के हो दाद ? प्रकार, कारण, उपचार र रोकथामका उपायहरु
सामान्य भाषामा दाद छालामा लाग्ने एक प्रकारको ढुसी हो । मेडिकल भाषामा यसलाई फंगस टिनिया इन्फेक्सन भनिन्छ । पाउरोटी र अचार जस्तै छालामा पनि ढुसी पर्नसक्छ । ढुसी विभिन्न किसिमका फङ्गसका कारण हुने समस्या हो । फङ्गसले छालाको अलावा कपाल र नङ्गमा पनि संक्रमण गर्दछ । दाद शरीरको टाउकोदेखि खुट्टासम्म जहाँ पनि हुन सक्छ । समान्यतया कपाल, मुख, दाह्री, साँघुरो तथा ओसिलो (जस्तै—तिघ्रा तथा औंलाको काप) पैताला, तिघ्राको काप, हत्केला, नङ आदिमा संक्रमण हुनसक्छ ।
दाद आएपछि गोलो रङ्गको घाउ हुन्छ । यसलाई रिङ्ग वर्म भनिन्छ । बीचको भाग सामान्य छाला जस्तै सफा देखिन्छ । तर छेउमा पाप्रा आउने, रातो हुने, चिलाउने गर्छ । दाद सरुवा रोग हो । व्यक्तिगत सरसफाइमा ध्यान नदिने, बाक्लो कपडा लगाएर शरीर गुम्म बनाएर राख्ने, लामो समयसम्म जुत्तामोजा लगाएर बस्ने मानिसलाई दादको संक्रमण बढी हुन्छ । बर्षायाममा बढी खेतमा काम गर्ने व्यक्तिहरुको खुट्टाको औंलाको काप हिलोले खाने समस्या पनि दाद अन्तर्गत नै पर्दछ । त्यसबाहेक टाउकोबाट सेतो पाप्रा बनेर झर्ने र कपाल झरेर टाटा देखिने पनि दाद अन्तर्गत पर्दछन् । यदि नङ्गमा ढुसी देखिएर बारम्बार संक्रमण भइरहने, समस्या बल्झिरहने भएमा कुनै दीर्घ रोग लागेको आशंका गर्नुपर्छ । मधुमेह, स्टेरोइड सेवन गरिरहेका व्यक्तिहरुमा दादले बढी सताउने गर्छ ।
दादका प्रकार
दाद धेरै प्रकारका हुन्छन् ।
1. टिनिया फेशाई (अनुहारको दाद)
2. टिनिया क्यापीटीस क्यापिटिस (तालुको छाला र कपालमा हुने दाद)
3. टिनिया कर्पोरीस (शरीरको दाद)
4. टिनिया कुरीस (कापमा हुने दाद)
5. टिनिया पेडिस (पैतालाको दाद)
6. टिनिया मेनेम (हातको दाद)
7. टिनिया अंगुम (नङ्गको दाद)
8. पेशाई बारबी (दाह्री जुँगामा हुने दाद) आदि ।
विशेषगरी सोरायसिस र साइक्याट्रिक गरी दाद दुइ किसिमका हुन्छन् । सोरायसिस दाद छाला पातलो र हड्डी धेरै भएको ठाउँमा आउँछ । सोराइसिस शरीरभित्र आफै उत्पन्न हुने वंशाणुगत रोग हो । सोरायसिस दाद सानो उमेर वा २०/३० वर्षको उमेरमा देखिनसक्छ । सोराइसिस पहिला पत्लेदार हुन्छ । पाप्रा निस्किन्छ । चिलाउँदा सेतो धुलो झर्छ । यस्तो दाद बढी कुइनो र घुँडामा बढी हुने गर्दछ । तर यो संक्रमित रोग होइन ।
दाद किन कापमा बढी आउँछ ?
