Logo
|
Saturday 18th May 2024
Logo

epaper

बालिकाको मृत्युपछि अस्पतालमा तनाव



डोटीको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा शनिबार ६ महिने बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ । जिल्लाको शिखर नगरपालिका १ कपल्लेकी टीका ऐरकी ६ महीने छोरी राधिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तले जानकारी दिए ।

केही दिनअघि निमोनियाँ ज्वरो आएपछि बालिकालाई उपचारका लागि शनिबार नै अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा नाराबाजी गरेको प्रहरीको भनाइ छ ।

सुजङ अस्पतालका स्वास्थ्यकर्मी अर्जुन बलायरले भने उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गरेका छन् । ‘बालिकालाई १ सय ४ डिग्री निमोनियाँ ज्वरोले सताएको थियो,’ उनले भने, ‘हामीले यहाँ उपचार सम्भव छैन, बाहिर लैजानुस् भनेका थियौं । तर परिवारले लगेनन्, अहिले ज्यान गएपछि दोष हामीलाई दिन थालेका छन् ।’

मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । चिकित्सकको लापरबाहीका कारण बालिकाको ज्यान गएको भन्दै मृतकका आफन्तले क्षतिपूर्ति मागेका छन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्