Logo
|
Sunday 22nd December 2024
Logo

epaper

सरकारी अस्पतालका आकस्मिक कक्षहरुको अवस्थाबारे जनस्वास्थ्य सरोकारको स्थलगत रिपोर्ट

पुरुषोत्तम घिमिरे



जनस्वास्थ्य सरोकार, २५ असोज २०७६ । अत्यन्त नाजुक बिरामीहरुलाई उपचारका लागि आकस्मिक कक्षमा भर्ना गरिन्छ । तत्काल उपचार नपाए उनीहरुको मृत्यु हुनसक्छ । यद्यपी आकस्मिक कक्ष अत्यन्तै गम्भीर र अकस्मात् आइपर्ने स्वास्थ्य समस्या समाधान गर्ने विभाग हो । त्यसैले अस्पतालको आकस्मिक कक्ष सुविधा सम्पन्न हुनुपर्छ । यसका लागि निश्चित मापदण्ड निर्धारण गरिएको छ । तर अन्य अस्पतालको कुरै नगरौँ, नाम चलेका नेपालका ठूला सरकारी अस्पतालका आकस्मिक विभाग मापदण्ड विपरित सञ्चालन भइरहेका छन् । सरकारी अस्पतालका आकस्मिक कक्षहरुको अवस्थाबारे जनस्वास्थ्य सरोकारको स्थलगत रिपोर्ट ।

दृश्य नम्बर १

बिरामीहरुको खचाखच छ । कतिपय बिरामीहरु जीवन मरणको दोसाँधमा छटपटाइरहेका छन् । कतिको अवस्था चिन्ताजनक छ । सबै शैय्याहरु भरिभराउ छन् । एकातिर चिकित्सकहरु सिकिस्त बिरामीहरुको उपचारमा व्यस्त छन् भने अर्कोतिर बिरामीका आफन्तहरु के होला कसो होला भन्ने चिन्तित मुद्रामा देखिन्छन् । उनीहरु आवश्यक औषधि एवं ल्याव तथा एक्स–रे रिपोर्टका लागि दौडधुप गरिहेको देखिन्छ । शैय्याको अभाव छ । केही बिरामीका आफन्तहरु अर्को अस्पताल लैजाने तरखरमा देखिन्छन् । कतिपय बिरामी वेडको पखाईमा छन् । जनस्वास्थ्य सरोकारको टोली वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा देखिएको दृश्य हो यो ।
देशकै पूरानो र अत्यधिक बिरामीहरुको भीड लाग्ने वीर अस्पतालको आकस्मिक विभागका प्रमुख डा.नोछेय्मान डङ्गोल भन्नुहन्छ—‘आकस्मिक कक्षमा शैय्याको अभाव छ, कोचाकोच गरेर उपचार गर्नुपर्ने बाध्यता छ । यसबाट उपचार प्रभावित भइरहेको छ भने एउटा बिरामीको रोग अर्कोमा सर्नसक्ने जोखिम पनि बढाइरहेको छ ।’ आकस्मिक कक्षमा शैय्याको अभाव तथा ठाउँ साँघुरो हुँदा उपचार गर्न असहज भएको उहाँले स्पष्ट पार्नुभयो ।

चौबीसै घन्टा आपतकालिन् सेवा उपलब्ध गराउने ‘ट्याग’ झुण्डाइएका अस्पतालहरुले बिरामीहरुलाई घण्टौँसम्म कुराउने गर्छन् । कतिले त उपचार नै पाउँदैनन् । यो आफैंमा लज्जास्पद विषय हो । यति मात्र कहाँ हो र नेपालका केन्द्रिय अस्पतालहरुको आकस्मिक कक्ष हेर्दा लाग्छ बिरामीहरुको उपचारमा गम्भीर खेलवाड भइरहेको छ । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड अनुसार, आकस्मिक कक्षमा ६ फिटको दूरीमा शैय्या राख्नुपर्छ । तर शैय्याको दूरीको गम्भीरतालाई ख्याल गर्नु त कहाँ हो कहाँ एउटै शैय्यामा तीन जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको सरोकारवालाहरु स्वीकार्छन् ।

