Logo
|
Thursday 18th April 2024
Logo

epaper

यसरी गरिन्छ आयुर्वेद पञ्चकर्म 



 

आयुर्वेद पञ्चकर्म चिकित्सा पद्धति प्राचीन चिकित्सा पद्धति हो । नेपालमा सरकारी र निजी स्तरबाट आयुर्वेद उपचार प्रद्धति सञ्चालन हुँदै आएको छ । शरीरलाई शुद्ध गरी अर्थात् शरीरभित्रका विकारयुक्त वस्तु बाहिर निकालेर उपचार गरिने भएकाले निरोगी जीवनयापनका लागि यो प्रभावकारी माध्यम हो । रोग पूर्ण रूपमा निर्मूल पार्न र रोग लाग्न नदिन पञ्चकर्म विधि अपनाइन्छ ।

बमन 
यो कफसम्बन्धी रोगको उपचार गर्ने पद्धति हो । शरीरमा भएका विकारयुक्त वस्तुलाई मुखको माध्यमबाट बाहिर निकाल्न यो विधि अपनाइने गरिन्छ । अम्लपित्त, मोटोपना, दम, छालासम्बन्धी रोग एलर्जी आदिको बमन विधिद्वारा उपचार गरिन्छ ।

बमन विधिअनुसार व्यक्तिलाई महबाट बनेको पेय पदार्थ  खुवाएर चारदेखि आठपटकसम्म उल्टी गर्न लगाइन्छ । यो प्रक्रिया अपनाएपछि आराम गर्न र मलमूत्र त्याग गर्न लगाइन्छ । सही ढंगले यो उपचार पद्धति अपनाएमा बिरामीले छाती हलुका भएको महसुस गर्छन् ।

बिरेचन 

बिरेचन एक औषधियुक्त परिष्करण चिकित्सा हो, जसले शरीरबाट पित विषजीवन हटाएर रक्त विषजीवको शुद्धीकरण गर्छ । यस चिकित्साबाट छालाका रोग, जस्तैः ल्युकोडर्मा (छालामा देखिने सेता दाग), सोरियोसिस, दाग, डन्डिफोर, जन्डिस, हेपाटाइटिस, कब्जियत, मोटोपनाजस्ता रोगका लागि सफल उपचार मानिन्छ ।

बस्ती 
बस्ती अर्थात् एनिमालाई पञ्चकर्मको जननी मानिन्छ । यसअन्तर्गत शरीरमा हुने तीनवटा दोष बाथ, पित्त र कफबाट उत्पादित विकार वस्तुलाई मलद्वारबाट बाहिर निकाल्ने गरिन्छ । स्नायुसम्बन्धी रोग, योनी र पाठेघरमा हुने समस्या, मुटु, मिर्गाैलामा पत्थरी, टाउको दुखाइ, ढाड र गर्दनको दुखाइ, मांसपेशीमा ऐठन आदि समस्याका लागि यो उपचार प्रभावकारी हुन्छ ।

नास्य
नास्य नाकको सफाइसम्बन्धी उपचार हो । यसअन्तर्गत टाउको तथा गर्दनवरिपरि जमेको कफ जीवविषलाई सफा गर्ने औषधियुक्त तेललाई नाकमा हालिन्छ । यसपछि उमालेको पानीमा औषधियुक्त जडीबुटीको बाफ लिएर उपचार गरिन्छ । माइग्रेन, पिनास, नाकमा मासु पलाउने, मुख बांगिने समस्याका लागि नास्य उपचार पद्धति अपनाइन्छ ।

रक्तमोक्षण
रगतसम्बन्धी रोगः युरिक एसिड, रक्त नशा सुन्निने, लुतो, सेतो कुष्ठरोग, छाला चिलाउने रोगका लागि रगत शुद्धीकरण गर्ने पद्धति हो । यो चिकित्साअन्तर्गत शरीरबाट रगत बग्न दिएर उपचार गरिन्छ । यस माध्यमद्वारा उपचार गर्दा प्रतिरोधी क्षमतासमेत बलियो हुन्छ ।(वरिष्ठ कन्सलटेन्ट आयुर्वेदविज्ञ डा. बाबुराजा अमात्य नेपाल सरकार आयुर्वेद डिपार्टमेन्टमा कार्यरत हुनुहुन्छ । )

 

प्रतिक्रिया दिनुहोस्