Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्याथोलोजी सेवाको विस्तार खै ?




काठमाडौंको नेशनल रिफरेन्स ल्याबोरेटोरीमा कार्यरत डा. सुजन शर्माले सन् २०१२ देखि नेपालमा काम गर्नु शुरु भएको हो । उहाँले भारतको कर्नाटकस्थित कस्तुरबा मेडिकल कलेजबाट एमडी गर्नुभएको छ । सुरुमा काठमाडौं विश्वविद्यालयबाट सेवा सुरु गर्नुभएका डा. शर्माले झापाको विएण्डसी अस्पतालमा केही समय काम गर्नुभयो । राजधानी बाहिर र भित्र बसेर प्याथोलोजिष्टको भूमिका निर्वाह गर्नुभएका डा. शर्माको अनुभव ।
घटना नं.१
‘आफू जन्मेको गाउँ ठाउँमा काम गर्नुपर्छ’ भनेर एक पटक म जनकपुर गएँ । चार पाँच दिन काम पनि गरेंँ । तर काम गर्ने वातावरण नभएपछि म काठमाडौं फर्कें । राजधानीबाहिर आधारतभूत उपकरण, सेवा सुविधा नहुँदा निकै समस्या छ । जनकपुरका म जस्ता धेरै प्याथोलोजिष्ट साथीहरु राजधानीका ठूला अस्पताल र ल्याबहरुमा काम गर्छन् । तर जनकपुर अञ्चल अस्पतालमा जम्मा एक जना मात्र प्याथोलोजिष्ट छ । यद्यपी राजधानीबाहिर प्याथोलोजिष्टहरुलाई काम गर्ने वातावरण नबन्दा निरास हुनुपर्ने अवस्था छ ।
घटना नं.२
केही दिनअघि २५ वर्षकी एक युवतीको परीक्षणका क्रममा स्तन क्यान्सर भेटेँ । यो उमेरमा उनलाई क्यान्सर देखिएकाले मलाई पनि नरमाइलो लाग्यो । तर मैले उनलाई सजिलै भन्न सकिनँ । समस्या कन्फर्म गर्न नमुनाको रिपोर्ट मलाई पढाउने सरलाई पठाएँ । उहाँबाट पनि क्यान्सर भएको निश्चित भयो । अनि मात्र क्यान्सर भएको जानकारी दिएँ । यसरी कुनै रिपोर्टमा शंका लागेमा समूहमा छलफल गरेर सत्य तथ्य पत्ता लगाउने कोशिस गर्नुपर्छ । हचुवाको भरमा रिपोर्ट दिन हुँदैन । फिजिसियनसँग भेट नभएपनि फोनमा कुरा गरिरहनुपर्छ ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । अतः बिरामी भएपछि उपचारका लागि जाने चिकित्सक समक्ष नै हो । चिकित्सकले लेखिदिएको जाँच गरेपछि मात्र समस्याको पहिचान हुन्छ र ‘कुन उपचार शुरु गर्ने ?’ ‘कस्तो औषधि सिफारिस गर्दा बिरामी निको हुन्छ’ भन्ने निक्र्योल गरिन्छ । प्याथोलोजिष्टहरु पर्दा पछाडिका हिरो हुन् जसले रोगको सही पहिचान गरेर सही उपचारमा मद्धत पुर्याइरहेका हुन्छन् ।
प्रयोगशाला र जनशक्तिको विस्तार
पछिल्लो समयसामान्य रोग परीक्षणका लागि नमुना भारत पठाउनुपर्ने बाद्यता छैन । मुलुकभित्र नै विशेष प्रकारका परीक्षणहरु भइरहेका छन् । तर धेरै प्याथोलिजिष्टहरु राजधानी केन्द्रित छन् । राजधानीबाहिर धेरै ठाउँमा प्यालोलोजी सेवा विस्तार हुन सकेको छैन । अझै पनि करिब ८० प्रतिशत प्याथोलोजीको काम काठमाडौंबाट हुने गरेको छ । झापाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा बसेर काम गर्दा इटहरीदेखि ताप्लेजुङसम्म जम्मा चारजना प्याथोलोजिष्टले काम गरेको पाएँ । राजधानी बाहिर पर्याप्त जनशक्ति छैनन् र अत्याधुनिक प्रयोगशालाहरु सञ्चालनमा आउन सकेका छैनन् । अत्याधुनिक प्रयोगशालाहरुको विस्तार र भरपर्दो जनशक्ति नहुँदा नमुना परीक्षण गर्न एजेण्टहरुले भारतको सिलगुडी लैजाने गर्छन् ।
खै सुविधा ?
पहिलो काम त सरकारले आफ्ना मातहतका अस्पतालहरुमा लोकसेवामार्फत पदपूर्ति गर्नुपर्छ । यसबाट नेपाली मुद्रा विदेशिने सम्भावना न्युनिकरण हुनुका साथै मुलुकमा रोजगारीको अवसर बढ्दै जान्छ । यसका साथै मुलुकमा प्याथोलोजी सेवालाई विकेन्द्रीकरण गर्दै जानुपर्छ । विश्वस्तरीय उपकरण जडित सुविधायुक्त ल्याबहरु सञ्चालनमा ल्याउने वातावरण सृजना गर्नुपर्छ । सरकारले ग्रामीण क्षेत्रमा पनि प्रयोगशाला विस्तार गर्ने वातावरण सृजना गर्नुपर्छ । यसका लागि विभिन्न सुविधा र सहुलियत उपलब्ध गराउनुपर्छ । यद्यपी नेपालमा करिब दुई दर्जन जति प्याथोलोजिष्टहरु उत्पादन भइरहेको वर्तमान अवस्थामा स्वदेशबाट नै राम्रो प्याथालोजी सेवा उपलब्ध गराउन सकिन्छ । गुणस्तरीय सेवा उपलब्ध गराउन प्याथोलोजिष्ट, निजी क्षेत्रका ल्याब सञ्चालक सबैको भूमिका महत्वपूर्ण हुनुपर्छ ।
सबै समस्या बताउने कि
कतिपयले आफ्नो विगतदेखिका जीवनशैलीलगायतका समस्या बताउने गर्दैनन् । यस प्रकारको प्रवृत्ति गलत हो । यदि सबै कुरा नबताउँदा रिपोर्ट गलत पनि आउन सक्छ । त्यसैले विरामीले चिकित्सकलाई आफ्ना विगतका सबै समस्या बताउनुपर्छ । हरेक चिकित्सकलाई आफ्नो विरामी राम्रो भएर जाओस् भन्ने चाहना हुन्छ । ‘विरामीको खुसी नै आफ्नो खुसी हो’ भन्ने मान्यता हामीहरुको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्