Logo
|
Friday 29th March 2024
Logo

epaper

मुलुकमा औषधिको अभाव हुन नदिने नेपाली उद्योगीहरुको अठोट

३ महिना सम्मको सामान्य बजारको लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चापदार्थ एवं प्याकिङ मेटेरियल मौज्दात



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि उत्पादक संघले नेपालमा उत्पादन हुने कुनै पनि औषधिको अभाव हुन नदिने बताएको छ । कोरोना भाइरसको संभावित खतरालाई ध्यानमा राखेर छिमेकी मुलुक भारतले पारासिटामोल लगायत २६ वटा उत्पादन र कच्चा पदार्थको निर्यातमा रोक लगाएलगत्तै संघले उक्त आधिकारिक धारणा बाहिर ल्याएको हो ।

‘हाल हामीसँग ३ महिना सम्मको सामान्य बजारको लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चापदार्थ एवं प्याकिङ मेटेरियल मौज्दात रहेको छ । चीनबाट पनि हाम्रा कच्चा पदार्थ आइरहेका छन् ।’— राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष जी नारायण बहादुर क्षेत्रीले भन्नुभयो—‘विश्वका अन्य मुलुकमा पनि कच्चा पदार्थ बन्ने र जुनसुकै मुलुबाट कच्चा पदार्थ खरीद गरेर भएपनि मुलुकमा औषधिको अभाव हुन दिने छैनौं ।

नेपाल सरकारले विपद्मा मात्र औषधिको महत्व बुझ्ने गुनासो गर्दै संघका महासचिव बिप्लव अधिकारीले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक भएको औंल्याउनुभयो । हालको स्थितिमा नै लगभ ७५ प्रतिशत औषधिमा विदेशी कम्पनिलाई अननय बिनय र आग्रह गर्नुपर्ने अवस्था छैन ।’ महासचिव अधिकारीले भन्नुभयो—‘ हामी निजी औषधि उद्योगहरुसँग सरकारले सहकार्य र सहयोग गरे मात्र पुग्छ ।’

संघका निवर्तमान अध्यक्ष दीपक दाहालले सरकारले नीतिगत रुपमा मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउने भनेर लेख्ने तर नेपालमा नै बन्न सक्ने औषधिका लागि विदेशी कम्पनिलाई अनुनय विनय गर्ने कार्यले थप तितो अनुभव भएको बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल निर्यात हुने औषधि र यसका कच्चा पदार्थ नरोक्न भारतको वाणिज्य मन्त्रालयलाई आग्रह गर्नुभएको थियो । भारतको वाणिज्य मन्त्रालयले २६ प्रकारका औषधि र यसका कच्चा पदार्थको निर्यात रोक्ने घोषणा गरेको भोलिपल्ट फागुन २२ गते मन्त्री भट्टले टेलीफोनमार्फत यस्तो आग्रह गर्नुभएको थियो ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार, चीनबाट कच्चा पदार्थ नआएकाले मागको आधारमा औषधिको आपूर्ति गर्न सकेको अवस्था छैन । आयात गरिरहेको औषधिको कच्चा पदार्थको मूल्य अधिकतम बढेकाले उत्पादित औषधिको मूल्य बढाउने सबालमा पुन मूल्याकंन अर्थात पुनराबलोकन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । यसको समिक्षा गर्न सरोकारवालाहरुसँग हालै बैठक बसेको थियो । तीन महिनाजति खासै समस्या पर्दैन । अहिले जसरी आएको कुराजस्तो छैन । धेरैजसो औषधिहरु नेपालमा नै बनिरहेका छन् । त्यसमध्ये अलि गारो भनेको पारा सिटामोलको इन्जेक्सनहरु अभाव हुनसक्छ । कोरोना भाइरसको समस्या केही समय लम्बिदिएको अवस्थामा कच्चा पदार्थ आयातमा समस्या हुनसक्छ । हुन त भारतको तुलनामा नेपालको औषधि खपत धेरै नै न्यून छ । नेपाललाई औषधि बन्द गर्नु र नगर्नुमा भारतलाई खासै प्रभाव पर्दैन । त्यति गरिदिएमा हामीलाई सहजै हुन्छ । यस्तो अवस्थामा क्रित्रिम अभाव हुन नदिने, कसैले पनि औषधिको मुल्य नबढाउने औषधि व्यवस्था विभाग, नेपालका औषधि उद्योग कम्पनिहरु, आयातकर्ता, भारतबाट केमिकल र सर्जिकल स्वास्थ्य सामाग्री ल्याउनेहरुबीच सहमति भएको प्रवक्ता केसीले जनस्वास्थ्य सरोकारलाई जानकारी दिनुभयो ।

हाल नेपालमा ६२ वटा एलोपेथिक औषधि उद्योहरु सञ्चालनमा छन् । ४२ वटा अन्य नयाँ उद्योगहरु निर्माणाधिन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्