Logo
|
Tuesday 11th February 2025
Logo

epaper

‘मान्छेको मुटु’ बारे डा. रेग्मी भन्नुहुन्छ–‘मुटुभित्रको लिटिल ब्रेन’

मुटुबारेका भ्रम र अज्ञानतालाई चिर्दै नवीनतम ज्ञान पस्किन सफल



नेपोलियन बोनापार्टले भनेका थिए, ‘संसारमा केवल दुई शक्ति छन्- तरबार र कलम । अन्त्यमा सधैं तरबारको हार र कलमको जित हुन्छ । डा. अवनिभूषण उपाध्यायको कलमबाट सिर्जित यो कृति मुटुबारेका भ्रम र अज्ञानतालाई चिर्दै यस विषयमा नवीनतम ज्ञान पस्किन सफल भएको छ । मुटुजस्तो जटिल विषयमा कलम चलाएर तरबारले भन्दा सशक्तरूपमा एक-एक विषयलाई चिर्दै बोधगम्य भाषामा पाठकसामु राखिदिनुभएको छ ।

भनिन्छ, कलम मस्तिष्कको जिब्रो हो । डा. अवनिले आफ्‌नो जिब्रोबाट फुत्त-फुत्त निकालेऔं साधारण बोलीचालीको भाषामा मुटुबारेका गहन कुरा यस कृतिमार्फत प्रस्तुत गर्नुभएको छ । यस कृतिमा समाविष्ट नवीनतम जानकारीमध्ये मुटुभित्रको ‘लिटिल ब्रेन ले मलाई निकै आकर्षित गयो । चार दशकदेखि मुटुबारे अध्ययन गरिरहेको भए पनि मलाई यो कुरा त्यति राम्ररी थाहा थिएन । सन् १९८० ताका मैले डाक्टरी पढ्‌दा मुटुभित्रको स्नायु प्रणालीलाई ‘लिटिल ब्रेन’ भनेर उल्लेख गरेको सम्झना छैन । सन् १९९० पछि भएका अनुसन्धानले मुटुभित्र अद्भुत प्रकारको स्नायु प्रणाली भएको पत्ता लगायो र त्यसलाई मुटुको ‘लिटिल ब्रेन’ नामकरण गरिदियो । यो अनुसन्धानले मुटुभित्रका जटिल कुराहरु बुझ्न सहज पनि भयो ।

विज्ञानले टाउकोभित्र ठूलो मस्तिष्कको पछाडिपट्टि रहेको मस्तिष्कको सानो डल्लोलाई ‘लिटिल ब्रेन’ अर्थात् ‘सेरेबेलम’ भन्छ । ल्याटिन भाषामा सेरेबेलम भनेकै सानो मस्तिष्क वा ‘लिटिल ब्रेन’ हो । यो सानो मस्तिष्कले शरीरका विभिन्न गतिविधिको सन्तुलन मिलाउने काम गर्दछ, शरीरलाई स्थिर राख्दछ र मांसपेशीलाई मजबुत बनाइराख्छ । टाउकोभित्रको ‘लिटिल ब्रेन’ले भन्दा मुटुभित्रको ‘लिटिल ब्रेन’ले झन् अद्भुत काम गर्ने रहेछ । मुटुको स्वतन्त्रता, आत्मनिर्भरता, अद्भुतता र यसभित्र उत्पन्न हुने भावना, करूणा, माया, प्रेम आदि सबैको उत्पत्तिको केन्द्र मुटुभित्रको ‘लिटिल ब्रेन’ रहेछ ।

डा. अवनिसंगको मेरो परिचय करिब पाँच दशक पुरानो हो । उहाँको बोली र व्यवहारमा जुन मिठास छ त्यत्तिकै मिठास लेखाइमा पनि छ । उहाँको पहिलो प्रकाशित कृति ‘मुटुसँगको सहयात्रा’लाई पाठकले ज्यादै मन पराउनुभयो । मीठो शैलीमा लेखिएको उक्त पुस्तकले नेपालमा मुटु स्वास्थ्यसँग सम्बन्धित सामाजिक, आर्थिक, राजनीतिक, ऐतिहासिक, भौगोलिकलगायतका धेरै पक्षलाई उजागर गरेको छ । यो नयाँ कृति ‘मान्छेको मुटु’ले मुटु स्वास्थ्यका विविध कुरा र मुटुसम्बन्धमा मानिसका अनेकौँ जिज्ञासालाई प्रस्ट्याउने प्रयास गरेको छ ।

