Logo
|
Thursday 28th March 2024
Logo

epaper

‘सेतो दुवी’ मनोसामाजिक समस्या कि रोग ?




नेपालमा सेतो दुवीको समस्या दिनप्रतिदिन बढ्दो क्रममा छ । क्लिनिकमा आउने बिरामीको तथ्याङ्क हेर्दा ६ देखि ८ प्रतिशत सेतो दुवीको समस्या लिएर आउने गरेका छन् । सेतो दुवी शरीरमा छालालाई रङ्ग दिने कोषहरुको कमीले देखापर्ने समस्या हो । मेलानीन नामक रसायनले छालालाई रङ्ग प्रदान गर्छ । शरीरमा रङ्ग बढी भएको छाला कालो र रङ्ग कम भएको गोरो छाला हो । हामी नेपालीहरुको छाला मध्यम खालको हुन्छ । कसैकसैको शरीरमा रोगसँग लड्ने क्षमता बढी भई आफ्नै शरीर बिरुद्ध छालालाई रङ्ग दिने कोषहरु नष्ट हुन्छ । यो समस्या जुनसुकै उमेरमा पनि आउन सक्छ । तर साधारणतया १०—२० र ४०—५० वर्ष उमेर समूहका व्यक्तिमा बढी देखिन्छ । सेतो दुवी जीनबाट आएको समस्या भएकाले यो सरुवा रोग होइन । साधारणतया सेतो दुबीलाई रोग मानिदैन । यो क्यान्सर होइन । दुवी दुख्दैन, पोल्दैन । यो छालाको रंग मात्र खुइलिएको अवस्था हो । तर अरुले के भन्लान् भन्ने मनोवैज्ञानिक समस्या व्याप्त छ । अमेरिका र युरोपतिर यसको उपचार गरिदैन । यसको उपचार नगर्दा केही फरक पर्दैन । सेतो दुवी १० देखि ३० प्रतिशत वंशाणुगत पनि हुनसक्छ ।
सेतो दुवी शरीरको कुन अङ्गमा देखा पर्दछ ?
अटोइम्युन समस्याका कारण आफैं शरीरको प्रतिरोधक क्षमता आवश्यक भन्दा बढी भएर छालालाई रङ्ग दिने कोषलाई नष्ट गरिदिन्छ । सेतो दुवी प्रायजसो शरीरका चलिरहने अंग जस्तैः आँखा, ओठ, कम्मर, कुइना घँुडा आदिमा देखा पर्दछ । यो अरुलाई सर्दैन तर आफ्नै शरीरमा फैलनसक्छ ।
सेतो दुवी कति प्रकारका हुन्छन् ?
सेग्मेन्टल र नन सेग्मेन्टल गरी सेतो दुवी दुई प्रकारका हुन्छन् । सेग्मेन्टल भनेको शरीरको एक भागमा मात्र हुने समस्या हो । यो फैलदैन । दुवी सम्बन्धित अंगमा मात्र सिमित रहन्छ । नन सेग्मेन्टल समस्यामा दुवी शरीरका विभिन्न ठाउँमा हुने र शरीरभर फैलदै जान्छ ।
सेतो दुबीमा के गर्नुहुन्छ के गर्नुहुँदैन ?
सेतो दुबी भएको व्यक्तिले चोटपटक लाग्ने काम गर्नुहुँदैन । टाइट कपडा र जुत्ता लगाउन हँुदैन । नरम घाममा बस्दा फाइदाजनक मानिन्छ । चर्को काममा बस्न हुँदैन । सेतो दुबी भएको व्यक्तिले मद्यपान र धुम्रपानबाहेक खाना बार्नुपर्दैन ।
के सेतो दुबीको उपचार हुन्छ ?
सेतो दुबीको उपचार दुइ किसिमको हुन्छ । एउटा खाने, लगाउन र घाममा देखाउने र अर्को मेसिनमा सेक्ने जसलाई फोटोथेरापी भनिन्छ । यो प्रविधि सुरक्षित छ । गर्भवती महिला र भर्खरै जन्मेको बच्चालाई समेत दिन मिल्छ । निरन्तर २ महिनाको उपचारपछि सकारात्मक परिणाम देखिन शुरु हुन्छ । यसबाट पनि निको नभएमा छाला प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।
उपचारमा समय लाग्ने अवस्था
दुवी औंलामा भएमा, दुवी भएको भागमा सेतो कपाल भएमा, १० वर्ष भन्दा बढी पुरानो, उमेर ४० वर्ष कटिसकेको, मधुमेह, थायराइड आदि समस्यामा दुवीको उपचारमा समय लाग्छ ।
(छाला तथा यौन रोग विशेषज्ञ प्रा.डा. कर्ण काठमाडौं विश्वविद्यालय धुलिखेल हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्