शरीरको साँघुरो भागमा गुम्सिएर बढी पसिना आउने भएकाले छालामा आद्रता र तापक्रम बढ्छ । उपयुक्त वातावरण मिलेका कारण हाम्रो सामान्य छालामा ढुुसी बढेर दादको रुपमा देखापर्छ ।
दाद हुने बित्तिकै हामी मेडिकलबाट स्टेरोइड मिसाइएका मलम ल्याएर लगाउछौँ । स्टेरोइड मिसाइएको मलमले छालाको रोगप्रतिरोधात्मक शक्ति कमजोर बनाइदिन्छ । ढुसीलाई झन् फस्टाउने वातावरण मिल्छ । शुरुमा मेडिकल पसलबाट ल्याएको मलमले केहि दिन त राम्रो काम गरेजस्तो लाग्छ । चिलाउन पनि कम हुन्छ । तर त्यसको केही दिन पछि शरीरको अन्य भागमा फङ्गस फैलिन सुरु हुन्छ ।
दीर्घ रोगमा दाद
एचआइभी संक्रमित, मधुमेह रोगी, एन्टी क्यान्सर ड्रग सेवन, प्रत्यारोपण गरेका र विभिन रोगका लागि स्टेरोइड सेवन ग र्ने व्यक्तिहरुमा रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले फङ्गसले बढी आक्रमण गर्छ । त्यसमा पनि अन्य प्रकारका फंगल संक्रमणका साथै नङ्गमा बढी आक्रमण हुन्छ । नङ्ग शरीरको ऐना भएकाले नङ्गले रोग लागे÷ नलागेको सुचना दिन पनि मद्धत गर्छ । स्वस्थ नङ सेतो र राम्रो हुन्छ । तर ढुसी परेको नङ्ग हरियो र खैरो रंगको हुन्छ भने नङ्ग बाक्लो भई बिस्तारै मासु छोड्न थाल्छ । साथै नङ्ग टुक्रिएर जान्छ । बिस्तारै दुःखाइ महशुुुुस हुन्छ र नङ्गबाट पिप पनि निस्कन थाल्छ ।
यौन संक्रमित रोग र ढुसी
यौन अंग र पाठेघरभित्र पनि ढुसी आउन सक्छ । महिलाको यौन अंग रातो भएर चिलाउने, योनीबाट छोेक्रा मिसिएको पानी बग्ने, पुरुषको लिङ्ग रातो हुने, पाप्रा आउने र चिलाउने जस्ता समस्या हुनसक्छ । यो यौन संक्रमित सरुवा रोग हो । यौनसम्पर्क गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्न सक्छ । यो प्राय गरेर क्यान्डीडाको संज्ञmमणले गर्दा हुन्छ । यो पनि एक प्रकारको शरीरमा लाग्ने ढुसी नै हो ।
उपचार
दादको प्रकार र अवस्था अनुसार उपचार शुरु गर्नुपर्छ । औषधि बीचमा छोड्न हुँदैन । यसको कोर्ष पुरा गर्नुपर्छ । शरीरले फङ्गस फाल्न २८ देखि ३० दिनको समय लगाउँछ । धेरै ठाउँमा दाद भएकाहरुले सम्बन्धित विशेषज्ञको सिफारिसमा ट्याब्लेट पनि खानुपर्ने हुनसक्छ । तर नङको ढुसीको उपचार भने अझै लामो हुन्छ ।
रोकथाम
सरसफाइमा विशेष ध्यान दिने, खुकुलो र सुख्खा कपडा लगाउनुपर्छ । शरीरलाई गुम्साएर राख्नु हुँदैन । शरीरको चेप भागमा सँधै सफा राख्नुपर्छ
एलर्जीका अनेक रुप
सामान्य भाषामा शरीर चिलाउने र रातो हुने समस्यालाई एलर्जी भनिन्छ । यस प्रकारको समस्यामा छाला चिलाएर÷रातो भएर पानीको फोका निस्किन्छ र एलर्जीको शुरुमा पोल्न थाल्छ । एलर्जी भइरहेमा छाला धेरै चिलाएर बाक्लो तथा कालो हुन थाल्छ ।
