Logo
|
Thursday 25th April 2024
Logo

epaper

कस्ता समस्यामा लेजर उपचार सेवा लिने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सबै मानिसको सुन्दर र स्वास्थ्य हुने चाहना हुँदाहुँदै पनि बढ्दो उमेर, चायापोतो, अनावश्यक रौं पलाउने, चाउरीपना, दुर्घटनाबाट भएका चोट, हर्मोनको गडबडीले हुने अनुहार र शरीरका विभिन्न भागका दागलगायतका समस्याले सुन्दरता र आत्मविश्वास घटाइरहेको हुन्छ । कुनै दाग बिस्तारै आफैं हराएर जान्छन् भने केही जीवनभर रहने खालका हुन्छन् । आजकल विश्वमा छालामा देखिएका दाग धब्वाहरु स्थायी रुपमा हटाउन लेजर प्रविधि निकै नै भरपर्दो र लोकप्रीय हुँदै गएको छ । विभिन्न किसिमका शल्यक्रिया, विभिन्न रोगको उपचार र शारीरिक शौन्दर्यताका लागि पनि लेजरको व्यापक प्रयोग हुँदै आएको छ । लेजर प्रविधिका नयाँ उपयोगहरु कस्मेटिक डर्माटोलोजीमा मात्र सिमित नभई कपाल उमार्न, कपाल प्रत्यारोपण गर्न, नङको ढुसीको संक्रमणको उपचार गर्न, छालाको रोग जस्तै सेतो दुवी र सोरायसिसको उपचार पनि प्रयोग गरिन्छ । छालामा लेजर गर्दा चिकित्सकीय सल्लाहमा मात्र गर्न उचित मानिन्छ । लेजर सेवा दिने चिकित्सक अथवा स्वास्थ्यकर्मी पनि लेजरको विषयमा यथेष्ट ज्ञान र तालिम प्राप्त भएको साथै अनुभवी हुन जरुरी हुन्छ ।
लेजर के हो ?
(LASER- Light Amplification By Stimulated Emission of Radiation )
लेजर एक प्रकारको ‘लाइट डिभाइस हो जसले तीब्र मोनोक्रोमाटिक परावैजनी किरण प्रवाह गरी लक्षित तन्तुलाई निष्कृय पारी अनावश्यक चिजलाई सटिक रुपमा हटाई आवश्यक चिजलाई जोगाएर राख्न मद्धत गर्छ । यसमा इलेक्ट्रोम्याग्नेटिक रेडियसनको प्रयोग गरिएको हुन्छ र लेजर पद्धतिबाट डण्डिफोरका खत, चोटपटकबाट लागेका खत, मुसा, कोठी, तिलकोठी, चाँया (पोतो), जन्मजात कोठी, ट्याटु, अनावश्यक रौं हटाउन निकै नै प्रभावकारी सिद्ध भएका छन् । लेजर एब्लेटिभ र नन् एब्लेटिभ गरी दुई प्रकार हुन्छन् । शरीरमा घाउ बनाएर गरिने एब्लेटिभ लेजर हो भने लाइट पास गरी घाउ नबनाई गरिने उपचार नन एब्लेटिभ लेजर हो । अहिले नन्एब्लेटिभ लेजर निकै लोकप्रीय बन्दै गएको छ ।
लेजर किन गराउने ?
मेडिकल उपचार पद्धतिले मात्र गर्न नसकेका कुरा र मेडिकल उपचारमा मद्धत लिन लेजर गरिन्छ । जस्तैः खत, चायाँपोतो, तिलकोठी मासु पलाएको (स्किन ट्याग मुसा) शरीरका कुनै भागमा दाग धब्वा, विभिन्न पोर्स, अनावश्यक रौंहरु, भास्कुलर कोठी आदि हटाउन लेजरको प्रयोग गरिन्छ । त्यसैले विभिन्न रोगको लागि फरक फरक खालका लेजरहरु आविश्कार भएका छन् । त्यसैले पोर्सको उपचार औषधिले मात्र सम्भव हुँदैन । खत लगायत विभिन्न्न असम्भव समस्याहरुलाई लेजरको सहायताबाट सम्भव तुल्याएको छ । यति मात्र नभई स्किन रिजुभिनेसन गर्न लेजरको एकदमै महत्वपूर्ण भुमिका हुन्छ । चाउरीपनालगायतका विभिन्न समस्यामा लेजरको माध्यमबाट उपचार गरी जवान देखाउन मद्धत गर्छ । तर लेजर जादुको लठ्ठी होइन । हरेक समस्याको लागि हरेक प्रकारको लेजर बनाइएको हुन्छ । एउटै लेजरले सबै समस्याको समाधान गर्न सक्दैन । तर विभिन्न प्रकारको लेजरको सहायताबाट एकै पटकमा धेरै समस्याहरुको उपचार गर्न सकिन्छ । यसरी विभिन्न समिश्रणका लेजर प्रयोग गरी प्रयोगकर्ताहरुले थोरै समयमा अधिकतम सन्तुष्टी लिन सक्छन् । आजकल लेजर प्रविधिले एकदमै सुरक्षित र प्रभावकारी उपचार गर्न मद्धत गरेको छ जसले पहिला प्रायः उपचार असम्भव जस्तै भएका रोगहरुलाई पनि सम्भव गराएको छ ।
