Logo
|
Wednesday 2nd December 2020
NEWS PAPER

बेष्ट चिकित्सक कसरी बन्ने ?

प्रा.डा.भगवानबाट सिक्नुपर्ने पाठ



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  प्रा.डा. भगवान कोइरालाले कार्डियाक सर्जन भएर सेवा शुरु गरेको २४ वर्ष बितिसकेको छ । उहाँले सन् १९९५ बाट कार्डियाक सर्जरी सेवा शुरु गर्नुभएको थियो । त्यो बेला त्रि.बि.शिक्षण अस्पतालमा वरिष्ठ कार्डियोथोरासिक सर्जन प्रा.डा. गोविन्द शर्माको नेतृत्वमा काम शुरु गर्नुभयो । पछि डा. कोइराला आफैंले ओपन हार्ट सर्जरीको नेतृत्व लिनुभयो । सन् १९८९ तिर जुनियर मेम्मर हाउस अफिसरका रुपमा काम शुरु गर्नुभएका प्रा.डा. कोइरालाले सर्जरी अध्ययन गरेर आएपछि जुनियर टिम मेम्मरका रुपमा काम गर्नुभएको थियो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा होस् वा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्डियाक सर्जरीको टिम लिडर भएर काम गरेको पनि धेरै भइसकेको छ । प्रा.डा. कोइराला भन्नुहुन्छ—‘सिधै मृत्युको मुखमा पुगेका धेरै बिरामीहरु बाँच्न सफल भएका छन् । म र मेरो सुपरभिजनमा अहिलेसम्म १५ हजार भन्दा बढीले शल्यक्रिया सेवा प्राप्त गरिसकेका छन् । लाखौंले बहिरंग सेवा प्राप्त गरेका छन् ।’ ‘दक्ष, सिनियर र बेष्ट चिकित्सक बन्न आफ्नो पेशामा ठूलो त्याग र तपस्या गर्नुपर्छ ।’ प्रा.डा. कोइराला भन्नुहुन्छ—‘चिकित्सा शिक्षामा निरन्तर अपग्रेड हुँदै जानुपर्छ । सुदृढ, सक्षम र समन्वयात्मक तरिकाले काम गर्नुपर्छ ।’
टिम वर्क रिलायबल नभएमा जतिसुकै कम्पलेक्स शल्यक्रिया गरेपनि बिरामीहरु खतरामा रहन्छन् । प्रा.डा. कोइराला भन्नुहुन्छ—‘उपचारमा हुनसक्ने सम्भावित खतरा र उपचारमा सफलता प्राप्त गर्न टिममा बसेर एक आपसमा छलफल गर्नुपर्छ । कतिपय अवस्थामा प्रोटोकल बेसमा उपचार गर्नुपर्ने हुनसक्छ ।’
बिरामीको आवश्यकता र स्वास्थ्य प्रदायक संस्थाको क्षमताको आधारमा बिरामी रेफर गर्नुपर्छ । बिरामीको उत्कष्ठ उपचार हुने ठाउँ पहिचान गरेर राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीले तोकेबमोजिमको अस्पतालमा पठाउने व्यवस्था हुनुपर्छ । प्रोफेसनल निर्णयको आधारमा मात्र रेफरल सिस्टम शुरु गर्नुपर्छ । गुणस्तरीय उपचारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने प्रा.डा. कोइरालाको भनाइ छ ।
मेहनति डाक्टर
‘पहिला म रातिको समयमा बिरामीको अवस्थाबारे अस्पतालमा अनुगमन गथेँं । लोकल ब्याकअप भरपर्दो र सन्तोषजनक नभइसकेको अवस्थामा आफूहरु नै धेरै खट्नुपर्दथ्यो । टिचिङको ओपन हार्ट सर्जरी शुरु गर्ने ताका त म आइसियूमा नै सुत्थेँ । आइसियूभित्र खाना मगाएर खान्थेँ । गंगालालमा त्यति गर्नुुपरेन । तर रातीको समयमा राउन्डिङ गर्दथेँ ।—प्रा.डा. कोइराला भन्नुहुन्छ—‘त्यो बेला प्रशासनिक जिम्मेवारी पनि थियो । तर दिन बित्दै जाँदा टिवर्कको विकास भयो । आईसियूमा बस्ने जिम्मेवार चिकित्सकहरु विकास भएका छन् । रातिको समयमा सेवा दिने चिकित्सकको पनि अभाव छैन । सिस्टम र टिम बिल्डिङ भनेको पनि यही हो । आफूले मात्र सधै सेक्रिफाइज गरेर देश बन्ने होइन । आफ्नो अनुपस्थितिमा काममा अवरोध आउन नदिन र सुरक्षित तवरले काम सम्पन्न गराउन सिस्टम बनाउनुपर्छ । यसका लागि शुरुका दिनहरुमा निकै मिहिनेत गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्