Logo
|
Sunday 19th May 2024
Logo

epaper

डाक्टर बिदा बस्दा रोकिन्छ सेवा



 दमको समस्या बढेपछि ८० वर्षीया सोमकुमारी पाण्डे शुक्रबार भरतपुर अस्पताल भर्ना भइन् । मुटुमा समस्या भए नभएको पत्ता लगाउन इको गर्नुपर्ने भयो । चिकित्सकले शनिबार इको गर्न भने । तर उनले सोमबार बिहानसम्म उक्त सरकारी अस्पतालमा त्यो सुविधा पाइनन् । चिकित्सक बिदामा बसेका कारण सेवा बन्द थियो । अन्ततः उनले निजी अस्पतालमा इको गर्नुपर्‍यो ।

अस्पतालमा इको गर्ने चिकित्सक एक जना मात्रै छन् । ‘शनिबार सेवा बन्द हुन्छ । आइतबार बिहानै जाँदा डाक्टर बिदामा बसेको सूचना टाँसिएको थियो । सोमबार जाँदा २० गतेको मिति राखेर अर्को सूचना टाँसिएछ,’ सोमकुमारीका छोरा दीपक पाण्डेले भने, ‘जसमा आइतबार र सोमबार डाक्टर बिदामा बसेको उल्लेख थियो । अघिल्लो दिनको सूचनामा भने त्यो जानकारी थिएन ।’

मुटुको भल्भ एवं च्याम्बरहरूको अवस्था के छ भन्ने पत्ता लगाउन इको गर्नुपर्छ । सरकारी अस्पतालमा इको गर्न नपाउने भएपछि सोमकुमारीलाई निजी अस्पतालमा लैजानुपर्ने बाध्यता आयो । भरतपुर अस्पतालमा एक हजार दुई सय रुपैयाँमा इको हुन्थ्यो । निजी अस्पतालमा एक हजार आठ सय रुपैयाँ तिर्नुपर्‍यो । सरकारी अस्पतालमा इको गर्ने चिकित्सक डा. मणिप्रसाद गौतमले आफू बिदामा बसेका कारण मंगलबार मात्रै आउन सक्ने बताए ।

एक जनाको भरमा सेवा

भरतपुर अस्पतालको इको कार्डियोग्राफी सेवा सञ्चालन गर्न वैशाखसम्म दुई चिकित्सक थिए । डा. केशव आचार्य अवकाश लिने तर्खरमा भएका कारण गएको वैशाखदेखि बिदामा छन् । ‘खासमा मेरो नियुक्ति यो अस्पतालमा कार्डियोलोजिस्ट (मुटुरोग विज्ञ) का रूपमा भएको होइन । म फिजिसियन हुँ । तर पढेको र जानेको हुनाले यो काम गर्दै आएको छु,’ डा. गौतमले भने ।

दुई जना मात्रै डाक्टर भएको युनिटमा मुख्य चिकित्सक लामो बिदामा बसेका बेला अर्का चिकित्सक पनि बिदामा बस्दा सेवाग्राही मर्कामा छन् । ‘सेवाग्राहीको चाप छ । एक दिनमा २७ जनासम्मको इको गर्नुपरेको छ । तैपनि कुनै बेला बिदा बस्नुपर्ने बाध्यता हुन्छ,’ डा. उनले भने । भरतपुर अस्पतालमा एक जना चिकित्सकको भरमा चलेको यो युनिट मात्रै छैन । न्युरो सर्जरी विभागमा पनि डा. गुणराज पौडेल बिदा बसे शल्यक्रिया हुन नसक्ने अस्पतालका सूचना अधिकारी लीला पौडेलको भनाइ छ । पित्तथैलीको पत्थरीलाई पाइपबाट निकाल्ने ईआरसीपी सेवाको अवस्था पनि उस्तै छ । डा. आशिष पुनको भरले मात्रै यो सेवा चलाउनुपरेको छ । मनोचिकित्सा विभागमा पनि विशेषज्ञ चिकित्सक एक जना मात्रै छन् । भरतपुर जस्तो पुरानो र ठूलो अस्पतालका महत्त्वपूर्ण विभाग र युनिटमा पर्याप्त चिकित्सक छैनन् ।

जनशक्ति कम

२०२० सालमा महेन्द्र आदर्श चिकित्सालयका नामबाट सेवा थालेको अस्पतालमा ५ सय ४० शय्या छन् । सरकारले भने १ सस ५० शय्या बराबरको दरबन्दी मात्रै दिएको छ । अरू खर्च अस्पताल विकास समितिले बेहोर्छ । गत फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्पताललाई केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो ।

बहिरंग विभागमा दैनिक १५ सयको हाराहारीमा बिरामी आउने अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । ‘केन्द्रीय अस्पताल बनाउने घोषणा भए पनि दरबन्दी तोकिएको छैन,’ उनले भने, ‘अहिले सरकारी दरबन्दी निकै कम छ । के–कति दरबन्दी कायम गर्ने भन्ने विषयमा सर्वेक्षण गरेर प्रतिवेदन तयार पार्नुपर्छ ।’

अस्पतालले सरकारलाई दरबन्दी निर्धारण गर्न ओएनएम सर्भेका लागि अनुरोध गरेको उनले बताए । मन्त्रालयका अधिकारी आएर सर्भे गर्नेछन् । ‘त्यसपछि कार्डियोलोजी, न्युरो र ईआरसीपी जस्ता युनिट मात्रै नभई समग्र अस्पताललाई नै राम्रोसँग चलाउन आवश्यक जनशक्ति कति हो भन्ने पत्ता लाग्छ,’ डा. तिवारीले भने, ‘त्यहीअनुसार चिकित्सक राखेर सेवाग्राहीलाई सेवा उपलब्ध गराउँछौं ।’ कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्