साँघुरो ठाउँ, शैय्याको अभाव

वीर अस्पतालको आकस्मिक कक्षमा २९ शैय्या मात्र छन् । तर दैनिक २ सय ५० देखि ३ सयको हाराहारीमा आकस्मिक सेवा लिन देशका हरेक ठाउँबाट बिरामीहरुको घुइँचो लाग्छ । उनीहरुले आकस्मिक सेवा पाउन भगवान भरोसा गर्नु त छँदै छ । त्यसको अलावा आईसियु (अति उपचार कक्ष) वेड पाउनसमेत मुस्किल पर्छ ।
सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीहरु समस्या समाधानका लागि के पहल गर्दैछन् त भन्ने प्रश्नको जवाफ खोज्न हामी अस्पतालका कार्यकारी निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरीको कार्यकक्षमा पुग्यौं । उहाँले आकस्मिक कक्षमा शैय्याको अभाव भएको र मापदण्डअनुसार आकस्मिक कक्ष सञ्चालनमा ल्याउन नसकेको स्वीकार गर्नुभयो । आकस्मिक उपचार सेवा लिन आउनेमध्ये ५० प्रतिशत सिकिस्त बिरामी हुने अस्पतालको भनाइ छ । उनीहरुलाई आकस्मिक कक्षमा खुला रुपमा उपचार सेवा उपलब्ध गराउनुका साथै अति सघन उपचार कक्ष (आईसियू) कोसमेत जरुरत पर्छ ।
स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार, अस्पतालमा भएको कुल शैय्यामध्ये १० प्रतिशत शैय्या आकस्मिक कक्षमा व्यवस्था गरिनुपर्छ । वीर अस्पतालमा अहिले ४ सय ६० शैय्या छन् । यसैलाई आधार मान्दा अस्पतालमा ४६ शैय्या आकस्मिक कक्षामा हुनुपथ्र्यो । तर २९ शैय्या मात्र हुनु बीर अस्पतालप्रति आशा र भरोसा बोकेर देशका दुर दराजबाट आउने बिरामीहरुका लागि अभिसाप नै सिद्ध भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. सेञ्चुर भन्नुहुन्छ— ‘सम्बन्धित निकायमा समस्या समाधानका लागि पहल कदमी भइरहेको भएपनि अहिले ठाउँको अभावका कारण प्रयाप्त शैय्याको व्यवस्था गर्न सकिएको छैन ।’ त्यसैले आकस्मिक कक्षमा एउटै शैय्यामा २÷३ जना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता भएको निर्देशक डा. सेञ्चुरीले स्वीकार गर्नुभयो । ‘यो हरेक दिनको समस्या दिनहँु हो’—उहाँ भन्नुहुन्छ—कतिपय बिरामीलाई उपचार गर्ने ठाउँ नपाएर फर्काउनुपर्ने बाध्यता छ ।’ देशका दूर दराजबाट आशा र भरोसा बोकेर आएका बिरीमीहरुलाई उपचार सेवा दिन नसक्दा दुःख लाग्ने उहाँको भनाइ छ ।
बिरामीको चापलाई हेर्दा बीर अस्पतालको आकस्मिक कक्षमा तत्कालका लागि कम्तिमा पनि ५० शैय्याको आवश्यकता छ । पाँच सय शैय्या क्षमताको अर्को भवन बन्दै रहेको र सो भवन सञ्चालनमा आएपछि समस्या समाधान हुँदै जाँने अस्पतालका निर्देशक डा सेन्चुरीले स्पष्ट पार्नुभयो ।

