Logo
|
Monday 6th May 2024
Logo

epaper

बीपी प्रतिष्ठानमा भ्रष्टाचार : पूर्वउपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा



बीपी प्रतिष्ठानमा भ्रष्टाचार : पूर्वउपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा
 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास (बीपी दास)विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ।

दाससहित आठ जनाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो। उनीहरूले बदनियतपूर्वक आफूलाई फाइदा र प्रतिष्ठानलाई हानिनोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए। उनका अनुसार दासविरुद्ध ४ करोड ८ लाख ९८ हजार बिगो कायम गरिएको छ। तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हाविरुद्ध ३ करोड ७५ लाख ३० हजार, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापाविरुद्ध १ करोड ९६ लाख, रजिस्ट्रार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार बिगो मागदाबी गरिएको छ। उनीहरूविरुद्ध ६ वर्षसम्म कैद र बिगो जफतको मागदाबी अख्तियारले गरेको छ।

लेखा प्रमुख दिनेशराज दाहालले २ करोड ३४ लाख ८१ हजार, नायब प्रबन्धक अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको आरोप लागेको छ। उनीहरूविरुद्ध तीन वर्षसम्म कैद र बिगो जफतको माग अख्तियारले गरेको छ। उपकरण सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्रालि र बायोमेड इन्टरनेसनलका प्रोप्राइटर चेतन अग्रवाल १ करोड ४ लाख, उपकरण सप्लायर्स सर्विकेम डिस्टिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालले ६० लाख ३७ हजार रकम भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। उनीहरूविरुद्ध दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना गरी बिगो जफतको माग गरिएको छ।

विभिन्न मितिमा भएका वस्तु तथा सेवा खरिद सम्बन्धमा गरिएको छानबिनबाट भ्रष्टाचार पुष्टि भएको अख्तियार प्रवक्ता कोइरालाले बताए। अख्तियारले हालै प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो।

घुससहित नासु पक्राउ

काठमाडौं महानगरपालिकाका नायबसुब्बा कृष्णप्रसाद सोती १ लाख ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। सामाजिक विकास विभागमा रहेका उनले सेवाग्राहीसँग रकम भुक्तानीबापत घुस लिएका थिए। उनलाई कार्यालय परिसर बबरमहलबाट रंगेहात नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कोइरालाले बताए।

यस्तै, अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तव र इन्जिनियर ग्रिष्मा ठगुन्नाविरुद्ध मुद्दा चलाएको छ। उनीहरूले चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको बिल फरफारक गराइदिने प्रयोजनका लागि २ लाख घुस लिएको अख्तियारले जनाएको छ। अख्तियारको नियन्त्रणमा रहेका उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा चलाइएको हो।

घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका खरिदार नीता शर्माविरुद्ध पनि मुद्दा परेको छ। उनले खरिद भएको सामानको भुक्तानी प्रयोजनका लागि कमिसनबापत सेवाग्राहीसँग ७० हजार घुस लिएकी थिइन्। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्