Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

सौन्दर्यता फिर्ता ल्याउने उपचार ‘बोटक्स’

अनुहारमा तेर्सो धर्सा परमानेन्ट बस्नुभन्दा अगाडी टेम्पोरी अवस्थामा बोटक्सले गर्छ राम्रोसँग काम



हरेक व्यक्तिको इज्जत र प्रतिष्ठामा सौन्दर्यताले निकै महत्व राख्छ । सौन्दर्यताले व्यक्तिको व्यक्तित्व झल्कनुका साथै मानसिक रुपमा पनि निकै सन्तुष्ट महसुस दिलाउँछ ।  यद्यपी खाना चपाउँदा, मुख खोल्दा/बन्द गर्दा मांसपेशी चलिरहेको हुन्छ । यसलाई मसल्स अफ म्यास्टिगेसन भनिन्छ । अचम्म लाग्दा निधार खुम्चिने, हाँस्दा आँखा वरिपरिका मांसपेशी खुम्चिने अभिव्यक्ति दिँदा चल्ने मांसपेशी हुन् । यी मांसपेशी प्रयोग हुनेबेला माथिको छाला फोल्ड (पट्टिने) हुन्छ । मांसपेशी कार्य भएको लाइनको ९० डिग्रीमा चाउरीपना बस्छ । यसरी मांशपेशीको क्रियाकलाप बढ्दै जाँदा लाइनहरु पनि बस्दै जान्छन् । हामी यसलाई अनुहार अभिव्यक्ति (एक्सप्रेसन) को मांसपशीहरु भन्ने गर्दछौं । हाम्रो उमेर बढ्दै जाँदा छालाको तन्काई खुकुलो हुँदै जान्छ । कम उमेर हुँदा अभिव्यक्तिको क्रममा लाइन बसेपनि तुरुन्तै मेटिन्छ । यो टेम्पोररी चाउरीपना हो । तर उमेर बढ्दै गएपछि भने स्थायी रुपमा तेस्रो धर्सा बस्न थाल्छ ।  कुनै पनि अभिव्यक्ति नदिँदा बसेको तेस्रो धर्सालाई स्ट्याटिक लाइन र अभिव्यक्ति दिँदा बसेको धर्सालाई डायनामिक लाइन भनिन्छ । शान्त अवस्थामा कुनै अभिव्यक्ति नदिँदा बसेको चाउरीपनामा बोटक्सले काम गर्न गाह्रो हुन्छ ।
त्यसैले अनुहारमा तेर्सो धर्सा परमानेन्ट बस्नुभन्दा अगाडी टेम्पोरी अवस्थामा बोटक्सले राम्रोसँग काम गर्छ । निधार, आँखा र मुखको वरिपरि तेस्रो धर्सा बस्नुभन्दा पहिला बोटक्स इन्जेक्सन लगाउन सके राम्रो परिणाम प्राप्त हुन्छ ।
बोटक्स एक प्रकारको औषधि हो । यसलाई प्रोटिन पनि भनिन्छ । यो इन्जेक्सन फर्ममा हुन्छ । यसले अनुहारको मांशपेशीलाई आराम गरिदिन्छ । यो चाउरिपना कम गर्न दिइने इन्जेक्सन हो ।
बोटक्सको गुणस्तर ?
संसारभर सबैभन्दा धेरै बोटक्स ब्रान्ड प्रयोग हुँदै आएको छ । यसको गुणस्तर अन्य कम्पनिको तुलनामा धेरै राम्रो छ । नेपालमा बोटक्स ब्राण्ड मात्र दर्ता भएको छ । बोटक्सको जेनेरिक नाम बोटुलिनियम हो । विशेषगरी बोटक्स चाउरिपना तन्काउन प्रयोग गरिने इन्जेक्सन हो । यो इन्जेक्सनले अनुहारको मांसपेशीलाई बढी तन्किन र गतिविधि भन्दा बढी गर्न दिँदैन । पहिला इन्जेक्सन दिँदा धेरै बोटक्स हालेर दिइन्थ्यो जसले गर्दा छालाले एकदमै कम काम गथ्र्यो । हाँस्दा पनि धेरै अभिव्यक्ति दिन सकिदैनथ्यो । यसबाट परिणाम पनि राम्रो पाइएन । आजकल सम्बन्धित भागमा न्युन मात्रामा बोटक्सको प्रयोग गरिने भएकाले अभिव्यक्ति दिन मिल्छ । धर्सा पनि बस्दैन । औषधिको गुणस्तर राम्रो भएकाले टेम्पोररी चाउरीपनामा लगाएमा तीन देखि चार महिनासम्म राम्रोसँग काम गर्छ । यसले मांशपेसीको गतिविधिलाई कम गराइदिन्छ । छालाले आराम पाउँछ । तर अनुहारमा धेरै अभिव्यक्ति दिनुपर्ने व्यक्तिहरुलाई बोटक्सको प्रभाव कम समयसम्म रहन्छ । यस्ता व्यक्तिहरुले अलि चाँडै बोटक्स लगाउन जरुरी पर्छ ।

