अवैध औषधिले ज्यान जोखिममा
केही दिनअघि जिल्ला अस्पतालमा एक महिला उपचारका लागि आइन् । उनी अन्तिम अवस्थामा अस्पताल पुगेकी थिइन् । शरीरको हेमोग्लोबिनको मात्र ३ मा झरेको अवस्थामा उनको उपचार सुरु गरियो । शरीरमा रगतको मात्रा थिएन ।
अनेक उपाय गरेपछि उनको बाँच्ने अवस्था बन्यो । ४ पिन्ट रगत चढाएर एक साताको उपचारपछि उनी घर फर्किइन् । अवैध गर्भपतन गर्दा उनको ज्यान जोखिममा परेको हो ।
१२ साता बढीको गर्भपतनपछि अत्याधिक रक्तश्राव हुँदा मात्रै ती महिलालाई अस्पताल पुर्याइएको थियो । विना कुनै इजाजत तथा तालिम नलिएका स्वास्थ्यकर्मीले अवैध रुपमा गर्भपतन गराउने र जथाभावी औषधि खुवाउँदा ज्यान जोखिममा परेको हो । अस्पतालका चिकित्सक तथा नर्सले हरेक दिन यसैगरी अवैध गर्भपतन गरी समस्यामा परेकाको उपचार गर्छन् । लुकीचोरी ल्याइएको औषधि जथाभावी खाँदा र ख्वाइँदा धेरै महिलाको स्वास्थ्य समस्यामा परिरहेको चिकित्सकको भनाइ छ ।
विभिन्न औषधि पसलबाट अवैधानिक रुपमा गर्भपतनको औषधि बिक्री भइरहेको छ । ‘यो समस्या विकराल छ,’ डा. अनुपमंगल समालले भने, ‘हरेक दिन कुनै न कुनै त्यस्ता व्यक्ति आइरहेका हुन्छन् ।’ अस्पतालमा आउने समस्याभन्दा पनि मानिसको जीवनसँग ठट्टा गर्ने गैरकानुनी व्यापार भइरहेकोमा डा. समालको चित्त दुखाइ छ ।
गर्भपतनको औषधि जसले, जतिखेर र जो कसैलाई बेच्न नपाउने भए पनि खुल्मखुला त्यसको व्यापार गर्दा महिला समस्यामा परेको उनी बताउँछन् । ‘कतिपय थाहा नपाउने महिलाले पनि समस्या भोगेको हामीले पाएका छौं, कतिपय अवस्थामा पढेलेखा महिला पनि त्यस्तो समस्या भोगेर अस्पताल आएका छन्,’ उनले भने । प्रमाणित प्रेस्किप्सनबिना गर्भपतनको औषधि बिक्री गर्न नपाइने उनले बताए । नियामक निकायबाट नियमन नहुँदा जथाभावी बिक्री भइरहेको र त्यसले महिलाको स्वास्थ्यमा असर पारिरहेको डा. समालले बताए ।
स्वीकृति प्राप्त स्वास्थ्य संस्था, सूचीकृत नर्स र चिकित्सकलाई मात्रै गर्भपतन गराउने अधिकार छ । त्यो पनि अवस्था हेरेर मात्रै तर जिल्लाका विभिन्न ठाउँमा भने हेल्थ असिस्टेन्ट, तालिम नलिएका स्टाफ नर्स, अहेब तथा अनमीसमेतले अवैध रुपमा गर्भपतन गराइरहेका छन् । जिल्ला अस्पताल र चौरजहारी अस्पताललाई मात्रै सुरक्षित तथा वैधानिक गर्भपतन गराउने अनुमति छ ।