मुटुबारे डा. मन बहादुर के.सी.को सुझाव
नसर्ने रोगमध्ये कार्डियोभास्कुलर र मधुमेह समस्या पनि एक हो । यो विश्वको तुलनामा दक्षिण एसियामा बढी पाइन्छ । ब्रेन स्ट्रोक (पक्षघात) मस्तिष्कमा हुने भएपनि मुटु र मुटुबाट निस्कने रगतका नलीसँग सम्बन्धित छ । विगतमा कमजोर आर्थिक अवस्था, शिक्षा र चेतनाको अभावले बिरामी हुँदा पनि घरमै बसेर प्राण त्याग्ने गरिन्थ्यो । धामीझाँक्रीलाई देखाउने प्रचलन थियो । तर अहिले आम रुपमा पहिलेको भन्दा आर्थिक अवस्थामा अलिकति भनेपनि सुधार आएको देखिन्छ । सामान्य साक्षर दर बढेको छ । धेरैको हातमा मोबाइलको पहुँच छ । जसले प्रत्यक्ष वा अप्रत्यक्ष सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसँग जोडिएका छ । समुदायस्तरमा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरु बढेकाले उपचारका लागि धामी झाँक्री नभएर स्वास्थ्य संस्था जानुपर्छ भन्ने चेतना बढेको छ । त्यसले रोग पहिचान हुने संख्या पहिलेको तुलनामा बढेको पाइन्छ । पहिला बाटोघाटो थिएन । शारीरिक परिश्रण धेरै हुन्थ्यो । एकदिनमा ५०–६० किलोमिटरसम्म यात्रा तय गर्नुपर्दथ्यो । आजकल बिलासी जीवन बढेको छ । स्वास्थ्यलाई हानी गर्ने खानेकुरा खाने बानी बसेको छ । खाद्य पदार्थमा विभिन्न खालका किटनाशक, विषादीहरुको प्रयोग बढेको छ । यसले रोगको जोखिम पनि बढाएको छ ।
समुचित उपचार पाएमा रक्तचापले खासै असर गर्दैन
मेडिकल भाषामा उच्च रक्तचापलाई हाइपरटेन्सन भनिन्छ । उच्च रक्तचापलाई प्राइमरी र सेकेन्डरी गरी दुई श्रेणीमा बाँडिएको छ । प्राइमरी उच्चरक्तचाप बिना कारण देखिन्छ । यो आफैंमा रोग हो र बिना कारण नै देखिनसक्छ । प्राय यो एक सय व्यक्तिमध्ये ९०–९५ प्रतिशतमा देखिनसक्छ । यसको उपचार गर्न सजिलो र समुचित उपचार पाएमा खासै असर गर्दैन । अन्य रोगको लक्षणका रुपमा देखिने सेकेन्डरी हाइपरटेन्सन हो ।
धेरैजसो मिर्गौला बिग्रिएर सेकेन्डरी हाइपरटेन्सन भएको पाइन्छ । सेकेन्डरी हाइपरटेन्सन एकसय जना मध्ये ५–१० प्रतिशत मान्छेलाई देखिने गरेको पाइन्छ । अन्य रोगका लक्षणका रुपमा देखापर्ने उच्च रक्तचाप डरलाग्दो मानिन्छ ।
आफूखुशी उच्च रक्तचापको औषधि छोड्न हुँदैन
औषधि सेवन नगरी प्राइमरी उच्च रक्तचाप ठिक पार्न सकिदैन । यो जीवनभर रहने भएकाले औषधिले नियन्त्रण गर्नुपर्छ । केही मानिसलाई अत्यधिक तनाव, लामो समयदेखि बढी नुन सेवन, मोटोपन र निस्क्रिय जीवनशैलीले उच्चरक्तचाप हुनसक्छ । तौल घटाउने, नुन कम खाने, तनाव नियन्त्रण गर्ने तथा नियमित शारीरिक व्यायाम गर्नाले उच्च रक्तचाप नियन्त्रण भएमा चिकित्सकको सल्लाह बमोजिम औषधि छोड्न पनि सकिन्छ । तर आफूखुशी औषधि छोड्नहुँदैन । आफूखुशी औषधि छोड्दा हृदयघात, पक्षाघातदेखि मिर्गौला, आँखासमेत खराब हुने सम्भावना बढ्छ ।