मुटुको विशेषता जीवनलाई निरन्तरता दिने मात्र होइन । मुटु जीवन, भावना, प्राण, संवेदना, प्रेम आदि सबैको केन्द्र हो । विज्ञानले मुटु र मस्तिष्कबारे गहिरो अध्ययन गरेको छ । यी अङ्गको बनावट र कार्यसञ्चालनबारे धेरै कुरा व्याख्या गरिएका छन् । तर यी अङ्गभित्र अन्तरनिहित आत्मा, मन, भावना र विवेकजस्ता मनोगत कुराहरु विज्ञानले कमै मात्र व्याख्या गरेको छ । यी आध्यात्मिक चिन्तनका विषय हुन् । मुटु र मस्तिष्कलाई एक-अर्कासंग सूचना आदानप्रदान गरेर जोड्ने ‘लिटिल ब्रेन’ नै शायद आध्यात्मिक सोच विकास हुने थलो हो । शायद यो नै मानिसले मान्दै आएको भगवान्‌को बासस्थल हो । डा अवनिको यो कृतिले मलाई यो नयाँ थलोबारे चिन्तन गर्ने मौका दियो ।

मुटु, मन र आत्माबारे चर्चा भैरहन्छन् । यी तीन कुरालाई राम्रोसँग बुझ्न सक्यो भने जीवन उपलब्धिमूलक हुन सक्छ । पुस्तकमा यसबारे पनि केही उल्लेख गरिएको छ । म पनि यसबारे आफ्‌ना केही धारणा राख्न चाहन्छु । मुटु भौतिक स्वरूप हो, जसले हाम्रो शरीरलाई जीवन प्रदान गर्दछ । मुटु बन्द भएपछि भौतिक जीवन समाप्त हुन्छ । मन र आत्मा मनोगत कुराहरु हुन्, जसलाई आध्यात्मिक चिन्तनबाट मात्र बुझ्न सकिन्छ । विज्ञानले मन र आत्मालाई कुनै यन्त्रको माध्यमबाट समाउन वा भेटाउन सकेको छैन । तर आध्यात्मिक चिन्तकले योग, ध्यान आदिको माध्यमबाट मन र आत्मालाई स्पर्श गर्न सक्ने विश्वास गरिन्छ ।

मनबारे गीतामा भनिएको छ, ‘प्रत्येक व्यक्ति यो भौतिक शरीररूपी रथका यात्री हुन् । यसको सारथी मस्तिष्क हो । मन यसको लगाम हो । इन्द्रियहरु यसका घोडा हुन् । मन र इन्द्रियहरुको सङ्गतिमा रहने यो आत्मा सुख र दुःखको भोक्ता हो । अर्थात् मन त्यो हो जसले इन्द्रियहरु (स्वाद, गन्ध, दृष्टि, स्पर्श आदि) लाई नियन्त्रण गर्छ । आखिर यो मन छ कहां ? मुटुभित्र वा मस्तिष्कभित्र ? मलाई लाग्छ, मुटु र मस्तिष्कको बीच सम्पर्क स्थापित गर्ने ‘लिटिल ब्रेन र मस्तिष्कका लाखौं स्नायुको जालोबाट उत्पन्न हुने शक्ति नै मन हो, जसले इन्द्रियहरुलाई नियन्त्रण गर्छ । यो शक्ति (इनर्जी) मुटु र मस्तिष्कबाट इन्द्रियहरुसम्म पुग्ने स्नायुहरुमा दौडिन्छ । मनलाई दह्रो बनाउन सक्यो भने मुटु र मस्तिष्क दुवै बलिया बन्छन् ।

आत्माबारे बुझ्न सजिलो छैन । आत्मालाई बुझ्ने र महसुस गर्ने व्यक्ति आत्मज्ञानी हुन्छ । डा. अवनिले आफ्‌नो पुस्तकमा आत्माको प्रसङ्‌ग पनि उठाउनुभएको छ । उहाँले आत्मा मुटुमा हुन्छ कि मस्तिष्कमा भनी प्रश्न उठाउनुभएको छ । यो अति नै महत्त्वपूर्ण प्रश्न हो । आत्माको खोजी गर्नु सर्वोत्तम कार्य हो । आत्मा भनेको प्राण हो, ब्रह्म हो, भगवान् हो । शरीर मर्छ तर आत्मा मर्दैन । आत्माको अस्तित्त्व सदा रहिरहन्छ । डा. अवनिले यसबारे निष्कर्षमा भन्नुभएको छ, ‘आत्माबारे कुनै यकिन वैज्ञानिक अवधारणा आजसम्म आएको छैन । शरीरको कुन ठाउँमा आत्मा बस्छ भन्न सकिने स्थिति छैन । आत्माबारे चिन्तन गर्दै जाँदा यो सर्वव्यापी, अनन्त र अक्षय भएको पाइन्छ । गीताको ज्ञानबाट पनि यही कुरा बुझिन्छ ।

