मिर्गौलाको आयु आफ्नै हातमा
नमुना उलक (पोषणविद्) । मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । यो हाम्रो ढाडको पछाडी २ वटा हुन्छ । एक मिर्गौला ४ इन्च जतिको हुन्छ । मिर्गौलाले शरीरमा भएको रगतलाई सफा गरेर त्यसमा भएको फोहोरलाई पिसावको माध्यमबाट बाहिर फाल्ने काम गर्छ ।
शिशुको मिर्गौला आमाको पेटभित्र बन्छ । पोषिलो, स्वस्थ र सन्तुलित भोजन गरेका आमाबाट जन्मेका नवजात शिशुहरुमा स्वस्थ्य मिर्गौला हुने गरेको छ ।
२.५ केजी भन्दा कम तौल लिएर जन्मिएका शिशुहरुको कमसल खालको मिर्गौला हुनसक्छ । एउटा स्वस्थ्य मिर्गौलामा १० लाख नेफ्रोन्सहरु रहेका हुन्छन् । तर अस्वस्थ्य मिर्गौलाभित्र १० लाख भन्दा कम नेफ्रोन्स हुने विभिन्न अनुसन्धानहरुले प्रमाणित गरिसकेका छन् । त्यसैले शिसुको स्वस्थ्य मिर्गौलाका लागि गर्भावस्थादेखि नै ख्याल गर्नुपर्छ ।
स्वस्थ्य मिर्गौला भएका व्यक्तिहरुको पनि चुरोट खैनी, जाँड रक्सीको सेवन, खानाको तालिका असन्तुलन, धेरै फास्टफुड, प्याकेट खाना, तेल चिल्लो खाना, धेरै नुनिलो, गुलियोको सेवन, पानी कम पिउने, शरीरिक अभ्यासमा ध्यान नदिने आदि कारण मिर्गौला बिग्रने सम्भावना धेरै हुन्छ ।
कमसल मिर्गौला लिएर जन्मेकाहरुले खानपान र स्वस्थ्य जीवनशैलीमा ख्याल गरेमा दीर्घ जीवन पाउने सम्भावना बढ्छ । त्यसैले मोटोपन प्रति ध्यान दिने, उच्चरक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने, दुखाइ कम गराउने औषधि धेरै सेवन नगर्ने, व्यायाम गर्ने, प्रशस्त पानी पिउनाले मिर्गौला जोगाउन सकिन्छ ।
मिर्गौला रोगको मुख्य लक्षण भनेको उच्च रक्तचाप र शरीर सुन्निने हो । तर पहिलो चरणमा लक्षण नदेखिन पनि सक्छ । पिसाव र रगत जाँचबाट समस्या थाहा पाउन सकिन्छ ।
मिर्गौला रोग लागेकाहरुले चिकित्सकको सल्लाहमा औषधि सेवनका साथै स्वस्थ्य खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ । स्वाद होइन स्वास्थ्यमा ख्याल राखौँ । खानपानको व्यवस्थापन गर्दा व्यक्तिको उमेर, उचाइ, तौल, लिङ्ग, दैनिक कामको अवस्था आदिलाई ध्यान दिनुपर्छ ।
खानामा ध्यान दिनुपर्ने कुरा
प्रोटिनयुक्त खानेकुरा जस्तैः माछा,मासु, अण्डा, दाल, दही, दुध, गेडागुडी आदिको सेवनले मिर्गौैलाको काम बढाउँछ । तर मिर्गौलाको कार्य क्षमताको आधारमा सिफारिस गरेको भन्दा बढी खान हुँदैन ।
शरीरमा प्रोटिनको राम्रो प्रयोगका लागि सिफारिस गरेको ५०–६० प्रतिशत उच्च प्रोटिन भएको खानेकुरा जस्तै मासु, माछा, दही, गेडागुडी, अण्डा आदि निर्धारित मात्रामा समावेश गर्नुपर्दछ ।
शक्ति दिने खानेकुरा विभिन्न प्रकारका अन्न गुलियो पदार्थ, चिल्लो पदार्थ आदि कम भएमा कुपोषित हुने र शरीरका तत्व टुक्रिने हुनाले त्यस्तो खानेकुरा आवश्यकमात्रामा प्रयोग गर्नुपर्दछ । रक्तचाप बढ्ने सुन्निने आदि समस्या हुने व्यक्तिले नुन निर्धारित रुपमा प्रयोग गर्नुपर्दछ ।
पिसाव कम भएमा वा शरीर सुन्निएमा पिसावको आधारमा मात्र पानी पिउनुपर्छ । रगतमा पोटासियमको मात्रा धेरै भएमा पोटासियम कम भएका खानेकुरा जस्तैः ब्रो काउली, सिमी, अण्डाको सेतोभाग, रातो मुला, भन्टा, स्याउ, भुइँकटर आदि ठिक्क मात्रामा खान सकिन्छ ।
पोटासियम धेरै भएका खानेकुरा जस्तैः केरा, एभोकाडो, किसमिस, सुन्तला, गोलभेडा, नट, कर्कलो लट्टे, पालुङ्गो, काचँो मेवा आदिको सेवन नगर्नु वेश हुन्छ । सब्जी पकाउनुभन्दा पहिले मसिनो गरेर काटेर पानीमा २ घण्टा जति भिजाएर त्यो पानी फाल्ने (लचिङ मेठड) अपनाउनु पर्दछ । त्यसै गरि फस्फोरस बढी भएमा फस्फोरस कम भएका खानेकुरा समावेश गर्नुपर्छ ।
एकै प्रकारका खानेकुरा खाँदा बिरामीलाई खाना प्रति अरुचि हुने भएकाले रोग अनुसार खान मिल्ने खानामा ध्यान दिन जरुरी छ । निर्धारित चामल र पिठोबाट भात र रोटीमात्र नदिइ सावुदान, खिर, परौठा आदि बनाउन सकिन्छ ।
दिनहुँ एउटै खालको सब्जी लिनुभन्दा कहिले मेथिको साग, चिचिन्डा, रातो मुला, लौका, पर्वल आदिको सब्जी दिन सकिन्छ । तर सब्जीमा आलुको प्रयोग कम गर्ने अथवा नगरेमा राम्रो हुन्छ । दिउसो ८० देखि १०० ग्राम सम्म भुँइकटर, स्याउ, अम्बा, खरबुजा, इस्ट्रबेरी दिन सकिन्छ । प्याकेटका खाना, पापड, केक,चिसो पेय पदार्थ, सुकेका माछा, मासुु अदिभने पटक्कै खानुहुन्न ।
त्यसैले हामीले समयमै नियमित शारीरिक व्यायाम गर्ने, समयमा आफ्नो चिकित्सकसँग सल्लाह लिने, आफ्नो औषधिको उचित तथा नियमित प्रयोग गर्ने खानपानमा ध्यान दिने, तनावमुक्त रहने, समयमा नास्ता खाने बानी बसालेमा जीवनशैलीले लाग्ने घातक रोगबाट बच्न सकिन्छ । आफूलाई यति कुरा जानकारी भएमा र पालना गर्न सकेमा समस्त परिवार निरोगी र खुशी रहन मद्धत गर्छ ।