उच्च रक्तचाप नियन्त्रण भएमा आयु घट्दैन
समयमा उच्च रक्तचाप नियन्त्रण भएमा सामान्य त आयु घट्दैन । उच्च रक्तचाप नियन्त्रण नभएमा मिर्गौला, आँखा बिग्रने, पक्षघात, हृदयघात, हार्ट फेलियर भई आयू घट्न सक्छ ।
उच्च रक्तचापबाट आउने जटिलताले आयु घटाउने हो ।
उच्च रक्तचापले मधुमेह हुँदैन
जो शारीरिक रुपमा सक्रिय छैन, जसको खानपिन बिन्दास छ, शारीरिक मोटोपना छ, अत्यधिक तनाव लिइरहन्छ भने त्यस्ता मानिसलाई उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । तिनै मानिसलाई नै मधुमेह हुने सम्भावना बढी हुने हो । उच्च रक्तचाप हुँदैमा मधुमेह हुनुपर्छ र मधुमेह हुँदैमा उच्च रक्तचाप हुनुपर्छ भन्ने नियम होइन । दुवै रोगको जोखिम तत्व उस्तै उस्तै हुन्छन् ।
रोग लागेपछि समुचित व्यवस्थापन गर्न नभूलौं
मधुमेहको उपचार नगरी बस्दा हृदयघातको जोखिम ४–५ गुणाले बढ्छ भने उच्च रक्तचापको उपचार नगराउँदा हृदयघातको जोखिम २–३ गुणाले बढी हुन्छ । उच्च रक्तचाप, मधुमेह, धुम्रपान गर्ने, शारीरिक व्यायाम नगर्ने, परिवारका सदस्यलाई हृदयघात भइसकेको व्यक्तिहरु उच्च जोखिममा हुन्छन् ।
म कहाँ उपचारका लागि आउने कतिपय बिरामी ४०–४२ वर्षदेखि नियमित उच्च रक्तचाप, मधुमेहको औषधि सेवन गरिरहेका छन् । रोग लागेपछि समुचित व्यवस्थापन गर्नुपर्छ ।
आफ्नो स्वास्थ्यप्रति गम्भिर बनौं
दुर्गम, सुगम, पढे–नपढेको व्यक्ति भन्दा पनि मानिस आफ्नो स्वास्थ्यप्रति कतिको सचेत छ भन्नेमा निर्भर हुन्छ । कतिपय पढे–लेखेका माथिल्ला तहको जिम्मेवारी निर्वाह गर्ने मान्छेहरु पनि आफ्नो स्वास्थ्यप्रति गम्भिर भएको देखिदैन । प्रेसरका औषधि खानुहुँदैन, बानी लाग्छ भन्ने समुह पनि छन् । कतिपय सामान्य लेखपढ गर्ने मानिस जो गाउँघरमा बस्छन् उनीहरु रोग लागेमा तुरुन्तै उपचार गराइहाल्नुपर्छ अन्यथां दुःख पाइन्छ भनेर उपचार गराउँछन् । साधारणतया पढेलेखेका मानिसलाई रोगबारे ज्ञान हुन्छ । नपढेकाले रोगको खराब पाटोबारे थाहा नपाउँदा कम ध्यान दिन्छन् । सहर बजारका मानिसहरु तुलनात्मक रुपमा सचेत हुन्छन् । स्वास्थ्य चेक जाँच र उपचारको सुविधा उपलब्ध हुन्छ । दुरदराजमा बस्ने मानिसहरुको आर्थिक स्थिति र स्वास्थ्यसंस्थाको पहुँचले फरक पार्नसक्छ ।
औषधि सेवनमा हेलचेक्र्याइँ नगरौं
नियमित औषधि खान बिर्सन हुँदैन । कतिपय बिरामीहरुलाई एक डोज औषधि मिस गर्दा पनि पक्षघात, हृदयघात भएको छ । औषधि नपाएर, जचाँएर मात्र खाने भनेर दुइ हप्तादेखि महिना दिनसम्म छोड्दा पनि केही नभएर आउने पनि छन् । तर, औषधि सेवनमा हेलचेक्र्याइँ गर्नुहुँदैन ।
नराम्रो लत छोड्नुहोला
