Logo
|
Saturday 4th January 2025
Logo

epaper

के हो इन्जेक्टेबल फिलर्स ?




छालामा एजिङको प्रभाव कम गर्न र अनुहारमा नमिलेका भाग मिलाउन इन्जेक्टेबल फिलर्स प्रयोग गरिन्छ । यो थेप्चे नाक मिलाउन, ओठहरु ठूलो र आकर्षक बनाउन, गालाको साइज ठूलो र आकर्षक बनाउन प्रयोग गरिन्छ भने धेरै उमेर भएपछि हुने नाकको छेउका धर्साहरु, अनुहारको मासु सोरिएर बीचमा आएको, चिउँडोमा छाला लत्रिएर झरेको जस्ता भोलुम लसलाई मर्मत गर्न प्रयोग गरिँदै आएको छ ।
इन्जेक्टेबल फिलर्समा हायलुरोनिक एसिडको प्रयोग भएको हुन्छ र यसले खाली भएको ठाउँ पुर्छ । यसको परिणाम १० देखि १५ मिनेटको बीचमा देखिन्छ । हायलुरोनिक एसिड एक प्रकारको नरम तन्तु हो । यो एक प्रकारको कोलाइजन जस्तै हुन्छ । खाली घैलामा पानी हालेर भरे जस्तै यसले खाली भएको छालाको भागलाई पुर्छ । यो एक प्रकारको डर्मा फिलिङ हो र यो प्रयोग गर्दा कुनै एलर्जीक रियाक्सन हुँदैन ।
यसको प्रयोग गर्दा घोचेको ठाउँमा निलो हुनसक्छ । कसैकसैलाई एक दुई दिन अनुहार सुन्निनसक्छ । यसका लागि औषधि र मल्हमको प्रयोग हुन्छ । इन्जेक्टेबल फिलर्स लगाउँदा आर्टरीमा परेमा अन्धो पनि हुनसक्ने सम्भावना भएकाले यसमा दक्ष र तालिम प्राप्त अनुभवी चिकित्सकको जरुरत पर्छ । इन्जेक्टेबल फिलर्स लगाउँदा अहिलेसम्म करिब ७० देखि ८० जना अन्धो भएको विश्वव्यापी तथ्यांक छ ।
नेपालमा पनि थोरै ठाउँमा चिकित्सकहरुले इन्जेक्टेबल फिलर्सको प्रयोग गर्दै आएका छन् । तर अहिलेसम्म नेपालमा कुनै समस्या भएको छैन । यसका लागि क्षमता, अनुभवी, गुणस्तरीय सामान, प्रभावकारी परामर्श र आकस्मिक जोखिम व्यवस्थापन गर्ने क्षमता भएमा प्रयोगकर्ताले डराउनु पर्दैन ।
इन्जेक्टेबल फिलर्स हार्ड, माइल्ड र सफ्ट गरी ३ प्रकारका हुन्छन् । छालाको अवस्था अनुसार यो लगाइन्छ । एक पटक फिलर्स गरेपछि पटक पटक गरिरहनुपर्छ । पातलो फिलर्स एक वर्षसम्म टिक्छ । ठिकै खालको डेढ वर्षसम्म टिक्छ र बाक्लो दुई वर्षसम्म टिक्नसक्छ । आँखाको छेउमा सफ्ट टाइपको पिलर्स लगाइन्छ । यसको मुल्यमा त्यति फरक छैन । राम्रो कम्पनिको एक एमएलको ४०—५० हजार रुपियाँसम्मसम्म पर्छ ।
(डा. खतिवडा काठमाडौंको बिजुलीबजारस्थित नेपाल स्किन हस्टितलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्