Logo
|
Sunday 22nd December 2024
Logo

epaper

पिसाबको नमुना संकलनदेखि परीक्षणसम्म अपनाउनुपर्ने सावधानी



 

सुन्दा पिसाब । तर विभिन्न रोगको पहिचानका लागि पिसाबको जाँच अनिवार्य हुन्छ । पिसाबको जाँच गर्दा जति साबधानी अपनाउनुपर्छ त्यतिनै नमुना संकलनमा पनि ख्याल गर्नुपर्छ । अन्यथा रिजल्ट राम्रो नआउन सक्छ । चिकित्सकहरुले सर्वाधिक पठाउने जाँचहरुमध्ये पिसाबको जाँच एक हो । मुत्र प्रणाली तथा अन्य प्रणालीको रोग पत्ता लगाउन जुनसुकै विषयका बहिरंग तथा अन्तरंग बिभागबाट चिकित्सकले पिसाबको जाँच प्रायः पठाइराख्छन् किनकि पिसाब जाँचले मुत्र प्रणालीको अवस्था मात्र नभई अन्य धेरै मेडिकल र सर्जिकल अवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्दछ ।

कस्तो अवस्थामा पिसाब जाँच गरिन्छ ?

पिसाबमा अनेकौ रोगका लागि अनेकौं जाँच गर्न सकिन्छ । साधारणतया बहिरंग र अन्तरंग बिभागबाट पठाइने जाँच भनेको सामान्य पिसाब जाँच मात्र हो । बाहिरबाट स्वस्थ अनुभूति भैराखेको व्यक्तिलाई पनि पिसाबको जाँचको आवश्यकता पर्नसक्छ । सामान्यतया पिसाब जाँच गर्नुनपर्ने अवस्थाहरु यसप्रकार छन् ।

१.पिसाब पोल्ने

२.पिसाबमा रगत देखापर्ने

३.साबिक भन्दा छिटो पिसाब लाग्ने

४.पिसाब निख्रिएर नआउने

५. पिसाबको धारा मसिनो आउने

६. अन्डकोष तथा तल्लो पेट दुख्ने

७. कोखा दुख्ने र काँप ज्वरो आउने

८.पिसाब चुहिने समस्या

९.मुत्र प्रणाली तथा त्यसका वरपरका अंगसम्बन्धि कुनै शल्यक्रिया हुन पूर्व आदि ।

जाँचका लागि पिसाब संकलन कसरी गर्ने ?

चिकित्सकले पिसाबको जाँच गर्न सुझाब गरिसकेपछि बिरामी, बिरामीका आफन्त र प्रयोगशालाकर्मीले निम्न कुराहरुमा ध्यान पुर्याउन आवश्यक देखिन्छन । प्रयोगशालाकर्मी, बहिरंग अथवा अन्तरंग बिभागमा कार्यरत नर्स कर्मचारी तथा स्वास्थ्य सहायकले बिरामी र उनका आफन्तलाई पिसाब जाँचका लागि पिसाब संकलन गर्ने तरिकाबारे उचित परामर्श गर्नुपर्ने अति अवश्यक देखिन्छ । नमुना संकलनका लागि प्रयोगशालाबाट प्रदान गरिने उपयुक्त भाडाको व्यवस्था मिलाउन सुझाब गरिन्छ । उचित सरसल्लाहबिना संकलन गरिएको नुमुनाबाट अनावश्यक र गलत तरिकाको रिपोर्ट आउनसक्ने सम्भावना उतिकै हुन्छन् ।

पुरुषको पिसाब संकलन

पुरुषहरुको पिसाब संकलन गर्नु अगाडी लिङ्ग र लिङ्ग वरपरको छाला राम्ररी साबुन पानीले सफा गरेर एक हातले छालामाथि फर्काइ पिसाब फेर्न सुरु गर्ने र बीचको धाराबाट ५—१० मिलिलिटर पिसाब प्रयोगशालाबाट दिइएको भाँडामा संकलन गर्ने र उक्त नमुना तुरुन्त प्रयोगशालामा जाँचका लागि बुझाउनुपर्छ । बिरामी आँफैले स्वःस्फूर्त फेरेको पिसाबको बीचको धारबाट लिइएको नमुना सर्बोत्कृष्ठ मानिन्छ ।

महिलाको पिसाब संकलन

महिला बिरामीमा उचित तरिकाले पिसाबको नमुना संकलन नगर्दा पुरुषमा भन्दा बढी अनावश्यक संक्रमण हुनसक्ने सम्भावना हुन्छन । तसर्थ महिला बिरामीलाई पनि नमुना संकलन गर्न अगाडी सफा पानीले यौनांग राम्ररी सफा गरी बसेर पिसाब फेर्ने र उनीहरुमा पनि बीचकै धारको ५—१० मिलिलिटर पिसाब प्रयोगशालाले प्रदान गरेको भाँडामा संकलन गरी तुरुन्त बुझाउनुपर्ने हुन्छ ।

