Logo
|
Saturday 4th May 2024
Logo

epaper

किन अझै नियन्त्रणमा आएन डेंगु ?



मोरङ र सुनसरीमा डेंगु संक्रमण भएको २ महिनाभन्दा बढी भइसक्दा पनि नियन्त्रण हुनुको साटो अझै फैलँदै गएको छ। एक साताअघि मोरङमा ५५ जनामा देखिएको डेंगु संक्रमण बढेर ६८ पुगेको छ भने सुनसरीको इटहरीमा नै २४ जनामा डेंगु संक्रमण देखा परेको छ। धरानमा घरैपिच्छे डेंगु संक्रमित छन्। तर तीनै तहका सरकारले उपचार र नियन्त्रणमा आपसी समन्वय नगर्दा डेंगुको प्रकोप साम्य हुनुको साटो महामारी बन्न लागेको छ।

मोरङका १७ मध्ये ९ स्थानीय तहमा डेंगुका बिरामी फेला परेका छन्। सबैभन्दा बढी केराबारी गाउँपालिकामा २६ जना संक्रमित भेटिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उर्लाबारी नगरपालिकामा १९, विराटनगर महानगरपालिकामा ९, सुन्दरहरैंचा नगरपालिकामा ५, मिक्लाजुङ गाउँपालिकामा ३, ग्रामथान गाउँपालिका र बेलबारी नगरपालिकामा २÷२ तथा पथरीशनिश्चरे नगरपालिका र कटहरी गाउँपालिकामा १÷१ जना डेंगुका बिरामी छन्।

सुनसरीको इटहरी अस्पतालमा मात्रै ८५ जनाले डेंगुको निःशुल्क परीक्षण गराएकोमा २४ जनामा संक्रमण फेला परेको अस्पतालका हेल्थ असिस्टेन्ट रामकुमार धमलाले जानकारी दिए। इटहरीका निजी स्वास्थ्य संस्थामा परीक्षण र उपचार गरिएका डेंगुका बिरामीहरूको संख्यासमेत जोड्दा संक्रमित अझै बढ्ने उनले बताए।

दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नु पर्ने र बिरामीको उपचार गर्नुपर्ने सरोकारवाला निकायबीच समन्वय अभाव देखिएको छ। औषधि आपूर्ति गर्ने प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य संस्थाबीच समन्वय नभएको हो। नियन्त्रणका लागि एकीकृत प्रयास नहुँदा डेंगु नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले सर्वसाधारण आफैंले सावधानी नअपनाउँदा डेंगु फैलन नरोकिएको बताए। खुला भाँडामा सफा पानी पानी राख्दा, त्यस्तो पानी नष्ट नगर्दा र यसको बेवास्ता गर्दा नियन्त्रण गर्न कठिन भइरहेको उनको भनाइ छ।

लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने, औषधि छर्कनेलगायत जनचेतनामूलक कामलाई निरन्तरता दिँदै संक्रमणबाट बच्न घर वरिपरि सरसफाइमा ध्यान दिन सबैसँग आग्रह गरिएको उनले बताए। उनले डेंगु परीक्षण किट अभावले पनि समस्या भएको जानकारी दिए। कोसी र मंगलबारे अस्पताल लगायतका स्वास्थ्य संस्थामा परीक्षण किट नहुँदा परीक्षण नै गर्न नपाइएको उनले बताए।

प्रदेश १ सरकारले भने डेंगुको उपचार र परीक्षण निःशुल्क गरेको छ। निजी स्वास्थ्य संस्थालाई पनि परीक्षणमा ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने नियम लगाएको छ। तर सरकारी स्वास्थ्य संस्थामा परीक्षण किट उपलब्ध गराउन नसक्दा परीक्षण प्रभावित भएको र सर्वसाधारण निजीमा महँगोमा उपचार गराउन बाध्य हुनु परेको बस्नेतले बताए। उनले निजीमा शुल्क तिरेर सर्वसाधारणले परीक्षण गराउनुपर्ने स्थिति रहेको बताए। यसअघि निजीले एक जना बिरामीको परीक्षण गरेको १ हजार ५ सय रुपैयाँसम्म लिएको गुनासो बाहिर आएको थियो।

‘यसअघि स्वास्थ्य विभागबाट पनि ल्याएर उपलब्ध गराइयो। कतिपय ठाउँमा स्थानीय सरकारले पनि किट किनेर परीक्षणमा सघाइरहेका छन्,’ बस्नेतले भने, ‘परीक्षणका केही मापदण्ड बनाएकाले सबै बिरामीको परीक्षण गर्न आवश्यक हुँदैन। शंका लागेकालाई परीक्षण गर्नु पर्ने भए पनि किट अभाव भएकाले समस्या भइरहेको छ।’ धेरै ज्वरो आएका, टाउको दुखेका र लगातार बान्ता भएका बिरामीलाई परीक्षण गर्ने गरिएको उनले सुनाए। बस्नेतले रगत परीक्षण गर्दा डब्लूबीसी ४ हजारभन्दा थोरै र प्लेटलेस १ लाखभन्दा मुनि देखियो भने शंका गरेर डेंगुको परीक्षण गर्ने बताए।अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्