तर शरीरभित्र र बाहिर दुवै कारणले एलर्जी हुनसक्छ । होलीमा प्रयोग गरिने रङ्ग, कस्मेटिक सामान, कपालमा लगाउने रङ्ग आदिबाट एलर्जी हुनसक्छ । एसिड, केमिकल, लुगाधुने, भाँडा माझ्ने साबुनमा भएको रसायनका कारण हुने एलर्जीलाई बाहिरी एलर्जी भनिन्छ । जसमा एलर्जीक कन्ट्याक्ट र इरिटेन्ट कन्ट्याक्ट डर्मा पर्दछन् ।
विभिन्न कारणबाट हुने एलर्जी अथवा डर्माटाईटिसअन्तर्गत चाँया निस्किएर नाकको काप र कपाल चिलाउने भित्री एलर्जीले हुने समस्या हो । बच्चा जम्मेको ६ देखि ९ महिनापछि हुने एलर्जीलाई बुकुवा भनिन्छ । बच्चाहरुको गालामा अधिकांश देखिने सेतो टाटा पनि एलर्जी नै हो । यस प्रकारको समस्या ठूला व्यक्तिहरुमा घाँटीमा देखिनसक्छ । मानसिक तनावले गर्दा आउने दादमा बेलुका आराम गरेर बसेको बेला चिलाउन थाल्छ । खोस्टा, काइयो जुत्ताको ब्रसले चिलाउँदा चिलाउँदै दाद फुलेर भुक्क हुन्छ । सायद यसैलाई भैँसे दाद भनिएको हुनसक्छ । अधिकांश मानिसहरु यही नाम लिएर आउँछन् । यस्तो दादमा पाप्रा पनि आउँछ । यो तनावसँग सम्बन्धित दाद हो । यस्तो दाद हातले चिलाउन भेट्ने ठाउँहरुमा मात्र आउँछ, जस्तैः घाँटी, औँला, खुट्टा आदि ।
आर्टिकेरिया के हो ?
कहिलेकाँही झुक्किने खालका एलर्जी हुनसक्छन्, जस्तैः किराले टोकेर ओठ, आँखा सुन्निने आदि । विद्यालय पठाएको बालबलिकालाई एकाएक शरीरभर फोका आउने समस्या पनि हुनसक्छ । झुसिलकिरा हिँडेको देखेमा कतिपयको शरीरमा रसायन उत्पादन भएर डाबर आउनसक्छ । तर दुई तीन घण्टामा यो आफैँ हराउँछ । दाँतमा किरा लागेमा, फङ्गल इन्फेक्सन भएमा, औषधि सेवन गर्दा पनि एलर्जी भएर छालामा डाबर निस्कन सक्छ । यसलाई अक्युट अर्टिकेरिया भनिन्छ । यस प्रकारको समस्यामा एक्कासी ओठ र आँखा सुन्निन सक्छ । कसैकसैको श्वासप्रश्वासको नशा सुन्निएर अचानक सास नै रोकिन सक्छ । यस प्रकारको समस्यालाई मेडिकल इमर्जेन्सीको रुपमा लिइन्छ । बर्षौदेखि डाबर आउने समस्यालाई क्रोनिक अर्टिकेरिया भनिन्छ । कसैलाई कुनै खानाले पनि एलर्जी हुनसक्छ । यसरी रोगप्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिमा लामो समयसम्म एलर्जी रहनसक्छ । त्यसैले एलर्जी भएको कारण थाहा पाउन जरुरी हुन्छ । शरीरमा डाबर देखिएमा चिकित्सकलाई देखाउनुपर्छ ।
रोकथाम
एलर्जीको प्रकार छुट्याएर त्यसको सही उपचार गर्नुपर्छ । तर सबैजसो एलर्जीमा मोश्चराइजरको प्रयोग गर्नु अनिवार्य हुन्छ ।