बच्चाको पिसाब संकलन

बच्चामा पिसाब संकलन गर्ने प्रक्रिया आफैँमा अलि जटिल कार्य हो । बोलिचाली बुझ्नसक्ने उमेरको बच्चा आमा बुवाको आदेश सजिलै पालन गर्ने हुनाले उक्त उमेरका बच्चामा माथि उल्लेखित बयस्क बिरामीमा झैँ नमुना संकलन गर्न सकिन्छ । तर कम उमेरको बच्चामा पिसाब फेर्ने अंगमा बिशेष किसिमको एउटा झोला लगाई नमुना संकलन गर्नुपर्ने हुन्छ । उक्त किसिमको झोला प्रयोगशालाकर्मीको सहयोगबाट उपलब्ध गराउन सकिन्छ । कहिलेकाँही आवश्यक परे पिसाब गर्ने ठाउँबाट क्याथेटर लगाई पिसाबको नमुना संकलन गर्नुपर्ने हुनसक्छ ।

क्याथेटर लगाइएका बिरामीको पिसाब संकलन

अस्पतालमा उपचारको क्रममा विभिन्न कारणबस पिसाब गर्ने ठाउँमा क्याथेटर लगाइएका बिरामीहरु पनि प्रशस्त भेटिन्छन् । उनीहरुमा पिसााब जांँचका लागि नमुना संकलन गर्नुपरे क्याथेटरबाट सिरिन्जको मद्धतले पिसाब लिन सकिन्छ अथवा क्याथेटर लगाई एकछिन क्लाम्प गरी त्यहाँबाट पनि बीचको धारको नमुना लिन सकिन्छ ।

पिसाब संकलन गर्दा प्रयोग हुने भाँडो कस्तो हुनुपर्दछ ?

यसरी पिसाब संकलन गर्दा प्रयोग हुने भाँडो नयाँ, सफा, राम्रो अवस्थाको बिर्को भएको र नफुटेकोहुनुपर्दछ । पिसाब कल्चर गर्न प्रयोग हुने भाँडा पूर्ण रुपमा किटाणुरहित हुनुपर्दछ जुन प्रयोगशालाबाट नै प्रदान गरिन्छ । केहि विशेष किसिमका रोगको जाँचका लागि बिरामीको २४ घण्टाको पिसाब संकलन गर्नुपर्ने हुन्छ । यसका लागि प्रयोगशालाबाट एक किसिमको विषादि राखेको ठूलो भाँडो लिन सकिन्छ । यसरी भाँडो लिएर घर जाँदा प्रयोगशालाबाट प्रदान गरिने विशेष किसिमको नियम निर्देशिका पालन गर्नुपर्ने हुनसक्दछ ।

संकलन गरिएको नमुना के गर्ने ?

यसरी विभिन्न विधिबाट संकलन गरिएको पिसाबको नमुना तुरुन्त प्रयोगशालामा बुझाउनुपर्ने हुन्छ । प्रयोगशालामा पठाइएको नमुना बढीमा १ घण्टाभित्र जाँच गरिसक्नुपर्ने हुन्छ । यदि जाँचका लागि केहि समयलाग्ने अवस्था भएमा उक्तसेम्पललाई २—८ डिग्री सेल्सियसको तापक्रममा फ्रिज गरिराख्नुपर्ने हुन्छ ।

पिसाबमा के जाँच गरिन्छ ?

साधारणतया पिसाबको रंग, रुप, एसीडीटीको तह, सुगर र प्रोटिन हेरिन्छ भने माइक्रोस्कोपमा पिप, रगत, इपिथेलियम, कास्ट र क्रिस्टलका कणहरु हेरिन्छन् । यसरी हेरिने एक एक कुराको बिभिन्न रोग निदान गर्न आ—आफ्नै तरिकाको महत्व हुन्छ । अन्य गरिने जाँचहरुमध्ये पिसाब कल्चर, पिसाबमा क्यान्सरको कोष, विभिन्न किसिमका हर्मोनको जाँच, मुत्र प्रणालीको पत्थरीको बिशेष जाँच इत्यादि हुन् ।

पिसाबबाट साधारणतया निदान गर्न खोजिने अवस्थाहरु केके हुन् ?

चिकित्सकले बिरामीको पिसाबबाट पिसाबको संक्रमण, मुत्र प्रणालीका केही रोगहरु, मुत्र प्रणालीका क्यान्सर, मिर्गौलाको पत्थरीसम्बन्धि विभिन्न किसिमका अवस्थाबारे जानकारी लिने गर्दछन् । तसर्थ, पिसाबको जाँच जति सरल र अत्यधिक गरिने जाँच भएता पनि मुत्र प्रणाली र यस बाहेकका अनेकौ रोग निदान गर्न यो जाँचको महत्व अमुल्य छ । चिकित्सकले पिसाब जाँच सल्लाह गरेदेखि सफल रिपोर्ट आउन्जेल बीचमा कयौं किसिमका स्वास्थ्यकर्मीले आ—आफ्नै तरिकाको भूमिका खेल्न उतिकै उचित देखिन्छ । पिसाब जाँचका लागि चिकित्सक, ओपीडी असिस्टेन्ट, नर्स स्टाफ तथा प्रयोगशालामा कार्यरत चिकित्सक र अन्य कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छन् ।

(डा. शाह नेपाल मेडीसिटी अस्पतालको युरोलोजी विभागमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्