दृश्य नम्बर २

त्रिभुवन विश्वाविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको पीडा पनि वीरको भन्दा कम्ता छैन । एउटै शैय्यामा दुई जनासमेत राखेर उपचार भइरहेको छ । कतिपय बिरामीलाई ट्रलीमा सुताएर उपचार गरेको देखिन्छ । कति बिरामीका आफन्तहरु सोर्स फोर्स लगाएर शैय्या पाउन सकिन्छ कि भनेर अत्तालिरहेका छन् । जनस्वास्थ्य सरोकारको टिम त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा एकछिन उभिएर अवलोकन गरेको दृश्य हो यो । यो शिक्षण अस्पताल भएकाले राम्रो उपचार हुने आशामा देशका विभिन्न ठाउँबाट बिरामी ल्याइन्छ । अस्पतालमा दैनिक १ सय ५० देखि २ सयको हाराहारीमा आकस्मिक कक्षमा उपचार सेवा लिन आउँछन् । तर आकस्मिक विभागमा आकस्मिक शैय्या ७० भन्दा बढी छैन । अस्पताल पुगेका सबै बिरामीले भर्ना पाइरहेका छैनन् । अस्पताल पुगेका धेरै बिरामीहरु निराश भएर अन्यत्र जानुपर्ने बाद्यता छ । त्रि.बि.शिक्षण अस्पतालमा जम्मा शैय्या संख्या ७०० छ । दैनिक करिब २ हजार बिरामीले बहिरंग (ओपिडी) सेवा लिन्छन् । त्यसबाहेक करिब ५ सयले इक्सटेन्डेड हेल्थ सर्भिस (इएचएस) मा ओपिडि सेवा लिन्छन् । दैनिक १ सय जना डिस्चार्ज र १ सय बिरामी उपचारका लागि भर्ना हुन्छन् । अस्पतालकार कार्यकारी निर्देशक प्रा. डा. प्रेम खड्का भन्नुहुन्छ – ‘आकस्मिक कक्षमा आउने बिरामीको संख्या शैय्या क्षमताभन्दा तेब्बर हुने भएकाले कतिपय अवस्थामा क्षमताभन्दा बढी बिरामी भर्ना गर्नुपर्ने बाध्यता छ ।’

बिरामीहरु धेरै आशा र विश्वास बोकेर अस्पताल पुगेका हुन्छन् । तर शैय्या नपाउँदा निराश भएर फर्कन्छन् । आकस्मिक कक्षमा अत्यधिक बिरामीको चापका कारण एउटै बेडमा २ जनासमेत राखेर उपचार गर्नुपर्ने बाद्यता भएको प्रा.डा खड्का स्वीकार्नुहुन्छ । यति मात्र नभई अस्पतालको आकस्मिक कक्षमा शैय्या पनि मापदण्ड अनुसार छैन । मापदण्डअनुसार आकस्मिक कक्षमा दुई शैय्या बीचको दूरी ६ फिटको फरकमा हुनुपर्छ । निर्देशक डा. खड्का भन्नुहुन्छ—‘मापदण्ड अनुसार शैय्याको व्यवस्था गरेमा आकस्मिक कक्षमा १० शैय्या पनि अटाउन्न ।’ आकस्मिक कक्षमा जति शैयया भए पनि पुग्दैन । बिरामीको चाप बढ्दो छ । अस्पतालमा आएका सबै बिरामीलाई भर्ना गर्न सकिने अवस्था नभएको उहाँले स्पष्ट पार्नुभयो ।

दुश्य नम्बर ३

सिभिल सर्भिस हस्पिटलमा ५० प्रतिशत टिकट वितरण गरेपछि मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । कर्मचारीलाई पहिला जाँचेपछि मात्र सर्वसाधारणलाई जाँच गर्न शुरु गरिन्छ । दैनिक ओपिडी सेवा लिन आउने करिब ८ सय बिरामीमध्ये ३०—३५ प्रतिशत निजामति कर्मचारी हुने गर्छन् । ओपिडीको क्षमता पनि त्यति नै छ । आकस्मिक सेवाका लागि दैनिक करिब ७० जना भन्दा बढी बिरामी आउने गर्छन् । तर अस्पतालमा ३५ जनाभन्दा धेरै भर्ना गरेर उपचार गर्ने क्षमता छैन । कतिपयको इर्मेन्सीमा समस्या समाधान भएपनि अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका करिब ३५ प्रतिशत बिरामीलाई वेडको अभावमा अन्यत्र पाइन्छ । अस्पतालमा १ सय ३२ वेड मात्र छन् । त्यसमा ५० प्रतिशत त निजामति कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेका ६६ वेड मात्र सर्वसाधारणले प्राप्त गर्न सक्छन् । सिमित वेड संख्याका कारण भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई सेवा दिन असमर्थ भएको अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आरसी बताउनुहुन्छ । । बिरामीको अत्यधिक चाप र सिमित वेड संख्याका कारण बिरामीले पाएको दुखःप्रति अस्पताल नतमस्तक छ ।

