Logo
|
Saturday 4th May 2024
Logo

epaper

बीपी प्रतिष्ठानको मातृशिशु भवन निर्माणमा करोडौं भ्रष्टाचार



बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निर्माणधीन मातृशिशु उपचार केन्द्रको भवन निर्माणमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको पाइएको छ।  प्रतिष्ठानको प्रसूति सेवा विस्तार गर्ने योजनाका साथ सुरु गरिएको मातृशिशु उपचार केन्द्रको भवन निर्माणमा प्रतिष्ठानका पूर्व पदाधिकारीहरुले तोकिएभन्दा बढी रकममा ठेक्का लगाई भ्रष्टाचार गरेको पाइएको हो।

बीपी प्रतिष्ठानका तत्कालिन उपकुलपती बलभद्रप्रसाद दास, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र निर्देशक अरविन्द्र सिन्हाको मिलेमतोमा मातृशिशु उपचार केन्द्र भवनको ७६ करोड रुपैयाँ बजेट स्वीकृत गराई २ अर्ब ४६ करोड रुपैयाँमा ठेक्का लगाइएको छ।  भवन निर्माणमा ठूलो रकम भ्रष्टाचार भएको भन्दै स्वास्थ्य मन्त्रालयले छानबिन सुरु गरेपछि भवन निर्माण स्थगित गरिएको छ।

प्रतिष्ठानमा प्रसूति गराउन आउने गर्भवती महिलाले बेड अभावका कारण खाली चौरमा बच्चा जन्माउने, कतिको उपचार अभावमा ज्यान जाने घटना बढ्न थालेपछि प्रतिष्ठानको सिनेट बैठकले ४ सय शै्याको मातृशिशु उपचार केन्द्र बनाउने निर्णय गर्दै ७६ करोड बजेट स्वीकृत गरेको थियो।  तर प्रतिष्ठानका तत्कालिन पदाधिकारीहरुले स्वास्थ्य मन्त्रालयबाट स्वीकृत नगरी सिनेट बैठकको निर्णय विपरित ठूलो रकम आर्थिक चलखेल हुनेगरी गैरकानुनी रुपमा ठेक्का लगाएका थिए।

भवन निर्माणका लागि ठूलो रकम चलखेल गरिएको पाइएपछि तत्कालिन स्वास्थ्यमन्त्री दिपक बोहोराले भवन निर्माणको काम रोक्न निर्देशन दिएका थिए।  प्रतिष्ठानको हाताभित्र निर्माण थालिएको ४ शै्या क्षमताको मातृशिशु स्याहार केन्द्रको ७६ करोड बजेट स्वीकृत गरिएपछि भवनको शिलान्यास तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले गरेका थिए।  अख्तियारले हाल तीनै जना पूर्व पदाधिकारीविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।  छानबिनकै क्रमममा रहेको भन्दै अख्तियारले अनियमिततामा संलग्न पूर्व पदाधिकारीलाई कारबाही अगाडि बढाइएको छैन।

तीनै पूर्व पदाधिकारी हाल निलम्बनमा छन्।  ४ लाख २५ हजार स्क्वायर फिटको चार तले सुविधा सम्पन्न भवन निर्माण गर्न स्थानीय दररेट नराखेर काठमाडौंको महँगो दररेट राख्दै ठेक्का लगाइएको पाइएको छ।  प्रतिष्ठानका निर्देशक गौरीशंकर साहले स्थानीय दररेटभन्दा महँगो दररेटमा ठेक्का लगाएर भवन निर्माणमा करोडौं भ्रष्टाचार भएको बताए।  भवन निर्माणमा अनियमितता गर्नेलाई छानबिन गरी कारबाही गर्नुपर्ने उनले माग गरे।

भवन निर्माणकर्ता रसुवा कन्ट्रक्शनले पूर्व उपकुलपती दासका पालामा ४४ करोड र डा. राजकुमार रौनियार उपकुलपती बनेर आएपछि ३७ करोड गरी जम्मा रकम ८१ करोड भुक्तानी दिएको छ।  २०७३ जेठ १३ गते प्रतिष्ठानका तत्कालिन उपकुलपती दासले ४ सय शै्याको मातृशिशु भवनको डिजाइन, ड्रइङ र दररेटको स्वीकृत गरी टेन्डर आह्वान गरी ठेक्का लगाएका थिए।

निलम्बनमा परेका प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले मातृशिशु उपचार भवनको ठेक्का लगाउँदा सिनेठ बैठकबाट ७६ करोड स्वीकृत गरे पनि डिजाइन परिवर्तन गरी सैद्धान्तिक सहमतिका आधारमा निर्माणको ठेक्का लगाएको बताए।  पहिला तीन तले भवन निर्माण गर्ने गरी ७६ करोडको बजेट स्वीकृत गरिए पनि पछि चारतलाको डिजाइन हुँदा रकम बढाइएको जानकारी दिए।

प्रतिष्ठानमा आर्थिक अनियमितता गर्ने पदाधिकारीहरुलाई कडा कारबाही गर्न सरकारले चासो नदेखाएको प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए।  उनले मातृशिशु भवन निर्माणमा गरिएको भष्ट्रचारको छानबिन गरी दोषिउपर कारबाही गर्नुपर्ने माग गरे।  अख्तियार अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कोइरालाले प्रतिष्ठानको भवन निर्माणमा भएको भ्रष्टाचारका विषयमा छानबिन भइरहेको बताए।  विस्तृत अनुसन्धान सकिएपछि कारबाहीको प्रक्रियामा जाने उनले दाबी गरे। अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्