Logo
|
Friday 29th March 2024
Logo

epaper

बिरामीलाई फार्मेसीमा नपठाएको भन्दै सञ्‍चालकले कुटे एम्बुलेन्स चालक



बिरामीलाई फार्मेसीमा नपठाएको भन्दै सञ्‍चालकले कुटे एम्बुलेन्स चालक

जनस्वास्थ्य सरोकार, विराटनगर ।  विराटनगर महानगरपालिका ३ स्थित विराटनगर अस्पताल अगाडि सञ्चालनमा रहेको हाम्रो गोलबजार फार्मेसी (औषधि पसल) का सञ्चालक रविन्द्र महतोले एम्बुलेन्स चालकमाथि कुटपिट गरेका छन् ।

सिरहाको धनगढी नगरपालिका ७ घर भएका २१ वर्षीय महतोले आफ्नो फार्मेसीमा औषधि किन्न बिरामी नपठाएको भन्दै एम्बुलेन्स चालक सुनसरीको धरान उपमहानगरपालिका-११ का ५२ वर्षीय रामकुमार राईलाई कुटपिट गरेका हुन् ।

शुक्रबार बिहान भएको कुटपिटबाट पूर्णबहादुर स्मृति प्रतिष्ठानको को १ च ६४५४ नम्बरको एम्बुलेन्सका चालक राई घाइते भएका छन् । उनको दायाँ आँखा र ढाडमा चोट लागेको छ । कुटपिटमा संलग्न फार्मेसी सञ्चालक महतोलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए ।

उनकाअनुसार पीडितबाट जाहेरी परेपछि थप कारबाही अघि बढाइने छ । उक्त फार्मेसी दुई साताअघि मात्रै सञ्चालनमा आएको हो । प्रहरीकाअनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको सिरहाका अढाई वर्षीय बालक आशिष यादवलाई लिएर एम्बुलेन्स विराटनगर आएको थियो ।

निमोनियाले अन्तिम अवस्थामा पुगेका कारण उपचार ठीक नहुने भन्दै प्रतिष्ठानले रेफर गरिदिएपछि बालकलाई थप उपचारका लागि विराटनगर लिएर आएको चालक राईले बताए । उनकाअनुसार टंकीसिनवारीमा रहेको विराट टिचिङ अस्पतालमा एनआईसीयू खाली नभएपछि बालकलाई विराटनगरको ग्रीनक्रस अस्पताल लगियो ।

अवस्था चिन्ताजनक रहेको भन्दै ग्रीनक्रसका चिकित्सकले पनि बालकलाई भेन्टिलेटरमा राख्नु पर्ने सुझाव दिएपछि विराटनगर अस्पताल ल्याइएको उनको भनाइ छ । ‘विराटनगर अस्पताल भित्र प्रवेश नगरिकन बिरामीका आफन्तलाई आफ्नो फार्मेसीबाट औषधि किन्ने वातावरण बनाइदिन आग्रह गर्दै केही फार्मेसी सञ्चालकले एम्बुलेन्सलाई घेरिहाले, ‘ चालक राईले भने, ‘बालकको अवस्था गम्भीर रहेका कारण एम्बुलेन्सलाई बाटो नछेक्न आग्रह गर्दा भीडमा रहेका एकजनाले म माथि दुरव्यवहार गर्दै कुटपिट गर्न थाले ।’

अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेको केही बेरमै बिरामी बालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी गौतमले आफ्नो फार्मेसीमा बिरामीका आफन्तलाई औषधि किन्ने वातावरण बनाइदिन आग्रह गर्दै आएका फार्मेसी सञ्चालकले दुरव्यवहार गर्दै एम्बुलेन्स चालकलाई कुटपिट गरेको बताए ।

त्यस लगत्तै महतो पक्राउ परेपछि उनले सञ्चालन गरेको फार्मेसी बन्द छ । ‘अन्तिम अवस्थाका बालकलाई थप उपचारका लागि लिएर आएको एम्बुलेन्स चालकमाथि कुटपिट भएको घटनालाई गम्भीर रुपमा लिइएको छ,’ गौतमले भने, ‘गहन ढंगबाट अनुसन्धान गर्दै कारबाही अघि बढाइने छ ।’अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्