दृश्य नम्बर ४
कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा ४४ शैय्या छन् । तर हरेक दिन झण्डै दुई सय बिरामी अस्पतालको आकस्मिक कक्षमा उपचार सेवा लिन आउँछन् । सेवा नपाउने कारण कतिपय बिरामी बाहिर जानुपर्ने बाद्यता छ । निवर्तमान निर्देशक डा. गणेशकुमार राईका अनुसार, अस्पतालमा एक जना चिकित्सकले १ सय जना बिरामी हेर्नुपर्ने बाद्यता छ । आकस्मिक कक्ष पुग्ने बिरामीहरुले उपचारका लागि घण्टौं कुर्नुपर्छ । जनशक्ति अभावका कारण बिरामीले राम्रो उपचार सेवा पाउन सकेका छैनन् ।

आकस्मिक कक्षमा सिकिस्त अवस्थामा पुगेका बिरामीलाई आईसियू र अवलोकन कक्षमा भर्ना गर्नुपर्छ । तर अस्पतालमा यथेष्ट आईसियू शैय्या छैनन् भने भएका शैय्याहरु पनि बिग्रिएका छन् । अस्पतालमा भएका ५२ आईसियू शैय्यामध्ये २१ वटा बिग्रिएका छन् । भएका आईसियूहरु शैय्याहरु पनि जनशक्तिको अभावमा सञ्चालन हुन सकेका छैनन् । धेरै नर्सहरुको रिक्त पदपूर्ति गर्नुपर्ने आवश्यकता रहेको डा. राईको भनाइ छ । यसरी आकस्मिक सेवा विभागमा शैय्याको अभावमा बिरामीलाई कोचाकोच गरेर राख्नुपर्ने बाध्यताले उपचार मात्र प्रभावित नभई एउटा बिरामीको रोग अर्को बिरामीमा सर्ने जोखिम बढेको छ । यसका साथै एक अर्काको रोग सर्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । यसप्रति सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।

रोग सर्ने सम्भावना उच्च

डा.नोछेय्मान डङ्गोल
आकस्मिक सेवा विभागका प्रमुख
वीर अस्पताल

सरकारी अस्पतालहरुको आकस्मिक कक्षमा बिरामीको सङ्ख्या थेगिनसक्नु हुन्छ । तर शैय्या थोरै छन् । आकस्मिक कक्षमा आएका बिरामीलाई सकेसम्म शैय्यामै राख्नुपर्छ । कहिले एउटै शैयामा तीन बिरामीलाई राखेर उपचार गर्नुपर्ने स्थिति आउँछ । शैय्या नजिक भएकाले संक्रमणजन्य रोगको जोखिम उच्च हुन्छ । उपचारमा संलग्न हामीजस्ता चिकित्सकलाई पनि सरुवा रोगको डर हुन्छ । झन् बिरामीको रोगप्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले एउटाको रोग अर्कोमा सजिलै सर्नसक्छ । जनसंख्याको अनुपातमा अस्पतालको क्षमता र आकस्मिक सेवा बिस्तार नहुँदा बिरामीलाई गुणस्तरीय सेवा दिन सकिएको छैन । अस्पतालमा आएका सबै बिरामीलाई भर्ना गर्न सकिदैन । बिरामीलाई अन्यन्त्र रिफर गर्नुपर्छ । सरकारी अस्पतालमा थोरै खर्चमा उपचार गर्न पाइने आशमा आएका बिरामीलाई अन्यन्त्र जान समस्या हुन्छ । उनीहरु आकस्मिक कक्षमा नै उपचार गराउन चाहन्छन् ।

