’ थाहा नपाका मेयर विष्टले भने, ‘जटिल रोगबाहेक अन्य रोगका यहीँ नै उपचार हुने अवस्था सिर्जना गर्नुपर्ने छ ।’ उक्त स्वास्थ्य केन्द्रमा रहेको प्रयोगशालामा रगत, दिसा, पिसाब नि:शुल्क रूपमा विगतदेखि नै परीक्षण गरिन्छ । यो व्यवस्था थाहा नपाले मिलाएको हो ।

उक्त केन्द्रमा दैनिक रूपमा १२ देखि १५ जना गर्भवतीहरू सुत्केरी हुने गरेका छन् । जटिल खालको शल्यक्रिया गर्नुपर्नेबाहेक सबै खालका सुत्केरीहरू यही गराइन्छ । करिब ५० हजारको हाराहारीमा थाहा नपामा जनसंख्या रहेको छ तर अस्पताल भने एउटा पनि छैन । यही एउटा स्वास्थ्य केन्द्रले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्