बोटक्स लगाउन छाडेपछि समस्या झन बल्झने पो हो कि ?
आफ्नो अनुहारमा चाउरिपना नहोस् भन्ने चाहना भएको समयसम्म बोटक्स पटक पटक दोहोर्याएर प्रयोग गर्न सकिन्छ । कतिपयको जिज्ञासा हुने गर्दछ कि ४ वर्षसम्म बेलाबेलामा दोहोर्याएर लगाएको बोटक्स कतै एक्कासी लगाउन छोडेपछि त्यो बेलादेखिको बुढ्यौलीपना एकैचोटी आउने त होइन ? अनुुहार बेस्सरी चाउरी पो पर्छ कि ? इत्यादी । तर यसरी लगाउन छोडेमा एक्कासी अनुहार चाउरी पर्दैन । बोटक्स इन्जेक्सनले चिाउरीपनाको अवस्थालाई पज गरेर राखिदिन्छ । इन्जेक्सन लगाउन छोडिसकेपछि पज भएर बसेको चाउरीपन बिस्तारै बढ्न थाल्छ । तर एकैचोटी बढ्दैन ।
बोटक्सको कुनै साइड इफेक्ट छ ?
बोटक्सको मात्रा राम्रोसँग मिलाएर दिँदा यसले कुनै नराम्रो असर गर्दैन । इन्जेक्सनको सियोको साइज पातलो रौं को जरा जस्तै २९ देखि ३० गजको हुन्छ । बोटक्स इन्जेक्सन न्युनतम गहिराइ (मिनिमल डेप्थ) मा दिइन्छ । यसमा रक्तनली भेटिँदैन । इन्जेक्सन लगाइसकेपछि आँखामा रक्तश्राप भएर आँखै नदेख्ने पो हो कि भन्ने हुँदैन । कहिलेकाहीँ इन्जेक्सन दिँदा छालाको माथिल्लो भागमा (सुपरफिसियल लेयर) भएको रगतको नलीबाट हल्का रक्तश्राप हुन सक्छ । कहिलेकाँही निलो पनि हुनसक्छ । यस्ता समस्या मानिसको छालाको प्रकार हेरेर सातदेखि १५ दिनमा आफै हराएर जान्छ । अरु खासै केही पनि समस्या हुँदैन । इन्जेक्सन दिने ठाउँ नमिल्दा या प्रक्रिया नपुग्दा आँखाको ढकनी (आई लिड) रिल्याक्स भएर तल झर्न सक्छ । यसले आँखा हेर्न केहि समस्या ल्याउन सक्छ । यो समस्या औषधिको समय अवधि सकिदै गएपछि आफैँ ठिक हुन्छ । कसैलाई हल्का टाउको दुख्ने, वाकवाकी लाग्ने हुनसक्छ । केही दिनमा यो आफैं निको हुन्छ ।
कस्ता रोगीले बोटक्स लगाउन मिल्दैन ?
बोटक्स माइनर प्रोसिड्योर भएकाले मधुमेह, उच्चरक्तचाप नियन्त्रण भएका सबैले लगाउन सक्छन् । गर्भवती महिलाले बोटक्स इन्जेक्सन लगाउन सुरक्षित हुने नहुने भन्नेबारे अहिलेसम्म कुनै अनुसन्धान नभएकाले उनीहरुलाई लगाउन सुझाव दिइँदैन । एलर्जी, मसल्ससम्बन्धि समस्या भएका व्यक्तिले बोटक्स प्रयोग गर्न मिल्दैन । यसका लागि सम्बन्धित चिकित्सकको राय र सल्लाअनुसार निर्णय लिनुपर्छ ।
बोटक्स उपचार कतिको खर्चिलो छ ?
समग्रममा बोटक्स उपचारको मुल्य सस्तो छ । आवश्यकता अनुसार बोटक्स ३० देखि ६० युनिट सम्म लगाउनुपर्ने हुनसक्छ । एक युनिटको ४ सय ५० देखि ६ सय रुपियाँ सम्म पर्दछ । त्यसैले एकपटक लगाउँदा १५ देखि २५ हजार रुपैयाँसम्म खर्च लाग्न सक्छ । तर इन्जेक्सन लगाउँदै गएपछि विस्तारै इन्जेक्सन लगाउने समयावधि बढ्दै जान्छ । दुई तीन वर्ष नियमित लगाइसकेपछि वर्षमा एक दुइचोटी लगाउँदा पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्