Logo
|
Saturday 4th May 2024
Logo

epaper

धन्न जोगियो मिर्गौला :दिल्लीबाट पीडितको उद्धार



धन्न जोगियो मिर्गौला !

काभ्रे वाङ्थलीका विष्णु खड्काले ख्याल-ख्यालमै भने- ‘मोटरसाइकल चढ्नुपर्ने। मिर्गौला किन्ने कोही छैन ? भन है साथी हो।’ उनले यसो भनेपछि मिर्गौला तस्कर सम्पर्कमा आइहाले। तस्करसँग सम्पर्क गराउनेमध्ये एक थिए, प्रहरीकै सई योगेन्द्रराज थपलिया। उनी सशस्त्र प्रहरी १ नम्बर गणमा कार्यरत थिए। उनले मिर्गौला किन्ने एक व्यक्ति सम्पर्कमा रहेको बताएपछि कुरा गर्न खड्का राजी भए।

थपलियाले प्रहरीकै पूर्वहवल्दार थनितसिंह गुरुङकी दिदीलाई मिर्गौला चाहिएको सुनाए। त्यसबापत ५ लाख रुपैयाँ पाउने आश्वासन दिए। खड्काले उनको कुरा पत्याए। गुरुङ र उनका सहयोगी रमेश कार्कीसँग भारतको दिल्ली जान खड्का तयार भए। उनलाई गुरुङकी दिदी दिल्लीमा उपचाररत रहेको भनिएको थियो। दिल्ली पुग्नुअगावै उनले परिवारसँग सम्पर्क गर्न खोजे तर गुरुङले दिएनन्।

दिल्लीस्थित एक अस्पतालमा मिर्गौला झिक्ने तय भयो। त्यही बेला साउन ११ गते खड्कालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर प्रवक्ता डीएसपी होबिन्द्र बागटीले बताए। महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले भारतीय प्रहरीको समन्वयमा उनलाई उद्धार गरेको हो। घटनामा संलग्न चार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंले मिर्गौला तस्करी गर्न खोजेको आरोपमा सइसहित चार जनालाई पक्राउ गरिएको बताए। खड्कालाई फकाएर दिल्ली पुर्‍याएको आरोपमा पक्राउ पर्नेमा थपलिया, गुरुङ, कार्की र नारायण पराजुली छन्। थपलियालाई जागिरबाट निलम्बन गरिएको छ।

थपलिया पनि मिर्गौला रोगी हुन्। भारतमै उपचार गराएर उनी फर्किएका थिए। उनलाई काकाका छोरोले मिर्गौला दिएका थिए। भारतमा रहँदा पूर्वहवल्दार गुरुङले आफ्नी दिदी मिर्गौलापीडित रहेकाले कोही बेच्ने भए खोजिदिन उनलाई आग्रह गरेका थिए। प्रहरी बयानमा गुरुङकै आग्रहमा खड्काको खोजी गरिदिएको थपलियाले स्वीकार गरेका छन्। ‘पीडित भनिएका खड्काले पनि पैसाको लोभमा मिर्गौला बेच्न खोजेको देखियो’, प्रसाईंले भने, ‘तर, नेपालको सीमा कटाउँदा उनलाई बेहोस पारिएकाले अनुसन्धान गरेका हौैं।’

उनका अनुसार चारै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको छ। ‘खड्काले सुनौली पुगेर परिवारसँग सम्पर्क गराइदिन आग्रह गर्दा जबर्जस्ती गरेपछि मात्रै आफू तस्करको फन्दामा परेको थाहा पाएछन्’, उनले भने, ‘यो धन्दामा अन्यको संलग्नताबारे खोजी गरिरहेका छौं।’

मध्यम परिवारका खड्का बालाजु र सामाखुसीमा होटलमा काम गर्थे। मनमैजुमा उनले साथीहरूसँग मिर्गौला बेचेर भए पनि मोटरसाइकल किन्ने बताएका थिए। उनी सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरी गुहारेका थिए।अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्