भनिन्छ, भगवान्को बास मुटुमा हुन्छ । जहाँ मुटुको धड्कन उत्पन्न हुन्छ, शायद आत्मा वा भगवान् त्यहीँ हुन्छ । मलाई लाग्छ, यो त्यही ‘लिटिल ब्रेन’ हो, जहाँ यो शक्ति लुकेको छ । तोकेरै भन्नुपर्दा राइट अट्रियम (Right Atrium) भित्र, साइनस नड (Sinus Node) को वरिपरि ‘लिटिल ब्रेन’को क्षेत्रमा भगवान् र आत्माको बासस्थान हुनुपर्दछ । किनकि यस ठाउँमा ईश्वरीय शक्ति छ ।

मुटुबारे अनगिन्ती जानकारी दिनुका साथै मन र आत्माबारे समेत चर्चा गर्नु यस कृतिको विशेषता नै हो । ‘लिटिल ब्रेन’ बारेको जानकारीले मन र आत्माबारे बुझ्न सहज भएको छ । मलाई लाग्छ, मानिसले ध्यानको अभ्यास गर्दा मुटुभित्रको ‘लिटिल ब्रेन’मा केन्द्रित गर्न सक्यो भने मुटु पनि बलियो हुन्छ, मन र आत्माबारे ज्ञान पनि बढ्छ ।

मान्छेको मुटुबारे समग्र जानकारी एउटा सानो पुस्तकमा लेख्न सकिंदैन । यो त एउटा महासागर हो । हाँसले पानीबाट दूध मात्र छुट्‌याएर निकालेजस्तै मुटुबारेका महत्त्वपूर्ण कुराहरु, मानिसका जिज्ञासाहरु, प्रस्ट नभएका कुराहरु, भ्रमहरु आदि प्रसङ्गहरुलाई समावेश गरी प्रश्नोत्तर शैलीमा प्रकाशित यो कृति सबै प्रकारका पाठकहरुका लागि उपयोगी र सङ्ग्रहणीय छ । मुटुलगायतका नसर्ने रोगहरुले आक्रान्त बनाएको आजको समाजमा मुटु स्वास्थ्यबारे सुसूचित गर्ने पाठ्यसामग्रीको कमी छ । यस पुस्तकले यो कमीलाई केही हदसम्म घटाउन मद्दत गर्नेछ ।

जन्मेपछि मृत्यु अवश्यम्भावी छ, तर हामी जीवनभर मृत्युबारे सोच्दैनौं । जीवनको अन्त्यमा आइपुग्दा जीवन छोटो रहेछ भन्ने अनुभूति हुन्छ । जीवनको पूर्णता, सुख र समृद्धिको आशामा दौडादौड गर्दागर्दै मृत्युको मुखमा पुग्छौँ । जीवनको उत्तरार्द्धमा पुगेपछि फर्केर हेर्दा जीवनमा धेरै काम गर्न बाँकी नै रहेको थाहा हुन्छ । यी मध्येको एउटा महत्त्वपूर्ण काम आफूले आर्जन गरेको ज्ञान र अनुभवलाई कलम चलाएर कागजमा उतार्नु पनि हो ।

अनुभवले खारिएका व्यक्तित्व डा. अवनिभूषण उपाध्याय मुटुरोग विधाका ज्ञाता हुनुहुन्छ । कपाल फुलेर मात्र पाको भइँदैन, यसका लागि ज्ञानसम्पन्न हुनु जरूरी छ । ज्ञानले मान्छेलाई पाको बनाउँछ । एउटा फारसी उखान छ, ‘ज्ञान पुस्तकमा रहदैन, हृदयमा रहन्छ ।’ मुटुभित्र लिटिल ब्रेन’ छ भन्नेबारे परम्परागत सोचाइसमेत रहेको कुरा यो उखानले उजागर गर्छ । ज्ञानलाई आफूभित्र सीमित राख्दा यो घट्दै जान्छ तर अरुलाई बाँड्‌यो भने बढ्‌दै जान्छ । डा. अवनिभूषणले आफ्‌नो पढाइ र अनुभवबाट आर्जित ज्ञानलाई यो पुस्तकमा उतारी अरुलाई बाँड्ने महत्त्वपूर्ण कार्य गर्नुभएको छ । डा. अवनिको कलम नरोकियोस् । हामी सबैलाई नयाँ ज्ञान निरन्तर प्राप्त भइरहोस् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्