यस्तो छ आकस्मिक कक्षमा हुनुपर्ने मापदण्ड

  • अस्पतालको आकस्मिक कक्षको मापदण्ड अनुसार हरेक शैय्या ६ फिटको दूरिमा हुनुपर्छ ।
  • आकस्मिक सेवा विभागमा गम्भीर बिरामी छुट्टयाउने प्रणाली हुनुपर्छ ।
  • अस्पतालको कुल शैयया क्षमताको १० प्रतिशत आकस्मिक शैय्या राखिनुपर्छ । (शैयाहरुलाई क्रमशः रातो (कलर कोड) एक प्रतिशत सिकिस्त बिरामी, पहेँलो २ प्रतिशत सिकिस्त भएपनि केहि हदसम्म सुधार हुँदै आएको, हरियो ३ प्रतिशत सामान्य बिरामी, कालो १ प्रतिशत मृत्यु भइसकेको र अवलोकन कक्षका लागि ३ प्रतिशत शैयया छुट्टयाइनुपर्छ ।)
  •  आकस्मिक कक्ष भित्र आकस्मिक उपचारबारे अध्ययन गरेका दक्ष चिकित्सक हुनुपर्छ ।
  • आकस्मिक सेवा विभाग अस्पतालको मुलद्वारबाट अन्य विभागभन्दा नजिक प्रवेशद्वारबाट स्पष्ट देखिने हुनुपर्छ । यो विभाग ओपिडी र डायग्नोसिस सेवाको नजिक बनाइनुपर्छ ।
  •  आकस्मिक सेवा विभागका लागि छुट्टै प्रवेशद्वार हुनुपर्छ । उपचारमा केही क्षणको ढिलाइले पनि बिरामीको ज्यान जान सक्ने भएकाले यस विभागको डिजाइन गर्दा आवागमन समयको किफायतीमा ध्यान पु¥याइनुपर्छ ।
  •  यस विभागमा प्रायःजसो भीड हुने, दुर्घटना तथा आपराधिक घटनामा परी घाइते बिरामी ल्याइने भएकाले प्रवेशद्वारमा सुरक्षाकर्मीको व्यवस्था हुनुपर्छ ।
  •  विभागका लागि छुट्टै प्लाष्टर कक्ष, माइनर ओ.टी, छोटो दुरीमा एक्स रे कक्षको व्यवस्था हुनुपर्छ ।
  • एक सय शैययाभन्दा माथिको अस्पतालमा छुट्टै आकस्मिक ल्याव र एक्स—रे को व्यवस्था हुनुपर्छ । प्रवेशद्वारको छेउछेउमा कम्तिमा दुइ स्ट्रेचर, ट्रली पार्क गर्न मिल्ने स्थानको व्यवस्था गरी संकेतपाटीले संकेत गरिनुपर्छ ।
  •  एम्बुलेन्स सहज रुपमा आकस्मिक कक्षको प्रवेशद्वारसम्म पुग्ने सुविधायुक्त मार्ग हुनुपर्छ ।
  • आकस्मिक कक्षमा प्राइभेसीका लागि विशेष कोठा हुनुपर्छ ।सरकारी अस्पतालहरु गरिब जनताका लागि हो भन्ने सबैले बुझ्न जरुरी छ । अस्पताल सुव्यवस्थितका लागि सबै राजनीतिक नेताहरुले पहल र सहयोग गर्नुपर्छ । यसप्रति सरकार गम्भिर हुनुपर्छ र सम्बन्धित निकायलाई जिम्मेवारी सुम्पिनुपर्छ । यसबाट सफलता प्राप्त गर्न सकिन्छ । नीति तर्जुमा गरेर कार्यक्रम सफल बनाउन सरकारको सहयोग बिना सम्भव हुन सक्दैन । निजीलाई त सरकारको सहयोग जरुरत पर्छ भने सरकारीलाई सरकारकाले सुनिश्चितता गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्