मेरो प्राक्टिसका क्रममा सुर्तिजन्य पदार्थ, मदिरा सेवन गर्नेहरुको नाम नोटमा लेखेर राख्छु । फलोअपमा आउँदा सोध्ने गर्छु । कतिले छोडेँ भनेर ढाँट्छन् । यस्ता व्यक्तिलाई अर्को पटक आउँदा घरपरिवारको एउटा साथी लिएर आउनुस् भन्छु ।
कतिपय बिरामी एकपटक बुझाएपछि आफ्नो बानी सुधार्ने प्रयास गर्छन् । सुर्तिजन्य पदार्थ, मदिराको लत लागेपछि छोड्न गाह्रो हुन्छ । केहीले प्रयास नै गर्दैनन् । कसैले प्रयास गरेपनि छाड्न सक्दैनन् ।
आफूले सेवन गर्ने औषधिको गुणस्तर ख्याल गर्नुहोस्
अहिले पनि नेपालका सबै मानिस आर्थिक दृष्टिले सक्षम र सबल छैनन् । कतिलाई स्वास्थ्य बीमाको औषधिले निकै भरथेग गरेको हुनसक्छ । स्वास्थ्य भन्दा ठूलो केही छैन । बीमाले दिएको औषधिले काम नगरेमा जोहो गरेरै भएपनि किनेर खानुस् । बीमाले दिएको औषधि कम्पनि स्थापित कम्पनीको हो होइन, कस्तो खालको औषधि हो भनेर क्रसचेक गर्नुपर्छ । स्थापित कम्पनीको नाम चलेकै औषधि हो भने भने लिनुस् । उच्च रक्तचाप, मधुमेह नियन्त्रणमा आएमा त्यस प्रकारका औषधिलाई निरन्तरता दिन सकिन्छ । दम, नशा सम्बन्धि पार्किन्सनिज्म भएका बिरामीले बिमाको औषधि खाएर निको नभएमा अन्य औषधि म्यानेज गर्नुपर्छ ।
डाक्टरको सल्लाहअनुसार फलोअपमा बसको राम्रो
औषधि खाएर राम्रो अनुभव गरेका र स्वास्थ्य अवस्था सामान्य भएका बिरामीले वर्षमा एकपटक जाँच गराउन सल्लाह दिन्छु । अप्ठेरो भएमा जुनसुकै समयमा पनि आउन सकिन्छ । गम्भीर रोग भएकाहरुले डाक्टरको सल्लाहअनुसार फलोअपमा बस्नुपर्छ । बिरामीको रोगको गम्भिरता, रोगको अवस्था र उसलाई अप्ठ्यारो भएनभएको कुरालाई ख्याल गरेर फलोअपको समय दिने गर्छु ।
वर्षमा एकपटक नियमित जाँच गराउनुहोस्
उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिहरुले कम्तिमा वर्षमा एकपटक रगतको मात्रा, मिर्गौलाको काम (क्रियाटिनिन जाँच), लिपिड प्रोफाइल र आवश्यकता अनुसार सुगरको जाँच गराउनुपर्छ । लक्षण र रोगको स्टेजको आधारमा थप मुटुको जाँच, पेटको अल्ट्रासाउन्ड गर्नुपर्ने हुनसक्छ ।
तनाव व्यवस्थापन गर्न नभूल्नुहोला
तनावले रक्तचाप बढाउँछ । तनावले रक्तचाप बढाएमा पहिला तनाव व्यवस्थापन गर्नुपर्छ । यसलाई जीवनपद्धति सुधार भनिन्छ ।
यदि प्रेसर नियन्त्रणमा नआएमा औषधि सेवन गर्नुपर्छ । अन्यथा मिर्गौला, आँखा, मुटु, मस्तिष्क सबै अंग बिगार्नसक्छ ।
उच्चरक्तचापका बिरामीले खानपानमा ध्यान दिनुपर्छ
सन्तुलित भोजन सबैका निम्ति एउटै हो । नुन, चिल्लो बढी नभएको, सागपात, फाइबर– रेशायुक्त खाना, होल ग्रेन (मकैको च्याख्ला, ब्राउन राइस, गुहँको च्याख्ला, जहुँको ढिडो) आदि खान सकिन्छ । घ्यू हालेको, झुटेको भात, तारेको मासु स्वास्थ्यवद्र्धक खानेकुरामा पर्दैनन् । बोसो, छाला, भित्री अंग नभएको राम्रोसँग पकाएको मासु खान सकिन्छ । पशुको भन्दा कुखुरा, हाँस आदि मासु स्वास्थ्यका लागि राम्रो ठहरिन्छ ।