कुन लेजरले के काम गर्छ ?
कार्वनडाइ अक्साइड लेजर ट्युमर (मुसा, मासु पलाइएको, साना फोका, कालो कोठी) निकाल्न प्रयोग गरिन्छ । फ्र्याक्सनल कार्वनडाइअक्साइड लेजर खत, पोर्स, पिग्मेन्ट, चाउरीपन हटाउन प्रयोग हुन्छ । ट्रिपल वेभ लेन्थ डायोड लेजर पर्मानेन्ट हेयर रिडक्सनका लागि प्रयोग गरिन्छ । पिग्मेन्टरी वा पिको सेकेन्ड एन्डियाग लेजर जुन अहिले नेपालमा नै पहिलोपटक नेपाल मेडिसिटी हस्पिटललमा मात्र भित्र्याएको छ । यसले जुनसुकै रङ्गको ट्याटु निकाल्न सकिन्छ । साथै अनुहारमा भएको भएको पोतो (चाँया), तिलकोठी, जन्मौटे दाग खतहरु हटाउन सकिन्छ । भास्कुलर लेजर भास्कुलर कोठीहरु हटाउन प्रयोग गरिन्छ ।
लेजर कति पटकसम्म गर्नुपर्छ ?
कतिपय समस्यामा एकपटक गरिएको लेजरबाट समाधान हुन्छ भने कतिपयमा निश्चित कोर्ष पुरा गर्नुपर्छ । जस्तोः मासु पलाएको समस्यामा एक पटकको लेजरबाट समस्या समाधान हुन्छ । कुनै कोठी एकै पटकमा निस्कन्छ भने कुनै कोठी २ देखि ३ पटकसम्म गर्नुपर्ने हुनसक्छ । खत, अनुहारको पोर्स, स्किन रिजुवेसनका लागि गरिने लेजर हरेक एकदेखि डेढ महिनाको अन्तरालमा आवश्यकताअनुसार ४ देखि ८ पटकसम्म गर्नुपर्ने हुनसक्छ । त्यसैले कतिपटकसम्म लेजर गर्ने भन्ने समस्याको प्रकृतिमा भर पर्छ । तर लेजर गरेर समस्या समाधान भइसकेपछि पुन बल्भिने र बिग्रने भन्ने हुँदैन ।
लेजरको साइड इफेक्ट छ कि छैन ?
लेजरको साइड इफेक्टबारे धेरै मानिसको चिन्ता र चासोको विषय पनि हो । लेजर गराएका व्यक्तिमा भविष्यमा गएर क्यान्सरलगायतका अन्य शारीरिक समस्या हुने होकि भन्ने जुन मानिसमा व्यक्ति छ । त्यो नितान्त गलत हो किनभने आयोनाइजिङ रेडिएसनले मात्र क्यान्सर गराउन सक्छ । लेजर भनेको आयोनाइजिङ रेडिएसन होइन । त्यसैले यहाँहरुले ढुक्क भएर लेजर गराउन सक्नुहुन्छ । लेजर भनेको एक प्रकारको सर्जरी नै हो । यसमा व्यक्तिलाई बेहोस बनाइँदैन । लेजर गर्ने भागमा मात्र लट्याएर गर्ने भएकाले एनेस्थेसियबाट हुनसक्ने अन्य कुनै समस्या हुँदैन । सम्भावित खतरा पहिचान गरी दक्ष, तालिम प्राप्त अनुभवी व्यक्तिबाट लेजर गरेमा कुनै समस्या आउँदैन । यसमा ढुक्क भए हुन्छ ।
लेजर कसलाई गर्न हुँदैन ?
लेजर बच्चादेखि बृद्धबृद्धा सबैलाई गर्न सकिन्छ । तर सामान्यतया गर्भवती र सुत्केरी महिला, संक्रमित छाला, घामले ढडेको छालामा गर्न हुँदैन । गर्नै परेमा थप सावधानी अपनाउनुपर्छ ।
लेजर गरेको व्यक्तिले के के कुरामा ध्यान दिनुपर्छ ?
लेजर गरेका व्यक्तिले घामबाट जोगिनुपर्छ । अन्यथा यसले कालो दाग बसाउन सक्ने सम्भावना एकदमै धेरै हुन्छ । त्यसैले आफ्नो जीवनशैलीमा पनि ध्यान दिनुपर्छ । सन्तुलित खाना खानुपर्छ । यसका साथै लेजर गर्दा उपयुक्त ठाउँ र चिकित्सक पहिचान गर्नुपर्छ । दिनमा करिब ३ पटक सनस्क्रिन लगाउनुपर्छ । लेजर गर्दा बसेको पाप्रा कोट्याउन हुँदैन । कहिलेहाँही संक्रमण हुन सक्ने भएकाले चिकित्सकको सल्लाहमा एन्टीबायोटिकको प्रयोग गर्नुपर्ने हुनसक्छ ।
(डा. श्रेष्ठ नेपाल मेडिसिटी अस्पतालको चर्म तथा यौन रोग विभागको प्रमुख हुनुहुन्छ । उहाँले कस्मेटिक सर्जरी, कपाल, छाला र नङसम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्दै आउनुभएको छ । )

प्रतिक्रिया दिनुहोस्