Logo
|
Thursday 25th April 2024
Logo

epaper

के हो सोरायसिस ?



नेपालको सन्दर्भमा सोरायसिसका बिरामीहरुको एकिन तथ्याङ्ग छैन । तर ओपिडीमा उपचारका लागि आउने बिरामीहरुको संख्या धेरै छ । ओपिडीमा आउनेमध्ये २—५% सोराइसिसका बिरामी भेटिन्छन् । सोरायसिस समस्यामा कोषहरू द्रुत रूपमा छालामा जम्मा हुन्छन् । यसले छालामा बाक्लो तह सिर्जना गर्दछ, जुन रातो दाग जस्तो देखिन्छ । अधिकांश मानिसहरु सोरायसिसलाई कत्ले रोग भनेर चिन्ने गर्छन् । यो आनुवंशिक रोग हो । सुरुवाती अवस्थामा छालाको कुनै एक भागमा रातो भएर कत्ला झर्न सुरु हुन्छ । कोही मानिसको कत्ला टाउकोमा सिमित रहन्छ । उनीहरु कपालमा कडा चाँया परेको बुझ्छन् । कसैको हत्केला र पाइतालामा कत्ला जान थाल्छ । तर कसैलाई टाउकोदेखि खुट्टा सम्म सबै भागको छाला जाने गरि कडा किसिमको सोरायसिस पनि देखिन सक्छ । सोरायसिसलाई हेर्ने बित्तिकै यसले पछि लिने रुप थाहा पाउन सकिदैन । सोरायसिस एकचोटी आइसकेपछि शरीरका अन्य भागमा विस्तारै फैलिन सक्छ । तर यो रोग सँगै बसेर, छोएर, जुठो खाएर, एउटै कपडा लगाएर सर्ने रोग भने होइन । यो संक्रामक रोग होइन । सोरायसिस हुने÷नहुने वाह्य वस्तु भन्दा आन्तरिक जीनमा निर्भर हुन्छ ।  सोरायसिस हुने जीन भएको व्यक्तिको छालालाई वातावरणिय कारणले प्रभाव पार्दछ । मानिसहरुमा रोगको लक्षण देखिने समय फरक फरक हुन्छ । कसैलाई सानै उमेरमा देखिन्छ भने कसैलाई ४० वर्षको हाराहारीमा देखिन सक्छ । कसैकसैलाई ६० वर्ष कटेपछि पनि देखिने गरेको पाइन्छ । यो उमेरसँग सम्बन्धित रोग होइन । तर मानिसलाई कुनै पनि उमेरमा हुनसक्छ । सोरायसिसको वंशाणुगत रुप पनि हुन्छ । सोरायसिस हुने÷नहुने तय गर्ने जीन पहिलादेखि नै हाम्रो शरीरमा हुन्छ । यसलाई सोरा जीन भनिन्छ । यो जीन आमाबुबाबाट वंशाणुगत रुपमा हस्तान्तरण हुन्छ । साथै अर्को सोरायसिस जीन हाम्रो शरीरभित्र आफै उत्पति हुनसक्छ । यसले शारीरिक मात्र होइन, सामाजिक, मानसिक, भावनात्मक र आर्थिक रूपमा पनि असर गर्छ । सोरायसिस बिरामीहरूले भेदभाव र अपमानको सामना गर्नुपर्छ ।
जोखिम
यो दीर्घकालिन रोग हो । सँधै छाला जाने, रातो हुने भएकाले मानिसहरु आफुलाई रोगी महशुस गर्छन् । यसले मानसिक तनाव सिर्जना हुन्छ । कत्ला सुख्खा हुँदै गएपछि चिलाउन थाल्छ । यदि पस्टुलर सोराइसिस भएमा कत्ला पाकेर पिप निस्किन सक्छ ।

पहिचान
सोरायसिसलाई हेरेर पहिचान गर्न सकिन्छ । सोरायसिसको धब्बा अन्य रोगको भन्दा भिन्न हुन्छ । धब्बा आएको भाग रातो हुन्छ । बिस्तारै कत्ला निस्किन थाल्छ । यसलाई सिल्भरी ह्वाइट स्केल भनिन्छ । कत्लाको प्रकार, भाग, कत्ला निकाल्ने बेला छाला मुनिको रातोपना कस्तो छ हेरेर क्लिनिकल डायग्नोसिस गरिन्छ ।
उपचार
संसारमा अहिलेसम्म सोराइसिस निर्मुल पार्ने उपचार पद्धति उपलब्ध छैन । तर औषधि प्रयोगले सोरायसिसलाई नियन्त्रण गर्न सकिन्छ । जसले गर्दा जीवनयापन सहज हुन्छ । यसले गर्भावस्थामा महिलाहरुलाई कुनै असर भने गर्दैन । विभिन्न अनुसन्धानहरुबाट चुरोट र रक्सी सेवनले सोरायसिस रोगलाई झन जटिल बनाउन सक्ने तथ्य पत्ता लागेको छ । मद्यपान गर्दा सोराइसिसको औषधिले काम छाड्छ । त्यसकारण सोराइसिस भएका ब्यक्तिहरुले धुमपान र मद्यपान त्याग्नुपर्छ । सोरायसिसको स्वरुप र प्रकार हेरेर उपचार विधि अपनाइन्छ । क्रोनिक प्लेक्स सोरायसिस (एकदुइ ठाउँमा कत्ला आउने), गट्टेट सोराइसिस (शरीरभर स—साना धब्वा आउने), ससोरियाटिक बाथरोग (हड्डी खाने), हातगोडामा मात्र सँधै कत्ला आइरहने र अर्काे ज्यानलेवा इराइथ्रोेडर्मिक सोरायसिस (शरीरभरी कत्ला जाने) आदि सोराइसिसका प्रकारहरु हुन् । सामान्य अवस्थाको सोरायसिसमा मल्हम प्रयोग गरिन्छ । कडा हुँदै गएको सोरायसिसमा खाने औषधि हुन्छ । लगाउने मल्हम र खाने औषधिले पनि काम नगरेमा सुईसमेत दिनुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्